लागूऔषध मुद्दामा फरार रहेका व्यक्ति खैरो हेरोइनसहित पक्राउ

लागूऔषध मुद्दामा फरार रहेका व्यक्ति खैरो हेरोइनसहित पक्राउ
सुन्नुहोस्

विराटनगर : लागूऔषध मुद्दामा फरार रहेका एक जना व्यक्ति लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित मोरङको सुन्दरहरैँचाबाट सोमबार पक्राउ परेका छन्। 

सुन्दरहरैँचा नगरपालिका–४ बाट ४४ वर्षीय अमृतबहादुर भुजेललाई प्रहरी चौकी गछिया र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पिट)को संयुक्त टोलीले बिहान ११ बजेतिर पक्राउ गरेको हो।  भुजेलको घर तेह्रथुमको लालीगुराँस नगरपालिका–९ र सुनसरीको धरान उपमहानगरपालिका–१५ मा छ। तेह्रथुम र धरान घर भएपनि लागूऔषध मुद्दामा फरार रहेका उनी सुन्दरहरैँचा–४ स्थित योगकुमारी श्रेष्ठको घरमा कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ। 

डेरा बसेकै घरबाट भुजेललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। कोठामा खैरो हेरोइन लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा भुजेलको कोठामा प्रहरीले छापा हानेको थियो। प्रहरीले खानतलासी गर्दा कोठाबाट ३२ ग्राम ७ सय ४० मिलिग्राम खैरो हेरोइन बरामद भएको डीएसपी बस्नेतले बताए। 

उनका अनुसार भुजेलको साथबाट ६० हजार रुपैयाँ नगद र २ वटा मोबाइल पनि बरामद भएको छ। उनले प्रयोग गर्ने प्रदेश १–०२–०५१ प ५३६६ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिइएको जानकारी बस्नेतले दिए। लागूऔषध मुद्दाको अनुसन्धानका लागि प्रहरीले भुजेलविरुद्ध जिल्ला अदालत सुनसरीबाट २०८० साल माघ २६ गते पक्राउ अनुमति लिएको थियो। 

प्रहरीले पक्राउको तयारी गरेको थाहा पाएर उनी फरार भएका थिए। थातथलो नै छाडेर भागेका उनी अर्को ठाउँमा डेरा खोजेर लुकिपिछी बस्दै आएको खुलेको छ। डेरा बसेको ठाउँबाट पनि लागूऔषधकै धन्दा चलाइरहेको यकिन भएको छ। 

प्रहरीका अनुसार भुजेल लागूऔषधका नामुद कारोबारी हुन्। भारतबाट खैरो हेरोइन ल्याएर विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने धन्दामा उनको संलग्नता रहेको प्रहरी अधिकारी बताउँछन्। भुजेलविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.