५० जनालाई उपाध्यक्ष शैक्षिक छात्रवृत्ति प्रदान
नुवाकोट : प्राविधिक अध्ययन गरिरहेकाहरूलाई अध्ययनमा सहज बनाउनका लागि नुवाकोटको तारकेश्वरमा शैक्षिक छात्रवृत्ति प्रदान गरिएको छ।
तारकेश्वर गाउँपालिकामा सञ्चालित उपाध्यक्ष शैक्षिक छात्रवृत्ति कार्यक्रम अन्तर्गत विभिन्न विषयमा प्राविधिक अध्ययन गरिरहेकाहरूलाई छनौट गरी ५० जनालाई उपाध्यक्ष शैक्षिक छात्रवृत्ति प्रदान गरिएको हो।
प्राविधिक विषय अध्ययन गरिरहेकाहरूलाई जनही ११ हजार आठ सय रुपैयाँका दरले उपाध्यक्ष शैक्षिक छात्रवृत्ति उपाध्यक्ष हरिप्रसाद रिमालले वितरण गरे।
उपाध्यक्ष शैक्षिक छात्रवृत्ति हस्तान्तरण गर्दै उपाध्यक्ष रिमालले प्राविधिक विषय स्वरोजगारको माध्यम भएका र यसबाट जीवनस्तरमा सुधार आउने दाबी गरे। उनले प्राविधिक विषय अध्ययन सकेर यसलाई कार्यान्वयनमा ल्याउन आग्रह गरे।
पालिकाले हालसम्म एक सय ९० जनालाई उपाध्यक्ष शैक्षिक छात्रवृत्ति प्रदान गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !