तानसेन-बुटवल सडक खण्डमा सडक भासियो, राति सवारी सञ्चालनमा रोक
तानसेन : सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडक खण्डअन्तर्गत हिउँदे खोला क्षेत्रमा सडक भासिएपछि रातिको समयमा यातायातका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
सडक भासिएको क्षेत्र हिउँदे खोलामा जुनसुकै बेला पनि सञ्चालनमा रहेको सडक भासिने अवस्था रहेकाले मानवीय तथा भौतिक क्षति रोक्नका लागि रातिको समयमा यातायातका सवारी साधन सञ्चालनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए।
श्रावण ९ गते बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को व्यवस्था नभएसम्म ११ घण्टा सवारी साधन आवतजावतमा रोक लगाएको प्रजिअ काफ्लेले बताए। अत्यावश्यक एम्बुलेन्स जस्ता सवारी साधन सञ्चालन गर्नुपर्ने बाध्यता भएमा प्रहरीसँग समन्वय गरेर मात्र सञ्चालन गर्न पाल्पा प्रशासनले अनुरोध गरेको छ।
उक्त क्षेत्रको सडक अवस्था निरीक्षणका लागी काठमाडौंबाट प्राविधिक झिकाएको र २४ घण्टा यातायात सञ्चालनका लागि जाली ग्याबिनको काम सुरु भएको प्रजिअ काफ्लेले बताए।
भासिएको सडक क्षेत्रमा हाल एकतर्फी रुपमा सडक सञ्चालनमा रहेको छ। सोमबारदेखि सडक भासिन सुरु गरेको हिउँदे खोला क्षेत्रमा मंगलबार पुन सडक भासिँदा डिभिजन सडक कार्यालय पाल्पाले केही मर्मत गरेर एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याएको छ।
सञ्चालनमा रहेको एकतर्फी सडक जुनसुकै समयमा पनि भासिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावस्यक सवारी साधन बाहेक यात्रा नगर्न सर्वसाधारणमा अपिल गरेको छ।
‘हिउँदे खोलाको उक्त क्षेत्र निकै जोखिममा रहेको छ, माथि डाइभर्सन गर्न सकिने अवस्था छैन, सडक भासिएको क्षेत्रमा पानीको मुल लाई प्लास्टिक लगाएर सिपेज हटाउने काम गरेका छौं, रातिमा काम गर्न सकिने अवस्था छैन, बुधबारदेखि जाली ग्याबिन गरेर सडक मर्मत काम गरिने छ ’, डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले भने।
भासिएको हिउँदे खोला क्षेत्रमा डोजर स्काभेटर तयारी अवस्थामा राखिएको कार्यालयले जनाएको छ। २ वर्षअघि पनि उक्त क्षेत्रमा सडक भासिएर ३ दिनसम्म यातायात बन्द भएको थियो। तानसेन बुटवल सडकको वैकल्पिक व्यवस्थाका लागि साना सवारी साधनहरूलाई डुम्रे मस्याम झुम्सा सडक सञ्चालनका लागि तिनाउ गाउँपालिकालाई आवश्यक समन्वय तथा सहयोग गर्न प्रशासनले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस !