पहिरो प्रभावितलाई राहत
नुवाकोट : अविरल वर्षाका कारण नुवाकोटका ग्रामीण वस्तीहरू जोखिमपुर्ण बन्दै गएका छन्। पहिराले प्रभावित स्थानमा राहत वितरण गर्न थालिएको छ।
नुवाकोटको शिवपुरी, पञ्चकन्या, सूर्यगढी गाउँपालिकाको विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ। शिवपुरी गाउँपालिका ५ स्थित गारे, घ्याङ, सिलामे तथा जेव्रङमा अविरल वर्षाको कारण पहिरोले गाउँ नै जोखिममा परेको छ। सो स्थानका पहिरो प्रभावित १५ घर परिवारलाई राहतस्वरूप टनेल, पाल र केही रकम हस्तान्तरण गरिएको युवा सामाजिक अगुवा जनकराज पाठकले जानकारी दिए।
जोखिममा रहेका गाउँको नै संरक्षणमा ध्यान दिई पहिरो पीडित स्थानीयवासीलाई सुरक्षित वसोवास गराउन जिल्ला प्रशासन कार्यालय नुवाकोट र शिवपुरी गाउँपालिकाको ध्यानाकर्षण गराइएको पाठकले बताए।
अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा नौ घरपरिवार विस्थापित भएका छन्। सूर्यगढी गाउँपालिका–४ अर्चलेमा बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्की घर र किराना पसल बगाएको हो।
पहिराले किराना पसल बगाउँदा त्यहाँ रहेका १० लाख बराबरको सामग्री पहिरोमा पुरिएका छन् भने घरमा पूर्ण रूपमा क्षति भएको सूर्यगढी ४ का अध्यक्ष रामशरण राईले जानकारी दिए। अर्चलेस्थित बस्ती माथिबाट बगिरहेको पहिरोले सोही स्थानका अन्य एक दर्जन परिवार विस्थापित भएका छन्।
पहिरोले घरमा क्षति पुर्याउन थालेसँगै स्थानीयवासी छिमेकी गाउँमा आश्रय लिन बाध्य भएको पहिरो पीडितहरूले गुनासो गरे। पहिराले राजकुमार तामाङ, रामकुमार तामाङ, सुवास तामाङ, शुकबहादुर रुम्बा, शुकबहादुर तामाङ, भैरवबहादुर तामाङ, प्रेमबहादुर तामाङ, सरोज तामाङ, रामकृष्ण तामाङको परिवार प्रभावित भएका हुन्।
सो स्थानमा १५ वर्षअघि पनि पहिरो जाँदा पाँच परिवार विस्थापित भएका थिए। अन्यत्र जमिन नभएकाले सोही स्थानमा बसोबास गर्दै आएकामा फेरि पहिराको जाखिम बढेपछि घर छोड्नुपरेको पीडितहरूको गुनासो छ। यसैबीच नुवाकोटकै पञ्चकन्यामा पहिरोको समस्या बढ्दै गएको छ। पहिराका कारण बस्तीनै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको गापाले जनाएको छ।
अविरल वर्षाका कारण गएको पहिरोले नुवाकोटको पञ्चकन्या गाउँपालिका-५ भद्रुटारको पाँडे टोल, बद्य टोल, घट्टेखोला टोललगायतका स्थानका २१ घरधुरी उच्च जोखिममा परेका छन्। पहिरो निरीक्षणका लागि पुगेको जनप्रतिनिधिसहितको टोलीले सो निष्कर्ष निकालेको हो।
तत्कालका लागि २१ घरपरिवारलाई सुरक्षित स्थानमा बस्ती स्थानान्तरणका लागि पहल गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए।
नुवाकोटको लिखु गाउँपालिकामा रहेको एउटा पक्की पुलको एक छेउ लिखु खोलाले बगाएको हो। अविरल वर्षासँगै आएको बाढीले पुलको एक छेउ बगाउँदा पुलमा प्वाल परेको स्थानीयवासीले जानकारी दिए ।
पुलमा प्वाल परेपछि वैकल्पिक मार्ग प्रयोग गर्नका लागि सम्बन्धित निकायले अनुरोध गरेको छ। पुलमा प्वाल परेपछि सवारीसाधन आवतजावतमा समस्या भएको छ। लिखुकै केही भाग, तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिका जानका लागि मुख्यमार्गका रूपमा रहेको उक्त सडक बन्द भएपछि ढिकुरे निस्कने बाटो प्रयोग गर्नुपर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस !