बंगलादेशको संसद विघटन
काठमाडौं : बंगलादेशको संसद विघटन भएको छ। राष्ट्रपति मोहम्मद शहाबुद्दीनले मंगलबार आदेश जारी गर्दै संसद विघटन भएको जानकारी दिएका छन्।
बंगलादेशका तीनै सुरक्षा निकाय, विभिन्न राजनीतिक दल, नागरिक समाज र आन्दोलनरत विद्यार्थी नेताहरूसँग भएको संयुक्त बैठकपछि राष्ट्रपतिले संसद विघटन गरेका हुन्।
गत जनवरीमामात्रै बंगलादेशमा आम निर्वाचन सम्पन्न भएको थियो। उक्त चुनावपछि शेख हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेकी थिइन्। उक्त निर्वाचनलाई धेरैले विरोध गरेका थिए।
प्रधानमन्त्री शेख हसिना सोमबार पदबाट राजीनामा दिएकी थिइन्। उनी राजीनामा दिएर भारतको त्रिपुरा राज्यको अगरतालामा शरण लिएकी थिइन्। एजेन्सीहरूका लागि उनी बेलायत जाने तयारी गरेकी छन्। यता बंगलादेशको सेना प्रमुखले अन्तरिम सरकार बनाउने तयारी गरेका छन्। नोवेल शान्ति पुरस्कारसमेत पाएका मोहम्मद युनुसलाई प्रधानमन्त्री बनाउन त्यहाँका विद्यार्थी नेताहरूले प्रस्ताव गरेका छन्।