कस्तो रह्यो पेरिस ओलम्पिकमा नेपालको प्रदर्शन ?

कस्तो रह्यो पेरिस ओलम्पिकमा नेपालको प्रदर्शन ?
सुन्नुहोस्

काठमाडौं : सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा भेट्ने बाचासँगै फ्रान्सको राजधानी पेरिसमा आयोजित ३३औं ग्रीष्मकालीन ओलम्पिक खेलकुद सम्पन्न भएको छ।

१६ दिनसम्म चलेको प्रतियोगितामा नेपालबाट ६ खेलका सात खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पेरिस ओलम्पिकको अन्तिम दिन सन्तोषी श्रेष्ठले महिला म्याराथनमा प्रतिस्पर्धा गरेकी थिइन्। उनी ७९औं स्थानमा रहिन। महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए। यसमध्ये ११ जनाले दौड पूरा गर्न सकेनन्। पेरिसमा आइतबार भएको स्पर्धामा सन्तोषीले २ घण्टा ५५ मिनेट ६ सकेन्डको समय निकालेकी थिइन्।

अघिल्ला संस्करणमा सहभागी नेपाली खेलाडीले म्याराथनमा दौड नै पूरा गर्न सकेका थिएनन्। वाइल्ड कार्ड पाएर पेरिस यात्रा तय गरेकी उनले पहिलोपटक ओलम्पिकको अनुभव बटुलेकी हुन्।

पेरिस ओलम्पिकमा नेपाली खेलाडीमध्ये पौडीका एलेक्जेन्डर शाहले मात्र राष्ट्रिय कीर्तिमान बनाउन सफल भए। पुरुष एक सय मिटर फ्रिस्टाइलमा उनले ५१.९१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाए। उनी समग्रमा ७९ प्रतिस्पर्धीमा ५९औं स्थानमा रहे। शाह ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउने एक्ला नेपाली खेलाडी पनि बने।

छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेका टेबुल टेनिसका स्यान्टु श्रेष्ठले पनि सोचेजस्तो प्रदर्शन गर्न सकेनन्। अस्ट्रेलियामा विशेष प्रशिक्षण गरेका उनी पहिलो खेल सेनेगलका इब्राहिम डियावसँग ४–० को सोझो सेटमा पराजित भएका थिए। स्यान्टु ओलम्पिक खेल्ने पहिलो टेबुल टेनिस खेलाडी पनि हुन्।

जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान विपक्षी खेलाडीसँग एक मिनेट मात्रै म्याटमा टिक्न सकिन। महिला ५७ केजीमुनिको तौल समूहमा उनी सिर्बयाकी मरिका पेरिसिकसँग १०–० (इप्पोन) ले पराजित भएकी थिइन्। उनी कन्टिनेन्टल कोटामार्फत ओलम्पिक खेल्ने अवसर पाएकी हुन्। मनिताले स्यान्टु श्रेष्ठसँगै उद्घाटन समारोहको मार्चपास्टमा राष्ट्रिय झन्डा बोकेकी थिइन्।

यसैगरी सुटिङकी सुस्मिता नेपालले पनि खासै प्रभाव देखाउन सकिनन्। महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी उनले ६०७.८ अंक जोड्दै ४४ खेलाडीमध्ये ४२औं स्थानमा रहिन्। पाँच वर्षअघि जुनियर ब्याडमिन्टनतर्फ एक नम्बर स्थान बनाएका प्रिन्स दाहालको पहिलो ओलम्पिक यात्रा पनि सुखद् हुन सकेन्।

ब्याडमिन्टनको पुरुष सिंगल्समा प्रिन्स दाहाल समूह ‘पी’को पहिलो खेलम विश्व नम्बर वान डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८, २१–६ ले पराजित भएका थिए।

दोस्रो खेलमा विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्यान्डका हातगुयेनसँग २१–७, २१–५ तथा तेस्रो खेलमा ५८औं विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानले प्रिन्सलाई २१–१२, २१–१० को सोझो सेटमा पराजित गरेका थिए। नेपाल ब्याडमिन्टन संघले समयमै प्रशिक्षकको नाम नपठाउँदा प्रिन्सले प्रशिक्षकबिना नै ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए।

यस्तै पौडीबाज डुवाना लामाले महिला दुई सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गरेकी थिइन्। उनले निर्धारित दूरी पार गर्न २ मिनेट २०.७४ सेकेन्ड ​​​​​​​खर्चिन। सात खेलाडी रहेको हिट चरणमा डुवाना अन्तिम स्थानमा रहिन। समग्रमा भने ३१ खेलाडीमध्ये ३०औं स्थानमा रहिन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.