बनेन बाटो स्थानीयलाई सास्ती
दोलखा : जिल्लाको उत्तरी क्षेत्र जोड्ने मुख्य सडक केहि दिनदेखि अवरुद्ध हुँदा ३ वटा गाउँपालिका सडक सम्पर्कबाट विमुख भएका छन् । उत्तरका तीन वटा गाउँपालिका कालिञ्चोक,विगु र गौरीशंकर साउन १२ गतेको पहिरोले झर्मासी (गुमुखोला) सडक खण्ड बगाएपछि प्रभावित बनेका छन् ।
तीन गाउँपालिकाका ५० हजार नागरिकले सास्ती खेप्नुपरेको छ । झर्मासी (गुमुखोला) खण्डमा साउन १२ गतेको पहिरोले आधाभन्दा बढी सडक बगाएको छ । कालिञ्चोक गाउँपालिकाको वडा नम्बर–४ र ७ जोड्ने झर्मासी (गुमुखोला) खोला पुलसँगै झण्डै दुई सय मिटर सडक आधाभन्दा बढी बगाएको हो।
सडक मर्मतको लागि डिभिजन सडक कार्यालय चरिकोटले केही दिनअघि ठेक्कामार्फत काम सुरु गरेता पनि द्रुत गतिमा काम नुहुँदा अझै केही साता यातायात सञ्चालन नहुने पक्का जस्तै छ । यातायात अवरुद्ध हुँदा तीन गाउँपालिकाको २२ वडाका लगभग ५० हजार स्थानीय प्रभावित भएको र उत्तरी क्षेत्रका मुख्य व्यापारिक केन्द्र सिंगटी बजारको ढुवानी पूर्ण रुपमा ठप्प भएको दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष महेश श्रेष्ठले बताए ।
यातायात ठप्प भएपछि झर्मासी खोलाबाट खाद्यान्न लगायतका सामान बोकेर वारिपारि गर्नुपर्ने अवस्था हुँदा चर्को मूल्यको मार उपभोक्ताहरूले खेप्नुपरेको श्रेष्ठको भनाइ छ । आवश्यक खाद्यन्नको ढुवानी रोकिएको छ । यातायात व्यवसायीले यात्रुहरुलाई बीचैमा छाड्नुपर्ने बाध्यताका कारण यात्रुहरूले दोहोरो भाडा तिर्नु परेको छ । खाद्यन्नको ढुवानी महँगो भएको छ । जसोतसो महगो ढुवानी मै भए पनि खाद्यन्नको व्यवस्था त होला तर बिरामी पर्दा तत्काल उपचारका लागि समस्या भएको स्थानीयको गुनासो छ ।
सडक मर्मतको लागि डिभिजन कार्यालय चरिकोटले ठेक्कामार्फत काम सुरु गरेकोले दुई हप्ताजतिमा स्थायी समस्या समाधान गर्न नसके पनि अस्थायी रुपमा यातायात सञ्चालन गर्न सकिने डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर भरत श्रेष्ठले बताए । बुधबार १ सय घनमिटर जाली हाल्ने काम सम्पन्न भएको छ । उक्त क्षेत्रमा जोखिम धेरै भएकाले पूर्ण रुपमा स्थायी सडक मर्मत गर्न लामै समय लाग्ने उनको भनाइ छ ।