साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधिसँग सहकारी समितिको छलफल
काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेको छ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले साना किसान कृषि सहकारीले गरिरहेको कामकारबाहीदेखि भोग्नुपरेका समस्याका बारेमा प्रतिनिधिहरूसँग छलफल गरेको हो। बैठकमा २८ जनाले आ-आफ्नो संस्था सञ्चालनको अनुभव र स्थितिको जानकारी गराएका थिए।
सो क्रममा उनीहरूले साना किसान कृषि सहकारी संस्थामा रकम दुरुपयोगको समस्या नरहेको बताएका थिए। उनीहरूले कृषिजन्य बस्तुको बजारीकरण र भुक्तानीको समस्या भने देखिएको गुनासो गरेका थिए। समिति संयोजक सूर्य थापाले धेरै असफलताकाबीच साना किसान कृषि सहकारीको सफलताले अरुलाई प्रेरणा दिने बताए। उनले छानबिनका क्रममा भएका छलफलका क्रममा सहकारी क्षेत्रको दर्ता सूचना केन्द्र नरहेका कारण मुख्य समस्या दखिएको जिकिर गरे।
हालः देशभर १ हजार ३ सय ६९ वटा साना किसान कृषि सहकारी संस्था सञ्चालनमा छन्। सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न संसदले गत १५ गते छानबिन समिति गठन गरेको थियो। समितिको तीन महिनाको समयअवधि भदौ २३ गते सकिँदैछ। समितिले निर्धारित समयसीमाभित्रै प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरेको छ। यद्यपि, सो समयमा प्रतिवेदन लेखनको काम सम्पन्न नभए केही दिन समय माग गर्ने विषयमा पनि छलफल भइरहेको समिति सदस्यहरूले जानकारी दिएका छन्।