‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक विमोचन
काठमाडौं : 'विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक विमाचोन भएको छ । किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको संकलन गरिएको छ। कलिगं साहित्य महोत्सवमा नेपालका लागि बेलायती राजदूत रब फेन, संस्कृतिविद् डा. जगमान गुरुङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषदका सदस्य सञ्जिव सन्यालले पुस्तक विमोचन गरेका हुन् ।
भूपेन्द्रबहादुर क्षेत्रीको संकलन रहेको यो पुस्तक सागर चन्दले नेपाली भाषामा अनुवाद गरेका हुन्। विश्वमञ्चमा भारत नयाँ तवरले अघि बढिरहेको र त्यसको नेतृत्व मोदीले गरिरहेकाले विश्वमञ्चमा भारतको उपस्थितबारे जानकारी गराउने उद्देश्यले दशकयताका उनका २९ भाषण नेपालीमा अनुवाद गरिएको चन्दले बताए।
अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतले आफूलाई सशक्त रूपमा अघि सारिरहेको परिवेशमा त्यसको नेतृत्व गर्ने नरेन्द्र मोदीको विश्वप्रतिको दृष्टिकोण बुझ्न पुस्तकले नेपाली जनमानसलाई सघाउने विश्वास गरेको बताए सन्यालले । सन् १९९० को दशकको सुरुवातमा ग्लोबलाइजेसनको यात्रामा निस्केको भारत आज विश्वका विभिन्न मञ्चमा शत्तिशाली रूपमा देखा परेको छ।
जनवरी २०२४ मा प्रकाशित वर्ल्ड इकोनोमिक फोरमको एक रिर्पोटअनुसार सन् २०२३ मा भारतले विश्व विकासमा १६ प्रतिशत योगदान दिएको थियो। २०२२–२०२३ मा ७।२५ को आर्थिक वृद्धि गरेर भारत जी २० देशहरूमा लगातार दोस्रो स्थानमा रह्यो।
पूर्वाधार,इन्टरनेटको पहुँच र पश्चिमसँग भारतको सम्बन्धले गर्दा सन् २०२३ मा विश्व मञ्चमा ठूलो रूपमा भारत पुगेको छ। विश्वव्यापी रूपमा सूचना,कनेक्टिभिटी र समृद्धिमा भारतको बढ्दो पहुँचले भारतलाई विश्वमञ्चमा बलियो बनाएको छ।
सार्क बैठकसहित प्रधानमन्त्री नरेन्द्र मोदी चारपटक नेपाल भ्रमणमा आएका छन्। पहिलोपटक सन् २०१४ को अगस्ट । दोस्रो, २०१४ को सार्क बैठक। तेस्रो, २०१८ को मे महिनामा र चौथो २०२२ को मे महिनामा। नेपालको जनकपुर,लुम्बिनीदेखि मुक्तिनाथसम्म पुगेका मोदीले सन् २०१४ यता एक सयभन्दा बढी यात्रा गरेका छन्। ‘यी सबै यात्रा र सम्बोधनहरूमध्ये महत्त्वपूर्ण ठानिएका सम्बोधन संकलन गरेर नेपालीमा अनुवाद गरिएको हो,’क्षेत्रीले सुनाए।
नेपाल र भारतको प्राग ऐतिहासिक कालदेखि सम्बन्ध जोडिएको बताउँदै क्षेत्रीले भने,‘छिमेकी पहिलोको नीति लिएको भारत विश्वका विभिन्न मञ्चमा कसरी प्रस्तुत भइरहेको छ भनेर आमनेपालीलाई समेत थाहा होस् भन्ने उद्देश्यले नरेन्द्र मोदीका भाषण नेपालीमा अनुवाद गरिएको हो।’इन्डिगो इंकले बजारमा ल्याएको पुस्तकको मूल्य ५४९ रुपैयाँ छ।