नेप्सेमा ५८ अंकले घट्यो, सबै समूहको सूचक नकारात्मक
काठमाडौं : सेयर बजार ओरालो लाग्ने क्रम आज पनि रोकिएन। यसदिन नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा अडिएको छ। आइतबार ११ अंकले बढेको नेप्से सोमबार ५९.०२ अंकले घटेको थियो।
सेन्सेटिभ इण्डेक्स २.०९ प्रतिशतले घटेर ४४४.८८ विन्दुमा अडिएको छ।
उच्च अंकले घटेको सेयर बजारमा ३०९ स्क्रिप्सको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँमा खरिदबिक्री भए।
सोमबार ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा आइतबार अर्ब ९ करोड २९ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो।
यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। अपर स्यांगी हाइड्रोपावरको सेयर सर्वाधिक ७.८३ प्रतिशतले बढ्यो।
आज हिमालयन हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १८ करोड ४१ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
सानिमा रिलाइन्सको १७ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको १४ करोड,अपी पावरको १३ करोड र सानिमा माइ हाइड्रोपावरको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
आज सबै समूहको परिसूचक नकारात्मक देखिएका छन्। फाइनान्स समूहको सूचक सर्वाधिक ४.६० प्रतिशतले घट्यो।