नेप्से परिसूचक ४९ अंकले वृद्धि, पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट
काठमाडौं : लगातारको ओरालो यात्रापछि सेयर बजारमा उछाल आएको छ। कारोबार साताको दोस्रो र तेस्रो दिन लगातार घटेको नेप्से आज उच्च अंकले बढेको हो। साताको पहिलो कारोबार दिन आइतबार ११ अंकले बढेको नेप्से परिसूचक सोमबार ५९.०२ अंक र मंगलबार ५८ अंकले घटेर २४७०.३९ विन्दुमा पुगेको थियो।
यसदिन नेप्से परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स १.७८ प्रतिशतले बढेर ४५२.८० विन्दुमा अडिएको छ। नेप्से दोहोरो अंकले बढेसँगै पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
विन नेपाल लघुवित्त वित्तीय संस्था,न्याग्दी हाइड्रोपावर,युनिक नेपाल लघुवित्त वित्तीय संस्था, सगरमाथा जलविद्युत कम्पनी र थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। आज ३२७ स्क्रिप्सको १ लाख २४ लाख ९८ हजार ९८९ कित्ता सेयर ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ रुपैयाँमा खरिदबिक्री भए।
कारोबार रकमका आधारमा नगदी ग्रुप शीर्षस्थानमा रह्यो। सो कम्पनीको १५ अर्ब ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। अरुण भ्याली हाइड्रोपावर र सीईडीबी हाइड्रोपावरको १३/१३ अर्ब बराबरको सेयर कारोबार भयो।
यसैगरी हिमालयन रिइन्स्योरेन्स र अपी पावरले १२/१२ अर्ब बराबरको सेयर कारोबार गरे। कारोबारमा आएका २२३ स्टक्सको मूल्य बढ्दा १८ वटाको घट्यो भने तीनवटा स्टक्सको मूल्य स्थिर रह्यो। म्युचुल फण्डको परिसूचकबाहेक अन्य समूहको परिसूचक सकारात्मक देखिएका छन्।