सुपर्णखाले मलाई रोक्दै भने, ‘सबैबाट यस्तो विरोध भइरहेको छ, फिर्ता गरिदेऊन त त्यो दान । बेकारमा किन सबको विरोध सहन्छौ ?’ ‘त्यो विरोध अरू कारणले हो र ! आफूले नपाएकाले क्रोधको ज्वाला दन्काएको हो’, मैले थपें।
आज दिउँसो सुपर्णखा अचानक टप्किए, मेरो घरमा । मलाई खुसी नै लाग्यो । जे जस्तो भए पनि मनको बोझ बिसाउन पाइने यिनै एक त हुन् मेरा मित्र । मेरो कुभलो त चाहँदैनन् नि त । स्वागत गरें ।
बसिसकेपछि गुनासो पोखें, ‘हेरन, एकजना मित्र, मित्र के भनौं, मेरै जमातका मान्छे अर्थात् भर्खर आफ्नो जमातको बनाउन बाध्य भएर आफ्नो बनाएको मान्छेले मलाई मन फुकाएर, कर्ण र हरिश्चन्द्रजस्तो दानवीर भएर मलाई एक अर्ब जतिको सम्पत्ति दान के दिएका थिए आरिसे दाहाडे अर्काथरीलाई अपच भयो । तिनीहरूले नपाएर मैले पाएँ, तिनलाई औडाहा भयो अनि नानाथरी दोषारोपण गरेर मेरो जमातको हुर्मत लिन कस्सिएर अगाडि बढेको बढ्यै छन् । ती दानवीर र मेराविरुद्धमा प्रचारबाजी गरिरहेछन् । मलाई त ती दानवीरमाथि पहिलेदेखि भएको श्रद्धा झन्झन् उचालिँदो छ ।’
सुपर्णखाले मलाई रोक्दै भने, ‘सबैबाट यस्तो विरोध भइरहेको छ, फिर्ता गरिदेउन त त्यो दान । बेकारमा किन सबको विरोध सहन्छौ ? ’ ‘त्यो विरोध अरू कारणले हो र ! आफूले नपाएकाले क्रोधको ज्वाला दन्काएको हो’, मैले थपें । ‘जे भए पनि कारोबारी मान्छेसँग दान लिनु तिम्रो जस्तो हामी जनताको हौं भन्ने जमातले सुहाउने कुरा हैन । फेरि कारोबारी मान्छेको काम जसरी पनि मुनाफा आर्जन गर्ने हो । उनीहरूको त्यो घोषित उद्देश्य नै हो । त्यसैले त्यसलाई अन्यथा लिनु हुँदैन ।’
बोल्नुभन्दा सुन्नु निको लाग्यो उनका एकोहोरो कुरा बुझ्दा । उनी भन्दैथिए, अनि मुनाफा आर्जन गर्नेले बिनास्वार्थ कसैलाई सित्तैमा केही दिँदैन । यो सत्य हो र यसलाई पनि अन्यथा लिनु हुँदैन । अब त्यस्तो उद्देश्य भएको मान्छेले दान दिएको छ भने त्यसको पछाडि कुनै स्वार्थ अवश्य हुन्छ । उसको त्यो स्वार्थ पूरा गर्न तिम्रो जमात नै सधैं लागिरहनु पर्छ त ? अनि तिम्रो जमातले उसको भलो गर्छ कि जनताको ? कि आफ्नो जमातलाई जनताको जमात भन्न छाड कि त्यो दान फिर्ता गर । यसैमा तिम्रो र तिम्रो जमातको कल्याण हुन्छ । म त त्यही देख्छु । उल्टै उनले त अर्ती पो दिए बा !
मैले अलि चर्को स्वरमा भनें, ‘हाम्रो देशमा यत्तिका जमात छन् । कुन जमात दान नलिएरै चलेको छ ? एउटा मात्र उदाहरण देऊ त । मैले पाएकोमा त्यसै विरोध गर्छन् ।’ उनले मुस्कुराउँदै आफ्ना कुरा राखे, ‘हेर, कोही जतिसुकै ठूलो चोर होस्, प्रमाण नभेटिउञ्जेल ऊ सज्जन नै ठहरिन्छ । कोही सानो चोर भए पनि प्रमाण भेटियो भने सबैले उसलाई चोर भन्छन् र ऊ सजायको भागीदार हुन्छ । अहिले तिम्रो प्रमाण भेटिएको छ । अरू जनताको जमात हौं भन्नेहरूको प्रमाण भेटिएको छैन । अनि प्रमाण भएपछि जनताले भन्दैनन् त ? ’
मैले आफ्नो बचाऊ गर्न परिगो । भनें, ‘मेरो विरोध गर्नेहरू कुनै जनता हैनन् । ती त मेरो विरोध गर्ने कुनै ठाउँ नपाएपछि मेरा विरोधी जमातले उठाएको मान्छे हुन् ।’ उनले अलि कडकएर बोले, ‘त्यो चाहिँ नभन । सत्य कुरा गर्नेहरू त तिमीलाई माया गर्नेहरू हुन् । तिम्रा गल्ती सच्याएर ठीक ठाउँमा ल्याउन खोज्ने हुन् । तिम्रा मित्र हुन् । जुन कुरामा पनि विरोधीहरूको काम हो भन्नु साउनमा आँखा फुटेको
गोरुले सधैं हरियो देख्छ भने जस्तै हो ।’
उनको कुरा सुनेर मलाई झोक नचलेको हैन । तर त्यही बेलामा आमाले चिया ल्याउनु भयो । सुपर्णखासँग एकछिन भलाकुसारी गर्नुभयो । चिया खाँदाखाँदै मेरो झोक हराइसकेछ । मैले भनें, ‘हैन, तिमी त्यसो भन्छौ, मैले भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न, सुशासन कायम गर्छु, देशको विकास गर्छु भन्दासमेत विरोध गर्नेलाई पनि मित्र भन्न मिल्छ ? ’
उनले सजिलै भनिदिए, ‘हेर, कति वर्षदेखि तिमी अधिकार लिएर बसेका छौ ? कति वर्षदेखि यी कुरा दोहोर्याइरहेका छौ ? अहिलेसम्म माखो मरेको हैन । जनताले हेरिरहेका छन्, तिम्रो हालत सुरुमा कस्तो थियो ? अहिले कस्तो छ भनेर । तिम्रो रहनसहनमा कति ठूलो परिवर्तन आएको छ । तिमीले नियमअनुसार पाउने पारि श्रमिक र सुविधाले अहिलेको तिम्रो अवस्थामा पुग्न सकिन्छ ? अनि भ्रष्टाचार हटाउने, सुशासन ल्याउने, देश विकास गर्ने तिम्रा कुरा सुन्दैमा जनताले विश्वास गर्छन् ? सादा जीवन बाँच, अत्यावश्यक कुरा मात्र उपभोग गर । त्यो देखेपछि जनताले विश्वास गर्लान् तिम्रा कुरा ? ’
मैले मुस्कुराउँदै जवाफ दिएँ, ‘अब हेर्दै जाउ न ।’ ‘हजार मुसा खाएर तिमी कता लाग्छौ, म भन्न सक्दिनँ ।’ प्वाक्क बोलेर उनी जुरुक्क उठेर गए । मसँग डराएर भागे । म किन मक्ख नपरुँ उनी डराएकोमा !