छहरे–टोखा सुरुङमार्ग बन्ने भएपछि नुवाकोटबासीमा बढ्यो उत्साह

नेपाल–चीन दूरी छोट्टिँदै

छहरे–टोखा सुरुङमार्ग बन्ने भएपछि नुवाकोटबासीमा बढ्यो उत्साह
सुन्नुहोस्

नुवाकोट : प्रधानमन्त्री केपी शर्मा ओलीको चार दिने चीन भ्रमणका क्रममा नेपाल र चीनबीच छहरे–टोखा सुरुङमार्ग निर्माण गर्ने सहमति भएसँगै उत्साह छाएको छ। बीआरआई फ्रेमवर्कमा नेपाल र चीनको दूरी छोट्याउने उक्त सुरुङमार्ग निर्माणको सम्झौतासँगै नुवाकोट र रसुवाबासी निकै खुसी भएका हुन् । 

नेपाल र चीनबीच भएको विभिन्न ९ परियोजनामा हस्ताक्षर हुँदा छहरे–टोखा सुरुङमार्ग पनि चयन भएको छ । नुवाकोटको छहरेदेखि काठमाडौंको टोखासम्म निर्माण हुने आधुनिक सुरुङमार्गले छिमेकी दुई देशबीचको दूरी छोट्टिनुका साथै, यातायातको चाप घट्ने र आन्तरिक एवं वाह्य पर्यटक बढ्ने भएको हो। नुवाकोटको शिवपुरी गाउँपालिकादेखि टोखासम्म सुरुङमार्ग बनेपछि पृथ्वी राजमार्गको यातायातको चापसमेत निकै कम हुने यातायात व्यवसायीहरू बताउँछन् । 

 परियोजनाले नेपालकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ

आयात निर्यात, पर्यटन तथा दूरी छोट्टाउने उद्देश्यका साथ प्रस्तावित छहरे–टोखा सुरुङमार्गका लागि गत वर्ष नेपाल सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । नेपालको प्रस्तावमा चिनियाँ पक्षले नुवाकोटको छहरेदेखि काठमाडौंको टोखासम्म सुरुङमार्ग निर्माण गर्ने सम्झौताले आम सर्वसाधारण निकै हर्षित र उत्साहित भएको बागमती प्रदेशका पुर्वमन्त्रि तथा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले बताए । 

उनले यसले नेपालकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भएको हुँदा निर्माणका लागि सबै पक्षले सहयोग पुर्‍याउने बताए । छहरे–टोखा सुरुङ मार्गको निर्माणसँगै साँघुरिँदै गएको काठमाडौ उपत्यकाको शहरी संरचनाको विस्तारमा समेत सहयोग पुग्ने मैनालीको भनाई छ।

यसअघि २०७६ साल  असोजमा चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका बेला छहरे–टोखा सुरुङमार्गनिर्माणको प्रस्ताव राखिएको थियो । त्यस बेला पनि चिनियाँ राष्ट्रपति सीले सुरुङ मार्ग निर्माणमा सहयोग गर्ने सकारात्मक प्रतिक्रिया दिएका थिए । सोही अनुसार २०७६ साल पुसमा चिनियाँ टोलीले सुरुङ मार्गको अध्ययनका लागि नेपाल आएको थियो । काठमाडौंलाई नुवाकोट र रसुवा हुँदै उत्तरी नाका रसुवागढी जोड्ने छोटो दूरीको रूपमा छहरे–टोखा सुरुङमार्गलाई लिइएको छ । यसको कुल लम्बाई चार किलोमिटर हुने प्रारम्भिक अनुमान छ । त्यसको झण्डै पाँच वर्षपछि फेरि अर्को समझदारीमा हस्ताक्षर भएको हो ।

यसबाट नेपाललाई निकै फाइदा हुनुका साथै विशेष गरि नुवाकोट, रसुवा र धादिङका जनताले अझ धेरै लाभ लिन सक्ने बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतको भनाई छ । छहरे–टोखा सुरुङ मार्गलाई चर्चामै मात्र नराखि छिट्टो भन्दा छिट्टो निर्माण सुरु गर्नु पर्ने कांग्रेस नुवाकोटका सभापतिसमेत रहेका महतको भनाई छ । 

बीआरआई फ्रेमवर्क अन्तर्गतको सम्झौताले नेपाल विश्व समुदायसँग सुरुङमार्ग, सडक, हवाई तथा विद्युत कनेक्टिभिटिका माध्यमबाट जोडिने विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ । उनले छहरे–टोखा सुरुङमार्गले नुवाकोटमा समृद्धिको ढोका खुल्नेसमेत बताए।

छहरे–टोखा सुरुडमार्ग निर्माणको सहमति भएसँगै काठमाडौंदेखि टोखा–छहरे हुँदै सुरुङमार्गबाट केरुड पुग्न निकै सहज हुने र व्यापार व्यवसायसमेत बढ्ने नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ । छहरे–टोखा सुरुङमार्गले नेपाल, भारत र चीनबीच त्रिदेशिय व्यापारिक हवको कामसमेत गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.