दाउन्ने सडक दुईतर्फी खुल्न अझै केही समय लाग्ने

दाउन्ने सडक दुईतर्फी खुल्न अझै केही समय लाग्ने
सुन्नुहोस्

परासी : मंगलबार रातिदेखि अवरोध भएको बुटवल–नारायणगढ सडकको दाउन्ने क्षेत्र दुईतर्फी खुल्नेमा अनिश्चित देखिएको छ। शीतलहरका कारण उक्त सडक खण्ड चिप्लो भएपछि तीन दिनदेखि एकतर्फी सञ्चालन गरिँदै आइएको छ। उक्त सडक खण्ड विस्तारको क्रममा छ। विस्तारका क्रममा राखिएको माटो शीतलहरका कारण हिलोसँगै चिप्लो भएपछि सवारी आगमनमा कठिनाइ भएको हो। 

दाउन्नेको खुर्सानी खोलामा लेदोसहितको हिलोले सवारी आगमनमा अवरोध पुर्‍याएको हो। त्यसबाहेक पनि राजमार्गका ठाउँ ठाउँमा सडक चिप्लो छ। सवारी साधनको जाम भएपछि उकालो र ओरालोमा रोकिएका सवारी साधन एक आपसमा ठोकिएका छन्। 

मंगलबार रातिदेखि सडक अवरुद्ध भएपछि जाममा परेका सवारी साधनलाई एकतर्फी रूपमा सञ्चालन गरिँदै आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए। हिलो र चिप्लो सडकमा फेरि ग्राभेल राख्दा झन् लेदो हुने र सवारी साधन फस्न सक्ने भएकाले शीतलहर कम नभएसम्म पूर्ण रूपमा सवारी साधन सञ्चालनमा कठिनाइ हुने डीएसपी बोहराले बताए। ‘घाम लागेर हिलो नसुकेसम्म दोहोरो सवारी सञ्चालनमा कठिनाइ भएकाले सडक पूर्णरुपमा सञ्चालनबारे अनिश्चित जस्तै छ’, डीएसपी बोहोराले भने। 

सवारी साधनमध्ये यात्रुबहाक बस र साना गाडीलाई प्राथमिकतामा राखेर आवतजावतको व्यवस्था गरिएको छ। पालैपालो सवारी साधन आवतजावतको व्यवस्था मिलाइएकाले यात्रुहरु घण्टौंसम्म सडकमा रोकिन परेको छ। दुई दिनसम्म सडकमा रहेका मालबहाक सवारी साधनलाई बुधबार राति पठाइएपनि बिहीबार बिहानदेखि फेरि मालबाहक सवारी साधनहरु दुम्किवास र बर्दघाटमा रोकेर राखिएको छ। 

सडकमा सवारी साधनको जाम बढेपछि पश्चिम भएर पूर्व जाने सवारी साधनलाई बर्दघाटको टिसिएन चोकबाट हुलाकी सडक हुँदै भैरहवा भएर पठाइएको छ। आवतजावतमा कठिनाइ भएपछि केही यात्रुहरू हिँडेर अवरुद्ध सडक पार गर्दै आएका छन्।

पाँच दिनदेखि जिल्लामा बाक्लो हुस्सुसँगै शीतलहर बढेको छ। शीतलहरका कारण सडकमा पैदलयात्रुहरु समेत कम हिँडेका छन्। सरकारी कार्यालयहरूमा सेवाग्राहीको उपस्थितिसमेत न्यून छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.