पटेर्वा सुगौलीमा तीनदिने माघी तथा भाथा महोत्सव : हात्ती र जिप सफारी मुख्य आकर्षण
वीरगन्ज :पर्साको पटेर्वा सुगौली गाउँपालिकामा जिप र हात्ती सफारीसहित माघी(खिचडी) तथा भाथा महोत्सव मंगलबारदेखि सुरू भएको छ । माघी (खिचडी) पर्वको उपलक्ष्यमा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर- ४ सिथत खेल मैदानमा मंगलबारदेखि सुरू माघी तथा भाथा महोत्सवको थारु समुदायका अगुवा एंव ज्येष्ठ नागरिक परमेश्वर गौरेले समुद्घाटन गरे ।
चाडपर्व मनाउनेसँगै पालिकामा रहेको धार्मिक पर्यटकीयस्थल भाथा धामको प्रचार प्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले तीनदिने माघी तथा भाथा महोत्सव आयोजना गरेको हो । मंगलबारदेखि सुरु तीन दिने महोत्सवस्थलमा थारु समुदायका खानाका परिकार, मौलिक पहिरन र भेषभुषा, पालिकामा उत्पादन भइरहेका ढकिया–पथिया,दुना–टपरी,नारी सुरक्षा सेनेटरी प्याड,कृषि औजारलगायतको स्टलहरु प्रदर्शनीका लागि राखिएका छन् ।
यस्तै, महोत्सवस्थलमै पहिलो दिन मंगलबार रक्तदान कार्यक्रम पनि आयोजना गरिएको गाउँपालिकाकी उपाध्यक्ष ममता महत्तोले जानकारी दिइन् । महोत्सवमा हरेक दिन थारु लोकसंगीत र नृत्यसहितको सांस्कृतिक कार्यक्रम पनि हुने उनले बताइन् ।
तीन दिने महोत्सवमा पर्सा राष्ट्रिय निकुञ्जको जंगलभिभित्र रहेको पर्सा जिल्लाकै प्रमुख धार्मिक पर्यटकीयस्थल दग्धेश्वरनाथ महादेव मन्दिर भाथा थामको प्रचार–प्रसार र पर्यटन प्रबर्धनका लागि जिप र हात्ती सफारीको पनि व्यवस्था गरिएको छ ।
महोत्सवस्थलदेखि भाथा धामसम्म जिप सफारी र जंगलभित्र हात्ती सफारीको व्यवस्था मिलाइएको महत्तोले बताइन् । उनका अनुसार,जिप सफारीको शुल्क प्रतिव्याक्ति ६ सय रुपैयाँ तथा जिप र हात्ती दुवैको सफारीका लागि प्रति व्याक्ति १ हजार २ सय रुपैयाँ तोकिएको छ ।
पर्सा जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय स्थल भाथा धामको प्रचार प्रसारसँगै पयर्टक प्रवर्द्धनका लागि महोत्सवमा जिप र हात्ती सफारीको प्रबन्ध गरिएको गाउँपालिका अध्यक्ष दिनेश चौधरीले बताए । यसबाहेक तीन दिने महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक कार्यक्रम पनि हुने माघी मूल समारोह समितिका संयोजक मुकेश गौरोले जानकारी दिए ।