निलम्बन फुकुवाको माग गर्दै लामिछानेले दिए सभामुखसमक्ष निवेदन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठक बस्नुअघि सिंहबारस्थित संघीय सचिवालय पुगेर लामिछानेले सभामुख घिमिरेलाई निलम्बन फुकुवाको मागसहितको निवेदन दिएका हुन्।
उनले आफूलाई गरेको निलम्बन कानुन सम्मत नभएको दावी गर्दै निलम्बन फुकुवा गरिदिनुपर्ने सभामुखसँग आग्रह गरेका थिए। तर, सभामुख घिमिरेले विद्यमान कानुन,संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको जवाफ दिएका थिए।
'कसैको दबाब,प्रभाव,पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरु कोही थियो । आज म छु । भोलि अरु कोही हुन सक्छ । तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो । तपाईंहरुले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद सुरु हुने अन्तिम समयमा छौं, 'सभामुख घिमिरेले भने।
सहकारी ठगी मुद्दा चलेपछि संघीय संसद सचिवालयले गत पुस ८ गते सूचना जारी गर्दै लामिछानेको प्रतिनिधिसभा सांसद पद निलम्बन गरेको जानकारी गराएको थियो। सहकारी ठगी प्रकरणमा लामिछाने गत कार्त्तिक २ गते पक्राउ परेका थिए।
सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। यसैगरी काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी बचत ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा रिहा भएका छन्।
यसैगरी सहकारी ठगी प्रकरणमा लामिछाने रुपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा छुटेका हुन्।
प्रतिक्रिया दिनुहोस !