पढाइसँगै सिप सिक्दै गणेशका विद्यार्थी
भक्तपुर : मध्यपुर थिमी नगरपालिका-७ का सुदीप घिसिङ कक्षा ८ मा अध्ययनरत छन्। गाउँमै रहेको गणेश माध्यमिक विद्यालयमा अध्ययनरत उनलाई हाउस वाइरिङमा विशेष रुचि छ। पढाइको अलवा अतिरिक्त क्रियाकलापमा रुचि राख्ने उनलाई विद्यालयले पनि सहयोग गरिरहेको छ। विद्यालयले शुक्रबार व्यवहारिक सिप सिकाउने कार्य गरिरहेको छ। जसको कारण उनी शुक्रबारलाई पर्खिरहेका हुन्छन्।
शुक्रबारका लागि चाहिने आवश्यक सामग्री उनले बिहीबार नै तयार गर्छन्। ‘अरू दिनमा भन्दा शुक्रबार भिन्नै कक्षा सञ्चालन हुन्छ। यस दिन विद्यालय जानका लागि चाडै तयार हुन्छु। कतिबेला विद्यालय पुगौ जस्तो लाग्छ,’ उनले भने।
बेला बेलामा घरमा बिजुली बिग्रन्छ। गाउँमा पनि बिजुली बिग्रिरहेको हुन्छ। त्यसबेला उनलाई बिजुली मर्मत गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ। ‘गाउँमा तथा आफ्नै घरमा पनि बिजुली मर्मत गर्न सकियो भने सहज हुन्छ। आफैले मर्मत गर्न सकियो भने यसैबाट आम्दानी पनि गर्न सकिन्छ,’ उनले भने।
कक्षा ९ मा अध्ययनरत छात्रा दिया गिरीलाई पनि प्लम्बिङसम्बन्धी काम गर्न मन छ। घरमा धाराहरू बिग्रँदा अरूको भर पर्नुपर्ने बाध्यता छ। धाराहरू बिग्रँदा लामो समय मिस्त्रीलाई कुर्नुपरेको उनको नमिठो अनुभव छ।
विद्यालयमा प्लम्बिङ सम्बन्धी तालिम लिएपछि यस सम्बन्धी काम आफैं गर्ने उनको योजना छ। ‘कक्षामा सरहरूले तालिम लिनुपर्छ भन्नुभएको थियो। सुरुमा रुचि लागेन। तालिम सुरु भएपछि विस्तारै मन लाग्न थाल्यो। अहिले त रमाइलो लाग्न थालेको छ। तालिम सकिएपछि म पनि यही कामलाई अघि बढाउँछु,’ उनले भनिन्।
हप्तामा एकदिन सञ्चालन हुने सिपमुलक तालिमले भविष्यमा स्वरोजगार बन्न सहयोग पुग्ने अर्का छात्र आसीस आवालले बताए। उनलाई भविष्यमा इलेक्ट्रिसियन बन्ने धोको छ। यसका लागि उनले पनि सिपमुलक तालिम लिइरहेका छन्। ‘सानै उमेरमा उस्तो सिप सिक्न पाउँदा निकै खुसी लागेको छ। यसले स्वरोगार बन्न सहयोग पुग्ने विश्वास लिएको छु,’ उनले भने।
विद्यालयले गएको असोज तेस्रो सातादेखि सीपमूलक कक्षा सञ्चालन गर्न थालेको हो। कक्षा सञ्चालन भएदेखि विद्यार्थीहरूमा स्वरोजगार बन्ने आत्मविश्वास बढेको छ। माध्यमिक तहबाटै व्यवहारिक सिप दिन थालेपछि विद्यार्थीहरूमा स्वरोजगार बन्ने आत्मविश्वास बढेको हो।
विद्यार्थीको चौतर्फी विकासका लागि शैक्षिक योग्यताका साथै सीप पनि आवश्यक हुने विद्यालयले जनाएको छ। विद्यालयका अनुसार कक्षा ६ देखि ९ सम्मका ४ सयभन्दा बढी विद्यार्थीले विभिन्न सिप सिकिरहेका छन्।
विद्यालयका प्रधानाध्यापक केशव चरण श्रेष्ठले समयअनुसार विद्यार्थीलाई सिपमुलक कक्षा सञ्चालन गरिएको हो। ‘विगतमा विद्यालयले सैद्धान्तिक ज्ञान मात्र प्रदान गर्यो। विद्यार्थीले व्यावहारिक सिप सिक्न पाएनन्। विद्यार्थीमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्न तथा स्वरोजगार बनाउनका लागि सिपमुलक कक्षा सञ्चालन गरिएको हो,’ प्रधानाध्यापक श्रेष्ठले भने।
कक्षा सञ्चालन गर्नुपूर्व विद्यालयले अभिभावक भेला बोलाएको थियो। भेलामा विद्यालय र अभिभावक बीच प्रत्येक विद्यार्थीबाट २ सय रुपैयाँ शुल्क लिएर कक्षा सञ्चालन गर्ने सहमति गरेको थियो। सहमति भएपछि विद्यालय व्यवस्थापन समितिमा कक्षा सञ्चालन गर्न प्रस्ताव गरियो।
हाल कक्षा ४ देखि ९ कक्षासम्म शुक्रबार विभिन्न सिपमूलक कक्षा चलाएको छ। जस अनुसार कक्षा ४ मा नृत्य कला, ५ मा हस्तलेखन, ६ मा संगीत, ७ मा कविता लेखन, कक्षा ८ मा इलेक्ट्रिसिटी र कक्षा ९ मा प्लमबिङ कक्षा सञ्चलन भएका छन्। कक्षा ९ र ८ मा विद्यार्थीहरूलाई चित्र कला कक्षा पनि विकल्पमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !