विद्यालयका प्रशिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा, शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा एकजना विद्यालय प्रशिक्षकविरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियारले बझाङको जयपृथ्वी नगरपालिकाअन्तर्गतको जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको ठहर गर्दै आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
उनले जागिर खाँदा पेश गरेको शैक्षिक प्रमाणपत्र अनुसन्धानका क्रममा नक्कली भेटिएको अख्तियारले जनाएको छ।
बोहराले जयपृथ्वी नगरपालिका,नगरकार्यापालिकाको कार्यालय बझाङमा सहायिक प्रशिक्षक पदमा नियुक्तिका लागि उच्च माध्यमिक शिक्षा परिषद्बाट जारी भएको प्लस टु तहको लब्धांक पत्रको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा,हैसियत,लाभ र सुविधा प्राप्त गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।
प्रशिक्षक बोहरालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदावी गर्दै आरोप -पत्र दायर गरेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !