भारत-नेपाल स्टार्टअप कनेक्ट : दुई देशबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य हुनुपर्ने जोड
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल र भारतबीचको प्रगाढ सम्बन्धको भरपुर लाभ आइटी क्षेत्रबाट लिनुपर्ने बताएका छन्। काठमाडौंमा शुक्रबार भारतीय दूतावासले आयोजना गरेको भारत-नेपाल स्टार्टअप कनेक्ट: स्टार्टअप महाकुम्भ (एसएमके)मा सम्बोधन गर्दै मन्त्री गुरुङले पछिल्लो समय सूचना प्रविधिको युग भएकाले अब दुई देशबीचको सम्बन्ध जोड्ने अर्को आधार सूचनाप्रविधि रहेको बताए।
उनका अनुसार नेपाल र भारत सांस्कृतिक, भावनात्मक र खुला सीमानाको अन्तर सम्बन्धलाई अब नविन कार्यमा रूपान्तरण गर्न आवश्यक रहेको बताए। आइटी क्षेत्रमार्फत दुई देशका युवाहरूलाई इनोभेटिभ कार्यमा सहकार्य गर्नुपर्ने उनको भनाइ छ। उनले नेपालले आइटी क्षेत्रमा पूर्वाधार निर्माण गर्ने, बजार विस्तार गर्ने, डिजिटल फ्रेमवर्कमा कार्य सम्पादन गर्दै आएको बताए। युवाहरूलाई आइटी उद्यमी बनाउनसमेत प्रोत्साहन गर्दै लैजानुपर्ने उनको भनाइ छ।
'हामीले अब नेपाल र भारतबीच स्टार्रटअपमार्फत सहकार्य गर्न सक्छौं। यसले दुवै देशको सम्बन्ध विस्तारसँगै अर्थतन्त्रलाई समेत टेवा पुर्याउँछ,' उनले भने। हालै जारी गरिएको एआई नीतिको मस्यौदामाथि प्रकाश पार्दै उनले एआई र स्टार्टअपको क्षेत्रमा भारत-नेपाल सहयोगलाई थप बढावा दिन आह्वान गरेका थिए।
त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाली स्टार्रटअप र भारतीय स्टार्रटअपसँग सहकार्य गरेर उद्यमशीलतालाई प्रोत्साहन गर्ने बताए। भारतीय सरकारले नवीन कार्यमा युवा विशेष लगानी गर्दै आएको र नेपालमा पनि यही प्रयास देखिएकाले दुवै देशको सहकार्यमा अझै उपलब्धिमूलक बनाउन सकिने उनको भनाइ छ। राजदूत श्रीवास्तवले भारतमा अप्रील ३ देखि ५ तारिखमा हुन लागेको स्टार्रटअप महाकुम्भवमा सहभागी भइ एकअर्काको सिर्जनात्मक कार्य साझेदारी गर्न अनुरोधसमेत गरे।
'भारतका युवाहरूमाझ स्टार्टअप संस्कृति लोकप्रिय बनेको छ। भारतले डिजिटल प्रविधिहरूमा पनि व्याप फड्को मारेको छ। डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको विकासले यो डिजिटल परिवर्तनलाई बढावा दिएको छ। यसले सीमापार स्टार्टअप सहकार्यको लागि अवसरहरू सिर्जना गरेको छ। जसले डिजिटल कनेक्टिभिटीलाई बढावा दिनसक्छ,' उनले भने।
त्यस्तै भारत सरकारको डीपीआइआइटीका सहसचिव संजीवले एसएमके स्टार्टअपका लागि के महत्त्वपूर्ण हुन्छ भन्ने विषयमा जोड दिए। औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आइडीआइ)का कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले 'नेपालमा स्टार्टअप नीति'बारे प्रस्तुति दिएका थिए। उनले आइआइटी मद्रास प्रवर्तकका प्रमुख (न्यु इनीसीएटिभ्स) राजेन्द्र मुथाले आइआइटी मद्रास प्रवर्तकले इन्क्यूबेसनलाई प्रवर्द्धन गर्न, प्रविधि विकास गर्न र अन्य विश्वविद्यालयहरूसँग साझेदारी निर्माण गरी इन्क्यूबेसनलाई बढावा दिन कसरी मद्दत गरिरहेको छ भन्ने बारेमा जानकारी दिए।
टेक एक्सआरका प्रमुख कार्यकारी अधिकृत प्रशान्त मिश्राले कसरी भर्चुअल रियालिटीले पर्यटन क्षेत्रको अनुभवहरू साझा गरेका थिए। एफ वान सफ्टका सह-संस्थापक असगर अलीले नेपालमा बैंकिङको लागि सफ्टवेयर निर्माणमा रहेको आफ्नो यात्राबारे बताएका थिए। खल्ती वालेटका संस्थापक अमित अग्रवालले नेपालमा डिजिटल भुक्तानीबारेमा भएको वृद्धिबारे बताएका थिए।
त्यस्तै सामाजिक प्रभावका लागि डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर सेसनमा वृद्धि सञ्जलप्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले नेपालको लागि डीपीआई निर्माण गर्नेबारे आफ्नो प्रयासहरूबारे बताएका थिए। नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान प्रधानले नेपाल पेजस्ता आफ्ना उत्पादनहरूको बारेमा विस्तृत रूपमा बताएका थिए। जुन नेपालका फिनटेक कम्पनीहरूका लागि नवप्रवर्तन गर्न डिजिटल क्षेत्रहरू थिए। कम्प्युटर विज्ञानका प्राध्यापक र काठमाडौं विश्वविद्यालयका एसोसिएट डीन डा. बालकृष्ण बलले आफ्ना विद्यार्थीहरूलाई डिजिटल सार्वजनिक सामानहरू निर्माण गर्न प्रोत्साहित गर्ने काठमाडौं विश्वविद्यालयको प्रयासहरूको बारेमा बताएका थिए स्कुलनेटका एभीपी हिमांशु तिवारीले भारतमा रहेको दीक्षाजस्ता शिक्षा डीपीआईको अनुभव साटेका थिए।
अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न चाहने भारत र नेपालका स्टार्टअपहरूका लागि दुवै देशहरू राम्रो बजार भएको भारत र नेपालका स्टार्टअपहरूले नयाँ समस्या र सामाजिक चुनौतीहरूलाई स्तरीय रूपमा समाधान गर्न उदीयमान प्रविधिहरूको उपयोग गरिरहेको, डीपीआईको विकासले नयाँ स्टार्टअपहरूलाई नवप्रवर्तन गर्ने राम्रो अवसर प्रदान गर्ने र यो मोडेल भारतमा धेरै सफल भएको, नेपाली स्टार्टअपहरूले भारतबाट उपलब्ध हुने पुँजी र परामर्श नेटवर्कमा विशेष गरी आइआइटी मद्रास प्रवर्तक जस्ता इन्क्यूबेटरहरूमार्फत फाइदा लिन सकिने विषयमा छलफल केन्द्रित थियो।
भारतीय दूतावासले भारत-नेपाल स्टार्टअप कनेक्टलाई प्रवर्द्धन गर्ने गतिविधिहरूलाई निरन्तर प्रोत्साहन गर्ने बताएको छ। छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीको विशेष सम्बोधनसँगै समापन भएको थियो।
प्रतिक्रिया दिनुहोस !