अब मुलुकभर वाणिज्य बैंकको पहुँच
काठमाडौं : मुलुकमा संघीयता आएपछि हरेक नेपालीलाई वित्तीय पहुँच पुर्याउन ७५३ ओटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने नीति ८ वर्षमा पूरा भएको छ। नेपाल राष्ट्र बैंकले २०७४ सालमा देशभरका सबै स्थानीय तहमा वाणिज्य बैंकको एक शाखा खोल्ने नीति लिएको थियो।
तर, बझाङको साइपाल गाउँपालिकामा शाखा विस्तार भएको थिएन। साइपालमा सोमबार गभर्नर महाप्रसाद अधिकारीले शाखाको उद्घाटन गरेसँगै सबै स्थानीय तहमा बैंक पुगेको हो । उक्त गाउँपालिकामा एभरेष्ट बैंकले शाखा सञ्चालनमा ल्याएको हो।
बैंक नहुँदा वृद्धाहरू भत्ता बुझ्न ३–४ दिन पैदल यात्रा गरेर सदरमुकाम चैनपूरम्मसम्म जानुपर्ने बाध्यता थियो। अब यो बाध्यता अन्त्य भएको छ। दुर्गम भएका कारण यस क्षेत्रमा बैंकहरूले शाखा खोल्न सम्भव नभएको बताउँदै आएका थिए। अरू पालिकामा सडक सञ्जाल पुगेको भएतापनि साइपालमा सडक विस्तार भएको छैन। यहाँ एक एक गाउँबाट अर्को गाउँ जान १ दिन लाग्ने डाँडाहरू छन्।
यस क्षेत्रमा जनसंख्या पनि न्यून छ। २०७८ को जनगणना अनुसार यहाँको जनसंख्या २ हजार ६ सय ५० रहेको छ। सडक नभएको र जनसंख्या पनि कम भएकाले शाखा नखोले पनि सबै सरकारी कारोबारसहित जयपृथ्वी नगरपालिकाबाट हुने गरेको थियो। बैंकले सोही फण्डबाट सेवा प्रदान गर्ने प्रस्ताव राखेको थियो।
गत आर्थिक वर्ष २०७८/७९ जेठसम्ममा ३ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको थिएन। दुर्गम भनिएका धादिङको रुबी भ्याली गाउँपालिका र जाजरकोटको जुनिचाँदे गाउँपालिकामा समेत थिएन।
२०७९ असारसम्म ७ सय ५२ तहमा वाणिज्य बैंकका शाखा विस्तार भयो। यसको करिब २ वर्षपछि बझाङको साइपाल गाउँपालिकामा वाणिज्य बैंक पुगेको हो। राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार धेरै दुर्गम भएकाले शाखा खोल्न समस्या आएको भए तापनि गाउँपालिकाको पूर्वाधारहरू भएको ठाउँमा एभरेष्ट बैंकले शाखा सुरुवात गरेको हो।
‘बझाङको सदरमुकाम चैनपुरबाट तीन घण्टाको यात्रापछि तल्कोट गाउँपालिका पुगिन्छ। त्यहाँबाट करिब १४ घण्टा पैदलयात्रा गरेपछि गाउँपालिकाको सदरमुकाम काँडा पुगिन्छ। त्यसैले यसपटक साइपालको सदरमुकाम काँडामा शाखा नखोली धलौनमा खोलिएको हो,’ राष्ट्र बैंक भन्यो।
देश संघीय संरचनामा गएपछि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई कम्तीमा एउटा शाखा हरेक स्थानीय तहमा खोल्न निर्देशन दिएको थियो। गाउँपालिकाका पूर्व अध्यक्ष राजेन्द्र बहादुर धामीले बैंकले भौगोलिक अवस्था, घरभाडा लगायतको बुझ्न आएको तर अहिलेसम्म नखोलेको बारे अन्नपूर्ण पोस्टलाई जानकारी दिएका थिए।
केन्द्रीय बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको संख्या (लघुवित्त वित्तीय संस्था समेत) २०८१ पुस मसान्तमा १०७ रहेको छ। यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !