स्कुल बस दुर्घटनाले अभिभावक त्रासमा
काठमाडौं : काठमाडौंको शंखरापुर नगरपालिका-५ स्थित साँखु-–नगरकोट सडकखण्डमा बुधबार स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भयो। नगरकोटमा पिकनिक मनाएर फर्कंदै गरेको बा२ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस साँखुमा दुर्घटना भएको थियो। उक्त बस चाबहिलमा रहेको सत्यसाई एकेडेमी ‘एसएस’ ले रिजर्भ गरेको थियो। बसको बेक्र फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
०००
गत आइतबार दक्षिणकाली नगरपालिका-३ भन्ज्याङमा जुनकिरी इंग्लिस बोर्डिङ स्कुलको विद्यार्थी बोकेको बस पनि दुर्घटनामा परेको थियो। विद्यार्थी छोड्न फर्पिङतर्फ जाँदै गर्दा चालक र १ विद्यार्थीको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए। जुनकिरी इंग्लिस बोर्डिङको बा१क ५६६४ नम्बरको बस सडकबाट १ सय ५० मिटर तल डल्लु खोलामा खस्दा ३५ वर्षका चालक धाकृष्ण मगर र ८ वर्षका विपिन श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको थियो।
उपत्यकामा ४ दिनको फरकमा स्कुल बस दुर्घटनाबाट ६ जना विद्यार्थीको मृत्यु भएको छ। दिनहुँजसो स्कुले बस दुर्घटना हुनथालेपछि अभिभावकहरू त्रसित छन्। उपत्यकामा मात्रै हैन देशैभर स्कुले विद्यार्थी बोकेका सवारीसाधन दुर्घटनामा पर्ने, विद्यार्थीहरू घाइते हुने क्रम बढ्दो छ। अत्यन्तै संवेदनशील मानिएको स्कुल बसहरू किन दुर्घटनामा पर्छन्? विद्यालयको लापरबाही हो या अन्य केही कारण?
के भन्छन् प्याब्सन अध्यक्ष?
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौंका अध्यक्ष नवराज भट्ट स्कुल बस दुर्घटना अत्यन्तै संवेदनशील घटना भएको बताउँछन्। उनले बुधबारको दुर्घटना स्कुलको गाडीभन्दा पनि भाडाको गाडी दुर्घटना भएको बताए। ओरालो सडकमा गाडी नियन्त्रण नभएको चालकले बताएका थिए। यसले गर्दा गाडीमा केही यान्त्रिक समस्या थियो कि भन्ने अनुमान गरिएको छ।
प्याब्सन अध्यक्ष भट्ट अगाडि भन्छन्, यस्ता घटना दोहोरिन नदिनका लागि प्याब्सनले छिट्टै नै सबै स्कुलमा परिपत्र गर्ने छ। विद्यार्थी बोक्ने सवारी साधन र सुरक्षाको विषयमा स्कुल संवेदनशील हुनैपर्छ। दुर्घटना भन्नासाथ स्कुलले लापरवाही गर्यो भन्ने पनि हैन, कहिलेकाहीँ एक्कासि हुने अवस्था हो। भवितव्यले पर्ने अवस्था हो। स्कुलमा विद्यार्थीलाई सुरक्षा प्रदान गराउनका लागि प्याब्सनले स्कुलमा कडाइका साथ परिपत्र पठाएको छ। सबै स्कुलका सवारी चालक र ट्राफिक प्रहरीलाई राखेर छलफल गराउने र सचेतना कार्यक्रम गराउने निर्णय गरेका छौं।
दुर्घटनाका घाइतेलाई विद्यालय परिवार, प्याब्सन परिवार र शंकरापुर नगरापालिकाको सहयोगमा पूर्ण उपचार गराउने निर्णय भएको उनले जानकारी दिए। एसएस एकेडेमीका प्रधानध्यापक मरिचमान लिम्बुका अनुसार उक्त एकेडेमीमा प्राय निम्नवर्गीय तथा सडक व्यापार गर्ने अभिभावकका बच्चाहरू अध्ययनरत छन्। तरकारी बेच्ने, ठेला पसल गर्नेलगायतका अभिभावक छन्। बुधबार भएको दुर्घटनाले आफू अत्यन्तै विक्षिप्त भएको बताउँदै उनले आफूले विद्यार्थीको संरक्षण गर्न नसकेकामा अभिभावकसँग माफी मागेका छन्।
विद्यालयमा हुने अतिरिक्त क्रियाकलापअन्तर्गत बुधबार योजनबद्ध रूपमा नै विद्यार्थीहरूलाई वनभोज लगेको उनले जानकारी दिए। दुवै गाडी राम्रो नै थियो, एक्कासि के भयो? कसरी दुर्घटना भयो आफूले केही पत्तो नपाएको उनले बताए। ओरालो बाटोमा माथि रहेको डोजरलाई साइड दिन खोज्दा गाडी दुर्घटना भएको हुनसक्ने उनको अनुमान छ। अन्नपूर्णसँगको कुराकानीमा उनले आफू भर्खरमात्रै प्रहरी थानाबाट फर्किएको जानकारी गराउँदै धेरै केही बोल्नसक्ने मानसिक अवस्थामा रहेको बताएका थिए।
पीडामा परिवार
लिम्बुका अनुसार मृत्यु भएका क्रिसल पुरी आफ्नो काकासँग बसेर पढिरहेका थिए। उनको बुवाआमा मोरङ गाउँमा बस्छन्। अर्का मृतक सुरेश तामाङ उक्त एकेडेमीकै पूर्वविद्यार्थी हुन्। उनी स्कुल व्यवस्थापन तथा शिक्षणमा संलग्न थिए। उनका बुबाले ट्याक्सी चलाउने गर्छन्। यस्तै अर्का मृतक सुशांक डोटेल सिनामंगलमा बसेर पढ्ने गर्थे। उनको परिवार वैदेशिक रोजगारीको सिलसिलामा देशबाहिर छन्।
प्रहरी प्रभाग फर्पिङका इन्सपेक्टर रमेश विष्टका अनुसार, आइतबार दक्षिणकालीमा भएको दुर्घटनामा मृत्यु भएका विपिन श्रेष्ठको बुबा नेपाली सेनामा कार्यरत छन्। दुईभाइ छोराहरूलाई नजिकैको बोर्डिङ स्कुल पठाएका उनले दुर्घटनामा कान्छो छोरा गुमाए। अर्को छोरा विकेश श्रेष्ठ घाइते छन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।
स्कुल बस चेकिङमा निगरानी बढ्यो
उपत्यकामा स्कुल बस दुर्घटनामा धेरै पर्न थालेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको छ। उपत्यका ट्राफिक महासाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार उपत्यकामा स्कुल बस टार्गेट गरेर चेकजाँचमा कडाइ गरिएको छ। बिहीबार बिहानदेखि नै हरेक स्कुल बसलाई ट्राफिक चेकिङ गरिएको र नियम उल्लंघन गर्नेलाई कारबाही गरिएको उनले जानकारी दिए। घिमिरे भन्छन्, ‘बसको यान्त्रिक परीक्षण के कस्तो छ? नियमसंगत छ, छैन? आवश्यक कागजात साथमा छ छैन? चालकहरूको अवस्था चेकजाँच गर्ने तथा सिटभन्दा बढी विद्यार्थी राखेको छ छैन? विभिन्न कुरामा चेकजाँचमा कडाइ गरिएको छ। बसको सिटभन्दा बढी विद्यार्थी राखे कारबाही गरिनेछ।
घिमिरे भन्छन्, प्रायः स्कुलहरूले सस्तो सवारीसाधन खोज्ने क्रममा पुरानो र थोत्रो बस स्कुले विद्यार्थी ओर्सान प्रयोग गरेको देखिन्छ। यसमा विद्यालय परिवार नै सचेत हुन जरुरी छ। केही पैसा सस्तो बहानामा स साना विद्यार्थीको जिउज्यान र भविस्यमाथि खेलवाड गर्ने छुट कसैलाई छैन। ट्राफिक महासाखाले पिकनिक स्पोर्ट र घुमपिर गर्ने एरियामा पनि सुरक्षा निगरानी बढाएको छ।
प्रतिक्रिया दिनुहोस !