त्यो आदिम सभ्यता, यो आधुनिक सभ्यता

समाज

त्यो आदिम सभ्यता, यो आधुनिक सभ्यता

पुर्ख्यौली त्यो मान, शान, वैभवशाली–गौरवपूर्ण विरासत र आडभरोसा आज एकादेशको कथाजस्तो छ। उनीहरूको पुख्र्यौली ज्ञानपरम्परा र आदिवासी आनुवंशिक ज्ञानलाई आधुनिकताले खप्लक्कै खाइदिइसकेको छ।

नेपालका अनादिवासी–मूलवासी रैथाने शिल्पी समुदाय भाषा, संस्कृति, संगीत, नाचगानका मूलाधारशिला हुन्। अर्थात्, मानव सभ्यताका मुहान जाति, समुदाय। शिल्पकला, संस्कृति, सम्पदा र सभ्यताका प्रमुख सर्जक उनीहरू नै हुन्। शिल्प (मानव) सभ्यता भनेको मानव सभ्यता हो। मानव सभ्यता नै आदिम सभ्यता हो। यही आदिम सभ्यता नै द्रविड सभ्यतासँग जोडिएको छ।

९ हजार वर्षअघिको नाचगान : द्रविड सभ्यता नै वर्तमान समयमा भारतमा अनुसूचित जाति, नेपालमा कथित दलित भनिने समूहका पूर्वजहरूले विकास गरेको पछिल्लो आनुवंशिक अनुसन्धानबाट पुष्टि भएको छ। मानव भाषा विकासको इतिहासलाई नियाल्दा गुफा युगसम्म पुग्नुपर्छ। गुफा युगमा गुफाभित्र चित्रकलाको विकास भएको थियो। त्यही चित्रकलाको संकेत वा चिह्नहरूको माध्यमबाट करिब नौ हजार वर्षअगाडि नाचगान र भाषाको विकास भएको पुरातŒववविद् र वैज्ञानिकहरूको निष्कर्ष छ। त्यसरी विकास भएको लिपि, माटोको अक्षर लेखन, चर्मपत्र, भोजपत्र, रूपापत्र, काष्ठपत्र, इष्टिपत्र, प्रस्तर वा शिलापत्र, ताम्रपत्र र स्वर्णपत्रमा अक्षरहरू अंकित गर्न थालियो।

११ औं शताब्दीको खस नेपाली भाषा ः यी सबै विभिन्न पत्रहरूको लेखनकार्य आदिमकालमा रैथाने शिल्पी समुदायका पूर्वजहरूले गरेको इतिहास पाइन्छ। मानवले लेख्ने कागज र मसीको विकास–आविष्कार नगर्दासम्म माथि उल्लिखित विभिन्न पत्रहरूमै भर पर्नु परेको थियो। अहिलेको बोलीचालीमा रहेको खस नेपाली भाषा ११औं शताब्दीतिर जुम्लाको सिञ्जामा विकास भएको धेरैजसो भाषाविद्हरूले बताउने गर्दछन्। तर त्यसअघि त्यहाँ कुनै भाषा चलनचल्तीमा नरहेको, मानव बसोबास नै नभएको वा कुनै भाषा नै बोलिदैनथ्यो त ? पक्कै पनि त्यहाँ कुनै न कुनै अरू भाषाभाषीको उपस्थिति हुनैपर्छ र केही भाषाशास्त्रीले अन्य भाषाको अस्तित्व स्वीकारेका छन्। यसरी अरू भाषा चलनचल्ती र बोलीचालीमा रहेको प्रष्ट हुन्छ।

त्यसअघि पिशाची प्राकृत र कलाउँते प्राकृत भाषा : ११ औं शताब्दीभन्दा अगाडि त्यहाँ पिशाची प्राकृत र कलाउँते प्राकृत भाषा प्रचलनमा रहेको भाषाशास्त्रीहरू बताउँछन्। उनीहरूका अनुसार जुम्ली भाषिकामा सबैभन्दा बढी प्रभाव यिनै दुई भाषा, त्यसमा पनि कलाउँते प्राकृतको बढी प्रभाव रहेको बताउँछन्। योगी नरहरिनाथको संग्रहमा छापिएको ‘इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, भाग–१’ ग्रन्थमा कर्नाली–भेरी क्षेत्रमा ऐतिहासिक कलाउँते अक्षरको वर्णमालामा मलय बर्माको खाँडाप्रकाश छापिएको उल्लेख छ।

सुदूरपश्चिम अछाममा खस राजा भीम शाही : पितृ शाहीले १७५८ सालमा आफ्नो दरबारमा कलाउँते दमाईं मातृभाषाको लिपि र खस लिपि ताम्रपत्र लेखनमा प्रयोग गरेको तथ्य प्रमाण पाइएको छ। यसरी आदिमकालदेखि मध्यकालसम्म बोलीचाली, लिखित साहित्य र दरबारमा राजा, महाराजाहरूले समेत प्रयोग गरेको भाषालाई पहिलो किन मानिएन ? कसरी एकाएक लोप भयो ? के, कति कारणले निकै पछि विकसित भएको खस भाषालाई सिञ्जाबाट उब्जिएको भनेर प्रचार गरियो ? ऐतिहासिक लेखनको गम्भीर त्रुटि विचारणीय छ।

कुमाउँ–गढवालमा डोम र शिल्पी समुदाय : हिमाल–पहाडका अनादिवासी शिल्पी समुदाय पहिलो शताब्दीतिरै पश्चिम नेपालको अछामहुँदै कर्नाली–भेरी क्षेत्रमा भाषा, संस्कृति, राजकाज, भूमि आवादी, देवीदेवता प्राप्ति, मन्त्रतन्त्रका साथमा जडीबुटी उपचार, धामीझाँक्री परम्परा, पाककला, धातुकला, प्रस्तरकला, चर्मकला, वरपीपल रोपन, जमरा संस्कृति, चट्याङ प्रतिरोधी प्रविधिको विकास आदि मौलिक शिल्पकला, संस्कृति, सम्पदा र सभ्यताको विकास गरिसकेका थिए। यी सम्पूर्ण शिल्पकला, संस्कृति, सम्पदा र सभ्यताको अवशेषहरू त्यस क्षेत्रमा आजसम्म देख्न सकिन्छ।

यी सबै लोकपरम्परा, लोकवाङ्मय, भाषा, संस्कृति एवं शिल्पकलाको देशभर विस्तार आदिवासी–जनजाति समूहभन्दा अघि नै स्थानान्तरण भइसकेको देखिन्छ। भारतीय इतिहासकार बद्रीदत्त पाण्डेले लेखेको कुमाउँका इतिहसमा खस, बाहुनभन्दा पुरानो बासिन्दा कुमाउँ–गढवालमा डोम, शिल्पी समुदाय नै रहेको पुष्टि गरेका छन्। इतिहासकार डा. सुरेन्द्र केसीका अनुसार ५÷६औं शताब्दीमा कुमाउँ–गढवाल क्षेत्रमा झन्डै चार सय वर्षसम्म शासन गरेर खसहरू पश्चिम नेपाल प्रवेश गरेका थिए। पश्चिम नेपालहुँदै कर्नाली–भेरी क्षेत्रका अनादिवासी शिल्पी इलाकामा प्रवेश गरेर १२औं शताब्दीमा उनीहरूको शासनसत्ता, राजकाज कब्जा गरेर खस साम्राज्य स्थापना गरेका हुन्। यो धरातलीय वास्तविकता र ऐतिहासिक सत्यता आजसम्म कुनै पनि विद्वान् इतिहासकारहरूले खुलेर लेखेका छैनन्।

रैथाने शिल्पी समुदायको उपस्थिति किराँतकालीन र बुद्धकालीन समयभन्दा अघि : त्यसपछि त्यस भूगोलबाट शिल्पी समुदायको स्थानान्तरण अझै तीव्र गतिमा हुन थाल्यो। यसरी स्थानान्तरण हुने क्रममा शिल्पी समुदायको आफ्नै मौलिक भाषा, संस्कृतिलाई लगभग पूरै बिर्सिए। उनीहरूको आफ्नै मौलिक प्रकृति–कुलपितृपूजक (भौतिकवादी–मानवतावादी), मन्त्र–तन्त्र बोनधर्म परम्परबाट पूर्णरूपमा विस्थापित भइ हिन्दूकरण भए। शिल्पी समुदायको बीचमा बोलिने कलाउँते, गन्धर्व, बादी, कामी–सुनार र सार्की जातिको सम्पर्क भाषाको ठाउँमा खस नेपाली भाषाले विस्थापित भयो। यिनै अनादिवासी शिल्पी समुदायकै कारणले गर्दा विभिन्न आदिवासी–जनजाति कविला इलाकाहरूमा खस नेपाली भाषा पहिला पुगेको थियो। यो खोज वरिष्ठ इतिहास संस्कृतिविद् डा. जगमान गुरुङको सत्यको नजिक छ।

नेपालमा १५औं शताब्दीको वरिपरिबाट चर्को रूप लिनुअघि जातीय विभेद त्यति थिएन। जातीय विभेद नभएपछि रैथाने शिल्पी समुदाय पनि थिएनन् भन्ने धेरैको बुझाइ रहेको देखिन्छ। तर यो बिल्कुलै सत्य हुँदै होइन। किनकि किराँतकालीन र बुद्धकालीन इतिहासका आधारमा रैथाने शिल्पी समुदायको उपस्थिति किराँतकालीन र बुद्धकालीन समयभन्दा अघिबाटै भएको स्पष्ट हुन्छ। यहाँ सबै तथ्य दिन सम्भव छैन। तर केही तथ्यहरूमा–सुदूरपश्चिम र कर्नाली–भेरी क्षेत्रमा भाषा, साहित्य, संस्कृतिको विकास, कोट, किल्ला, गढीको सामुदायिक नामकरण, देवीदेवताको प्राप्ति, धामीझाँक्री परम्परा, शिल्पकला, सम्पदाका साथै कर्नाली–भेरी नामकरण र सभ्यताको विकासलाई लिन सकिन्छ।

रामग्राममा रामसिंह कोली, देवदहमा देवदत्त कोलीको राजकाज : गण्डकी क्षेत्रको कास्की जिल्ला माछापुच्छे« गाउँपालिकामा गन्धर्व राजाहरूले गन्धर्वचुली (६,२४८ मिटर) हिमालको नामकरण गरी सभ्यताको विकास गरेको पाइन्छ। गण्डकी क्षेत्रकै गोरखा जिल्ला चुम नुव्री गाउँपालिकामा सार्की राजाहरूले सार्की (चमार) वा शृंगी (सेराङ) हिमाल (७,१६५ मिटर) को नामकरण गरी सभ्यताको विकास गरेको पाइन्छ। तराई क्षेत्रमा किराँतीहरूका समेत पूज्य सहलेश सम्राट्, दिनाभद्री राम, शिरध्वजका समकालीन प्रतापी डोम राजवंशले राजकाज र सभ्यताको विकास गरेका थिए।

त्यसैगरी, महामानव बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको कपिलवस्तु जिल्लामा रामसिंह कोलीले राजकाज गरी सभ्यताको विकास गरेका थिए। त्यो क्षेत्र अहिले रामग्रामको नामले चर्चित छ। यही रामग्राममा रामसिंह कोली राजाको राजधानी बसेको थियो। सोही क्षेत्रको नवलपरासी जिल्लामा कर्मसिंह कोली र देवदत्त कोलीले राजकाज गरी सभ्यताको विकास गरेका थिए। देवदत्त कोलीले राजकाज गरेको त्यो क्षेत्र अहिले देवदहको नामले चर्चित रहेको छ। यही देवदहमा देवदत्त कोली राजाको राजधानी बसेको थियो। यस क्षेत्रमा पछिल्लो उत्खननबाट सहरको भग्नावशेष प्राप्त भएको छ।

प्रकृतिसँगको संघर्ष, सिकाइ र भोगाइ आजको समाज : स्मरणहोस्, कोली कामी जातिभित्रका बस्त्रकार हुन्। कोलीका वंशजहरू थारू र नेवार समुदायमा पनि रहेको पाइन्छ। हिमाल–पहाडका कोली, दमाईं, तराई–मधेसका कोइरी, तत्मा र दासको आदिम कामकर्म, पेसा र व्यवसाय बस्त्रकार नै थियो। यी केही अकाट्य तथ्य प्रमाणहरूका आधारमा नेपालमा शिल्पी समुदाय आदिवासीहरूका पनि अनादिवासी र मूलवासीहरूका पनि मूलवासी रहेको सप्रमाण प्रमाणित हुन्छ। सो कुरालाई पूर्वमन्त्री, बुद्ध धर्मका अभियन्ता डा. केशवमान शाक्यको स्वीकार रहेको छ। उनले कर्नाली, भेरी क्षेत्रमा एक दशक लामो समयसम्म बसेर नजिकबाट अध्ययन गरेका थिए।

त्यसैले तथ्य प्रमाणका आधारमा रैथाने शिल्पी समुदायको शिल्पकला अघिल्लो हो। जातीय विभाजन एवं विभेद पछिल्लो हो। यस आधारमा हिन्दूकरण र दलितीकरणसँग कुनै साइनो सम्बन्ध देखिँदैन। उनीहरूलाई कुनै जात विभाजनकर्ता वा पात्रले शिल्पकला सिकाएको हुँदै होइन। कुनै विद्यालय, पाठशाला वा तालिम केन्द्रमा गएर सिकेका पनि होइनन्। काम गर्ने, परिश्रमी र पसिना बगाउने समूहलाई घृणावादले डस्न थालेपछि विगतमा आफ्नो मौलिक पुर्ख्यौली पेसाकर्मीहरूलाई नै जातको लेबल लगाइएको देखिन्छ। उनीहरूले हजारौं वर्षअघि नै निरन्तर प्रकृतिसँगको संघर्ष, सिकाइ, भोगाइ, अनुभव, सामीप्यता, संसर्गबाट शिल्पकलाको ज्ञान सिकेका हुन्।

पिंगुल लिपिबाट गोठदेखि आधुनिक घरमहलको वैज्ञानिक रेखांकन : त्यही शिल्पकलालाई मौलिक पुख्र्यौली ज्ञानपरम्पराको रूपमा पुस्तान्तरण हुँदै दिगो र स्थायी भएको हो। आदिम मानव सभ्यताको विकासदेखि नेपाली भाषा, साहित्य, संस्कृति र सभ्यताको विकासमा रैथाने शिल्पी समुदायको विशिष्ट योगदान छ। एक मानवको जन्मदेखि मृत्युसम्मको सम्पूर्ण लोकजीवनको पूर्णता दिने यिनै जाति, समुदायको पुख्र्र्यौली ज्ञानपरम्परामा आधारित शिल्पकलाको देन हो। कपासखेती गरी तान बुनेर शरीरको लाज ढाक्न सिकाए। मनोरञ्जनका लागि काठ, माटो र धातुको फुकेर, ठोकेर र कोट्याएर बजाइने बाजाको आविष्कार र विकास गरे।

आदिम वैज्ञानिक कार्यशालाको रूपमा मानिएको आरनबाट पकाएर खाने भाँडावर्तन उत्पादन गरे। विभिन्न कृषि औजार आविष्कार, उत्पादन र विकास गरेर कृषि सभ्यतालाई विकसित बनाए। खुट्टाले हिँड्ने समाजलाई चर्मशास्त्र, रङको विकासबाट जुत्ताचप्पलको आविष्कार गरी मानवयात्रामा गति पैदा गरे। पिंगुल लिपिको माध्यमबाट सामान्य गोठदेखि आधुनिक घरमहलको वैज्ञानिक रेखांकन, नक्सांकन इन्जिनियरिङको विकास गरे।

जैविक विविधता र पर्यावरण संरक्षणमैत्री मानव बस्ती : कुटानी, पिसानीका लागि पानीघट्ट, सिँचाइका लागि नहर, कुलो बनाउने सीप सिकाए। शत्रुबाट बच्न विभिन्न कोण र आकारका कोट, किल्ला र गढी बनाई राजकाज, शासनको प्रारम्भ गरे। आधुनिक हातहतियारको पुर्खा तीर, भाला, खुकुरी, बन्दुक, तोपको आविष्कारक यिनै समुदाय हुन्। बझाङतिर एक कहावत नै छ– ‘मस्टहरूमध्येमा जेठो ढँडार मस्ट, कोटहरूमध्येको जेठो डुम्रा (डुमराजाको कोट) कोट।’ उनीहरूले ठूलाठूला घरमहल, नहर, दरबार, मठ–मन्दिर, पाटीपौवा, विश्राम चौतारी, देवालय बनाएर मानवीय सेवाकर्म सिकाए। जैविक विविधता, पर्यावरण संरक्षणमैत्री मानव बस्ती बसोबास प्रणालीको विकास गरे। विश्व चराचर जगतका सबै पशुप्राणी, जीवजनावर, कीटपतंग एवं मानवीय हित, सेवा र परोपकारको भौतिकवादी–मानवतावादी संस्कार सिकाए। अरूबाट लिनुभन्दा सेवा दिने बृहत्तर उदारभावको प्रणाली स्थापित गरिदिए।

आदिम मानव सभ्यता र संस्कृति नै आजको आधार : शिल्पी समुदायको जन्मदेखि मृत्यु संस्कारमा उल्लेख भएको वरपीपल संस्कृतिलाई जीवन्त बनाए। तर संकीर्णताले ग्रसितहरूले उनीहरूकै मौलिक संस्कृति वरपीपल रोप्नमा प्रतिबन्ध समेत लगाइदिए। शिल्पी समुदायको लोकसंस्कारमा प्रयोग हुने जौको जमरा संस्कृतिको विशिष्ट महत्व छ। खेतीपाती, अन्नबालीबाट पहिलो उत्पादित फल नुवागीको रूपमा आफ्नो प्रकृति, कुलदेवतालाई चढाएर प्रकृतिप्रति धन्य हुन् सिकाए। आफ्नो शिल्पकला, ललितकला एवं हस्तकलाको उत्पादन गर्दा हरेक बिहान धूप हाल्ने, ढोग्ने, प्रकृति र पितापुर्खालाई सम्झिने संस्कारको विकास गरे।

प्रकृति, कुलपितृदेव पूजा परम्पराको थालनी यिनै समुदायको आदिम संस्कृति हो। के महिला, के पुरुष, के बालबालिका सबैलाई एकैसाथमा कदम मिलाएर नाच्न सिकाए, स्वरमा स्वर मिलाएर गाउन सिकाए, सुर–ताल, लय मिलाएर बाजागाजा बजाउन सिकाए। पारिवारिक, सामूहिक काम सकेपछि सामूहिक रूपमा बसेर खानपिनमा रमाउन सिकाए। शिल्पी समुदायले अरू जाति, समुदायका लागिसमेत बाजागाजा बनाई दिएर, पाउदेखि, शीरसम्म बस्त्र आभूषण, गरगहना र सिंगारपटारका सरसामग्री उत्पादन गरी कला, संस्कृति, इतिहास र पहिचानका मुख्य खम्बा बनिदिए।

संस्कृति र पहिचानका मूलखम्बा नै अस्तित्वविहीन : अरूका संस्कृति र पहिचानका तिनै मूलखम्बा शिल्पी समुदाय आज आफैं अस्तित्व, इतिहास र पहिचानविहीनजस्तो बन्नु परेको छ। यी समुदायले समाज र राष्ट्रलाई दिनुपर्ने र गर्नुपर्ने बाँकी काम केही छैन। उनीहरूले दैनिक उपभोग्य भौतिक चीजवस्तुदेखि, जन्मदेखि मृत्युसम्मका सम्पूर्ण अति आवश्यक शिल्पकलाको आविष्कार, विकास, उत्पादन र सेवामा रातदिन तल्लिन रहे। जन्मदेखि मृत्युसंस्कारसम्म बाजागाजा, संगीतमय संस्कार यिनैको छ। आम समाजलाई नाच्न, गाउन, हाँस्न र खुसी रहेर निरोगी बन्न सिकाए। समाजमा कोही कसैलाई रोगबिमार लागेमा आदिवासी जडीबुटी आनुवंशिक ज्ञान, मन्त्रतन्त्र र झारफुक सेवाबाट उपचार गर्थे। आधुनिक एलोपेथिक औषधिको विकासपूर्व ग्रामीण स्वास्थ्य उपचारको जिम्मा यिनै समुदायको भरमा टिकेको थियो।

धामीक्राँक्रीदेखि बैंकिङ प्रणालीसम्म, सञ्चारकर्मीदेखि पुर्ख्यौली विरासत धान्नेसम्म : रोगबिमार लाग्दा, कान छेड्नुपर्दा, दाँत किराले खाँदा वा उखेल्नुपर्दा, सुत्केरी गराउन, घाउखटिरा आउँदा, भूतप्रेत, वायुबतासले सताउँदा आदि समस्याको एउटै सहारा रैथाने शिल्पी समुदाय नै थिए। सुन धितो राखेर पैसा निकाल्ने आदिम बैंकिङ प्रणालीको विकासकर्ता यिनै समुदाय हुन्। ठूलाठूला पहाडहरूको बीच, अल्लो र पल्लो डाँडामा नगरामा खुट हानेर आदिम सञ्चार प्रविधिको विकास गरे। घरगाउँमा विशेष महत्वपूर्ण उर्दीपुर्र्दी, सूचना, जानकारी, झारा विकासनिर्माण आदिको सूचना प्रवाहका लागि हाँको र घोक हालेर कटुवाल आदिम सञ्चारकर्मी यिनै समुदायको देन हो।

विगतको पुर्ख्यौली त्यो मान, शान, वैभवशाली–गौरवपूर्ण विरासत र आडभरोसा आज एकादेशको कथाजस्तो बनेर थन्किएको छ। उनीहरूको सबै पुख्र्यौली ज्ञानपरम्परा र आदिवासी आनुवंशिक ज्ञानलाई आधुनिकताले खप्लक्कै खाइदिइसकेको छ। सम्बन्धित समुदायसँग पुँजी, प्रविधि र पहुँच छैन। त्यसैले आज ज्ञानसीप भएका सबै समुदायका सदस्यहरू ज्यालामजदुरी गर्न बाध्य छन्। यातायात मजदुर, सवारीचालक र खाडीमा श्रम बेच्न विवश छन्।

शिल्पी समुदाय–सुन बोकेर नुन खोज्दै : तर जोसँग ज्ञानसीप नभए तापनि पुँजी, प्रविधि र पहुँचले मालिक भएका छन्। यस्तो ज्ञानमहासागर समुदायलाई सरकारले आजसम्म नजरअन्दाज गरिरहेको परिणामस्वरूप मुलुक आर्थिक संकटमा फसेको छ। सिंगो राष्ट्र र समाजका लागि यति गुणिलो चालक शक्ति समुदायले उल्टै पाइला–पाइलामा विभेद, अपमान र तिरष्कार खेपेर बाँच्नु परेको छ।

राज्यको अभिलेखित विभिन्न भ्रष्टाचार र अपराधका ग्राफ र आँकडाहरूलाई हेर्दा यी समुदायहरूको संलग्नता नगन्य देखिन्छ। किनकि परिश्रम, मेहनत र पसिना बगाउने समुदाय भएकोले त्यतातिर दिमाग लगाउन र खुराफाती गर्ने समय नै हुँदैन। तर गम्भीर भ्रष्टाचार र अपराध गरेजस्तो अनाहकमा आजसम्म सामाजिक विभेद र छुवाछूतले असह्य दण्ड भोग्न बाध्य छन्। यो समुदायको आत्मसम्मान, समानता र विभेद भोग्नु नपरेको भए पाँच वर्षभित्रमा नेपाललाई युरोपेली मापदण्डको मुलुकमा सजिलै उकाल्न सक्ने क्षमता राख्छन्। आदिमवासी शिल्पी समुदायका हरेक घरपरिवार रोडपतिबाट सजिलै करोडपतिमा उक्लन सक्छन्।

रसातलमा धकेलिएको सभ्यताको मुहान : तर विडम्बना ! सरकारले यसतर्फ ध्यान नदिइएकाले मुलुकको समृद्धि कसरी हुन्छ ? विशेषगरी राजनीतिक दलहरू र कर्मचारीवृत्तमा समुदायप्रति परम्परागत यथास्थितिवादी मानसिकता बाधक देखिन्छ। यदि सरकारले बेलैमा लगानी गरिदिएको भए शिल्पकला, संस्कृति, सम्पदा र सभ्यताका मूलाधार समुदायका हरेक घरपरिवारको आर्थिक, सामाजिक–सांस्कृतिक र शैक्षिकस्तर निकैमाथि उठिसक्ने थियो।

त्यसैले नेपालको भाषा, साहित्य, संस्कृति एवं सभ्यताका मुहान आदिमवासी शिल्पी समुदाय आज उठ्नै नसक्नेगरी रसातलमा धकेलिएका छन्। उनीहरूलाई उठाउन छुट्टै विशेष नीति, योजनाको निर्माण, पर्याप्त बजेटको व्यवस्था, स्पष्ट मार्गचित्र, निष्पक्ष, पारदर्शी, दूरदर्शी नेतृत्वको खाँचो छ। यस्तो समृद्धिका आधार अनादिवासी–मूलवासी शिल्पी समुदायमाथि सरकारले लगानी किन नगर्ने ? 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.