बाकु : समुद्रभन्दा होचो सहर

बाकु : समुद्रभन्दा होचो सहर

बाकु। डिसेम्बर महिनाको १ तारिख। बेलुकीको ५ बजे बाकु सहरको अली हैदर अन्तर्राष्ट्रिय विमानस्थलमा विमानबाट ओर्लिएर बाहिरिँदै गर्दा म उभिएको जमिनबाट अलिक माथि चियाउन मन लागेको थियो। कतै मेरो उचाइभन्दा माथि नै पो त्यो क्यास्पियन सागरको पानी छचल्किएको छ कि !

समुद्री सतहबाट २८ मिटर तलको होचो सहर, बाकु। म समुन्द्रभन्दा पनि होचो सहरमा उभिएको थिएँ। कुनै दिन छेउकै क्यास्पियन सागर घोप्टिएर सहरमा पोखियो भने त्यो सहरको हालत के हो होला ? सहर माथिको सागरको छालहरूका बाछिट्टाले निथ्रुक्क भिजाउने पो हो कि ? अजरबैजानको बाकु सहर पुग्नुअघि मनमा यस्तै कौतुहल थियो। 

मन रोमाञ्चित थियो।

यो सहर समुद्री सतहभन्दा तल रहेको विश्वको सबैभन्दा ठूलो सहर पनि हो। एयरपोर्टबाट बाहिर निस्किएर हामी सार्वजनिक बस चढेर २८ मे स्टेसनतर्फ लाग्यौं। ठाउँको नाम पनि २८ मे। २८ मे १९१८ मा अजरबैजान लोकतान्त्रिक गणतन्त्रको राष्ट्रिय परिषद्ले स्वतन्त्रताको घोषणापत्रमा हस्ताक्षर गरेर विश्वलाई अजरबैजानको स्वतन्त्रता घोषणा गरेको दिन हो। यही दिनको सम्झनामा ठाउँको नाम पनि २८ मे रहेछ। 

तर यो मितिमा पनि कस्तो संयोग परेछ। नेपालमा संविधानसभाको पहिलो बैठकले शाह राजाहरूको २४० वर्षे शासनकालको अन्त्य गरी नेपाललाई गणतन्त्र घोषणा गरेको मिति २८ मे, २००८। गणतन्त्रको स्थापनाले लगभग एक दशकसम्म चलेको गृहयुद्धको अन्त्य गर्‍यो। यद्यपि नेपालमा भने कुनै ठाउँको नाम २८ मे नामकरण भएको सुनिएको छैन।

अजरबैजान पश्चिम एसिया र पूर्वी युरोपको सीमामा अवस्थित एक अन्तरमहाद्विपीय र भूपरिवेष्ठित देश हो। यो युरेसियाको दक्षिण काकेसस क्षेत्रको एक भाग हो र पूर्वमा क्यास्पियन सागर, उत्तरमा रुसको गणतन्त्र दागेस्तान, उत्तरपश्चिममा जर्जिया, पश्चिममा आर्मेनिया र टर्की र दक्षिणमा इरानले घेरिएको छ। बाकु राजधानी र सबैभन्दा ठूलो सहर हो। यो पश्चिम एसिया र पूर्वी युरोपमा फैलिएको छ। क्षेत्रफलमा नेपाल भन्दा आधाभन्दा थोरै धेरै अर्थात् झन्डै ८६ हजार बर्ग किलोमिटर। यो क्षेत्रफलभित्र एक करोड मानिसहरू बसोबास गर्ने। अजरबैजानको भूमि सीमाहरूको २,६४८ किमि छ, जसमध्ये १,००७ किमि आर्मेनियासँग छ। करिब ४५६ किमि क्यास्पियन सागरसँग जोडिएको छ।

काकेसस र टालिस पर्वतले देशको ४० प्रतिशत भूभाग ओगटेको छ। सबैभन्दा अग्लो बजारदजु पर्वतको उचाइ ४,४६६ छ भने सबैभन्दा तल्लो बिन्दु क्यास्पियन सागर भन्दा ९२८० मिटर गहिरो छ।

बाकुनजिकै अवस्थित गोबुस्तान राष्ट्रिय निकुञ्जमा रहेको माटोको ज्वालामुखी अजरबैजानको एक आकर्षक प्राकृतिक आश्चर्य हो। यो पार्क लगभग ३०० माटोको ज्वालामुखीहरूको घर हो जसले फरक संसारको परिदृश्य सिर्जना गर्दछ। यो अद्वितीय भौगोलिक घटनालाई नियाल्न प्रत्येक वर्ष हजारौं पर्यटकहरू आउने गर्दछन्। पृथ्वीमा रहेका सबै माटोको ज्वालामुखीमध्ये झन्डै आधा अजरबैजानमा केन्द्रित छन्। यी ज्वालामुखीहरू प्रकृतिका नयाँ ७ आश्चर्यका लागि मनोनीत भएका थिए।

यस्तै अर्काे प्रसिद्ध ठाउँ हो फ्लेम टावर। फ्लेम टावरहरू बाकुमा अवस्थित गगनचुम्बी भवनहरूको त्रिकोण हो। तिनीहरू सहरका सबैभन्दा चिनिने स्थलचिह्नमध्ये एक हुन् र अद्वितीय आकर्षक डिजाइनले तिनलाई लोकप्रिय बनाएको छ। तीनवटा टावरहरू प्रत्येक १८० मिटरभन्दा अग्ला छन् र आगोको गतिलाई जगाउने घुमाउरो र आकारहरूसहित ज्वालाजस्तै बनाइएका छन्। टावरहरू एलईडी स्क्रिनहरूले ढाकिएका छन् जसले अजरबैजानी झण्डाको रङहरू र भवनहरूलाई घेरेको जस्तो देखिने चलिरहेको ज्वालाहरूसहित विभिन्न छवि र ढाँचा प्रदर्शन गर्न सक्छन्। फ्लेम टावरहरू आधुनिक बाकुको प्रतीक बनेका छन्। 

बाकुमा हैदर अलियेभ केन्द्र नाम गरेको एक सांस्कृतिक केन्द्र र संग्रहालय पनि छ। यो प्रसिद्ध वास्तुकार जाहा हदिदद्वारा डिजाइन गरिएको थियो र २०१२ मा खोलिएको थियो। बाकु सहरभित्र एउटा पुरानो सहर पनि छ। ‘इचेरिसेहेर’ अर्थात् नामै पुरानो सहर भनेर भनिन्छ। यो अजरबैजानको राजधानी बाकुको ऐतिहासिक केन्द्र हो। यो सहरको सबैभन्दा पुरानो र राम्रोसँग संरक्षित भागहरूमध्ये एक हो र यसलाई युनेस्कोको विश्व सम्पदा स्थलको रूपमा तोकिएको छ।

युरेसियाको मुटुमा रहेको अजरबैजानको अर्थतन्त्र मुख्यतया पेट्रोलियम र प्राकृतिक ग्याँसले धानेको छ। जसले निर्यात राजस्वको ९० प्रतिशतभन्दा बढी र राज्यको बजेटको लगभग आधा हिस्सा ओगटेको छ। रुसीहरूले सन् १८३७ मा बालाक्सानीमा पहिलो तेल डिस्टिलिङ कारखाना बनाए। बाकुमा तेल ड्रिल गर्ने पहिलो व्यक्ति आर्मेनियाई इभान मिजोएभ थिए जसलाई ‘बाकुको तेल उद्योगको संस्थापक पिता’ भनेर पनि चिनिन्छ।

सन् १८४० को दशकमा बाकुको बिबी हेबत उपनगरमा पहिलो पटक तेलको इनार खन्ने काम सुरु भएको थियो। ठूलो मात्रामा तेल अन्वेषण १८७२ मा सुरु भयो। सन् १८८० को प्रारम्भमा बाकु सहर विकसित बन्दै गयो। तेल खानी पत्ता लागेपछि धनी बासिन्दाहरूले सहरको केन्द्रमा बसोबास गर्ने छनोट गरे। जहाँ तेल निकासी र रिफाइनरी निषेध गरिएको थियो। तर कारखाना र तेल प्रशोधन केन्द्रहरूबाट निस्कने कालो धुवाँ र कालोका कारण यो क्षेत्र ब्ल्याक सिटी अर्थात् कालो सहर भनेर चिनिन थाल्यो।

अजरबैजान १९९१ अक्टोबर १८ मा तत्कालीन सोभियत संघबाट अलग भयो। आज पनि हरेक वर्ष अक्टोबर १८ मा स्वतन्त्रता दिवस मनाइन्छ। अजरबैजान एक एकात्मक अर्ध राष्ट्रपति गणतन्त्र हो। यो ६ वटा स्वतन्त्र टर्किक राज्यमध्ये एक हो र टर्किक राज्यहरूको संगठन र तुर्कसोय समुदायको सक्रिय सदस्य हो। अजरबैजानको १८२ देशहरूसँग कूटनीतिक सम्बन्ध छ र ३८ अन्तर्राष्ट्रिय संगठनहरूमा सदस्य रहेको छ। अजरबैजान र नेपालबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध २८ फेब्रुअरी १९९५ मा स्थापित भएको हो।

देशको जनसंख्याको ९७ प्रतिशत मुस्लिम धर्मावलम्बी छन्। तर अजरबैजानको संविधानले आधिकारिक धर्म मान्दैन अर्थात् यो एउटा धर्मनिरपेक्ष राष्ट्र हो। यो देशका सबै प्रमुख राजनीतिक शक्तिहरू धर्मनिरपेक्ष छन्। ९७ प्रतिशत धर्मावलम्बी मुस्लिम भएर पनि धर्मनिरपेक्ष हुनु अनौठो लाग्यो। सहरभरि कोही पनि महिलाले कालो बुर्का र पुरुषले सेतो थव्ब लगाएको देखिएन। यो एक विकासशील देश हो र मानव विकास सूचकांकमा ८९औं स्थानमा छ।

परम्परागत रूपमा मनाइने नौरोजजस्ता उत्सवहरूमा भेडाका विभिन्न परिकार पनि सामान्यतया खाइन्छ। मासुका परिकारहरू र डोल्माका रूपहरू पनि नियमित रूपमा खाइन्छ। विशेषगरी विशेष अवसरहरूमा, स्थानीय कुखुरा, टर्की, हाँस, बटेर र तितरको मासु पनि पकाएर खाइन्छ। मानिसहरू असाध्यै मिजासिला। पर्यटकलाई माया गर्ने। सहयोगी। 

नेपालकै खस आर्यजस्ता देखिने आजकलका केटाकेटीहरू गोरा र सुन्दर लाग्ने।

पछिल्ला दिनहरूमा अजरबैजानले पर्यटनलाई विशेष जोड दिँदै आएको छ। गत वर्षको नोभेम्बरमा मात्र यसले सफलतापूर्वक कोप २९ सम्मेलन आयोजना गर्‍यो। सन् १९९३ देखि सत्तामा रहेको सत्तारूढ न्यु अजरबैजान पार्टीले राष्ट्रपति हेदर अलिएभ र उनका छोरा इल्हाम अलिएभको नेतृत्वमा अजरबैजानको सत्ता निरन्तर चलिरहेको छ।

हामी लगातर तीन दिन ग्रेटर काकेसस पर्वत शृंखलाको एक पर्वत शिखर ‘शहदाघ’ पहाडमा बस्यौं। बाकु सहरबाट झन्डै ४ सय किलोमिटर टाढा रहेको अजरबैजानको कुसार जिल्लामा रूसको सिमानाको नजिक अवस्थित छ यो सहर। यो चुचुरोको उचाइ समुद्र सतहबाट ४,२४३ मिटर रहेको छ भने। जाडोमा यसको तापक्रम माइनस २० डिग्रीसम्म हुने गरेको छ। हामी जाँदा भने भरखर हिउँ पर्न सुरु गरेको थियो। तापक्रम माइनस ४ सम्म पुगेको थियो। हिउँ पर्ने अग्ला हिमाली क्षेत्रमा बनेको फराकिला सडकले जो कसैको मन लोभ्याउने।

पहाडहरूमा हिउँले ढपक्कै छोपेका भव्य आधुनिक तारेहोटलहरूको आतिथ्यताले झनै भुतुक्कै हुने। हिउँले ढाक्दा यी तारेहोटलहरू ‘इग्ल’जस्तो देखिने रहेछ। नेपालका हिमालहरूमा पनि यस्तै फराकिला बाटाहरू र पर्यटक लोभ्याउने भव्य तारेहोटलहरू भए वर्षमा २०–३० लाख पर्यटक भिœयाउन गाह्रो हुन्थेन। खाडीमा काम गर्ने ८०५ प्रतिशत विदेशी कामदारहरू छुट्टी मनाउन नेपाल खोजीखोजी आउने थिए।

सानो देश अजरबैजानमा सन् २०२४ मा २५ लाख पर्यटकहरू भित्रिए। यहाँ आउने पर्यटकहरूमा सबैभन्दा धेरै रसियन छन्। अर्थात् करिब २८ प्रतिशत रसियनहरू यो देश घुम्न आए। टर्कीबाट १६ प्रतिशत, भारतबाट ९ प्रतिशत, इरानबाट ८ प्रतिशत र जर्जियाबाट ४ प्रतिशत पर्यटकहरूले अजरबैजान भ्रमण गरे। यस्तै साउदी अरेबियाबाट ४ प्रतिशत, काजाकिस्तानबाट ३ प्रतिशत र पाकिस्तानबाट ३ प्रतिशत आएका थिए। चीन, उज्बेकिस्तान, यूएई, युक्रेन, तुर्कमेनिस्तान, कुबेत र इजरायलबाट पनि प्रशस्त पर्यटक आए। २०२४ मा मात्र १९५ देशका नागरिकले अजरबैजानको भ्रमण गरे।

हामी शहदाघ पहाडमा बस्दा भारतीय पर्यटकहरूले होटल भरिभराउ थिए। तीमध्ये अधिकांश खाडीमा कार्यरत कामदारहरू हिउँ खेल्नै भनेर छुट्टी मनाउन गएका हुन्। दुबईबाट ३ घण्टाको हवाई यात्रामा पुगिने यो ठाउँमा जाने पर्यटकलाई झन्डै उस्तै दूरीको नेपालको नाम्चे र अबिसी बेस क्याम्पको हिउँमा लगेर नचाउन पाए कस्तो हुने थियो होला ? मनमनै कुरा खेलिरहन्थ्यो।

एकजना स्थानीय पर्यटन व्यवसायी भन्दै थिए, ‘केही महिनाअघिबाट सरकारले नेपालीहरूलाई पर्यटक भिसामा अजरबैजान आउन बन्द गरेको छ। किनकि दलालहरूले युरोप र अमेरिका लैजाने भन्दै बाकुमा धेरै नेपालीलाई यहाँ ल्याएर अलपत्र पारे’। दलालहरूले मानव तस्करी गर्न विश्वका कुनै देश नछोड्ने रहेछन्।

सन् १९७० मा बनेको बाकुको रेलसेवाले अहिले पनि उस्तै गुणस्तरीय सेवा प्रदान गरिरहेको छ। बाकु मेट्रोको स्थापना सन् १९६७ मा भएको हो। २०१५ मा यसले २२ करोड २० लाख यात्रु बोकेको थियो। दैनिक औसत ६ लाख यात्रुलाई सेवा दिइरहेको छ। बाकुमा रहेको पुरानो मेट्रो चढ्ने खुब धोको थियो। हामी २८ मे बाट चढेर एअरपोर्ट नजिकैको जोरोग्लु मेट्रो स्टेसनसम्म चढेर धोको पूरा गर्‍यौं। जोरोग्लु मेट्रो बाहिएर भने रत्नपार्क जस्तै लाग्ने। ट्याक्सी ड्राइभरहरू लस्करै बसेका। आफ्नो ट्याक्सीमा बसेर यात्रा गर्न जोडबल गर्ने। तर नेपालको जस्तो झोला नै तान्न नखोज्ने। भाडामा नठग्ने। सरकारले तोकेको रेटभन्दा १ रुपैयाँ पनि बढी नलिने। बाटो हराइयो भनेर डराउने नपर्ने। कसैलाई सोधेमा जसले पनि भनिदिने। सहयोगी। अँ, भाषामा भने थोरै समस्या हुने। अंग्रेजी धेरै नबुझ्ने।

बाकुका सबै मलहरू मनिसहरूले भरिभराउ। खुट्टा टेक्ने ठाउँ पनि नहुने। मलमा खुलेका रेस्टुरेन्टहरूमा बस्ने कुर्सी नपाउने। तर टेन्सन छैन, तपाईंले कतै एउटा कुर्सीमात्र पनि खाली देख्नु भए तानेर टेबल सेयर गर्न सक्नुहुन्छ। आपसमा नचिनेकाहरू पनि एउटै टेबलमा बसेर खाइरहेका हुन्छन्। बसेपछि अलिकति खान्छस् ? भनेर सोध्ने, बस्नेले होस् खन्न भन्ने। चलन नै यस्तै छ।

फर्कने अघिल्लो रातको बसाइँमा भुगरले हामीसँगै भलाकुसारी गरे। घरबाट आमाले आफ्नै हातले बनाएको भन्दै स्थानीय खाना खुवाए। उनलाई दिने हामीसँग भने केही थिएन। भुगरले पैसा लिन मानेनन्। शहदाघ पहाडबाट ल्याएको केही केजी रातो आलु दिएर पठायौं। बाकुको बिचमा रहेको एउटा होटलको ११औं तलाको झ्यालबाट तलतिर चिहाउँदा भव्य सहरभित्र रहेको एउटा झुपडी बस्तीले मेरो ध्यान खिच्यो। मैले एक एक गरेर झुपडी घरहरू गणना गरें। 

वरिपरिबाट पर्खाल लगाइएको करिब ५०० झुपडी रहेको यो बस्तीमा ‘मिखाइल भुगर’ आजभन्दा ४० वर्षअघि जन्मेका रहेछन्। उनी यही हुर्के, पढे र अहिले पनि ट्याक्सी चलाएर यहीँ जीवनयापन गरिरहेका छन्। उनको घर र संसार पनि त्यही झुपडी बस्ती हो। यति भव्य सहरमा किन यस्तो झुपडी ? त्यो पनि सहरको मध्यभागमा ? कौतुहल जाग्यो। झुपडी बस्तीमा भेटिएका भुगरलाई सोधेँ, यो देशमा पनि झुपडीमा बस्ने गरीब जनतालाई सरकारले हेर्दैन ? अलिक राम्रो घर बनाएर राख्दैन ?

भुगरले भने, सहरमा अरू केही झुपडी बस्ती पनि थिए। ती बस्तीहरूमा हजारौं नागरिक बसोबास गर्थे। तीमध्ये अब बचेको बस्ती यही मात्र हो। बाँकी सुकुम्बासी बस्तीका नागरिकलाई सरकारले खुसी बनाएर राम्रो घर बनाएर स्थानान्तरण गरिसक्यो।

अनि यो बस्ती चाहिँ किन सरेन ? भुगरले भने, झुपडी बस्तीका नागरिकसँग नगरपिताको पटक पटक वार्ता भएका छन्। नगरपिताले आफ्ना नागरिकलाई चित्त दुखाएर जबर्जस्ती गरेर नहटाउने भनेका छन्। बसोबासको वैकल्पिक व्यवस्थाको खोजी भइरहेको उनको भनाइ थियो।

भुगरले यसो भन्दै गर्दा हाम्रो देशको सुकुम्बासी बस्तीमा डोजर चलेको झल्झल्ती याद आयो। यद्यपि नेपालमा सुकुम्बासीको नाममा ढुकुम्बासी रहेको आरोप लाग्ने गरेको छ। शासकहरूको शासनको आआफ्नै तरिका होला भनेर चित्त बुझाउन सकिन। भुगरले भनेअनुसार २८ मे रहेको यो सुकुम्बासी बस्ती भने सयौं वर्ष अगाडिदेखि बसेको हो। सुकुम्बासी बस्तीमा डोजर नचलाउने नगरपिता एल्डर अजिजसँग भेट्ने मेरो धोको भने अपूरै रह्यो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.