के दलाई लामामाथि सुरक्षा खतरा बढेको हो?
काठमाडौं : तिब्बती धर्मगुरु दलाई लामालाई भारत सरकारले 'जेड' श्रेणीको सुरक्षा प्रदान गरेको छ। दलाई लामालाई ज्यान मार्ने धम्की आएको भन्दै भारतको गृह मन्त्रालयले जेड श्रेणीको सुरक्षा दिएको हो। लामालाई एक व्यक्तिले धम्की दिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
इन्डिया टुडेका अनुसार लामालाई तिब्बती मूलका अष्ट्रेलियन नागरिक सिंगेले हत्या गर्ने धम्की दिएका हुन्। उनले फेसबुकमार्फत दलाई लामाको हत्या गर्न आह्वान गरेको बताइएको छ। भारतको गुप्तचर संस्था आइबीले दलाई लामालाई सुरक्षा खतरा रहेको भन्दै गृह मन्त्रालयलाई रिपोर्ट गरेको एजेन्सीहरूको भनाइ छ। आइबीको सिफारिसअनुसार नै लामालाई जेड श्रेणीको सुरक्षा प्रदान गरिएको हो।
दलाई लामा बस्दै आएको हिमान्चल प्रदेशको धर्मशालामा अहिले ३३ जना सुरक्षाकर्मीहरू खटिएका छन्। जसमा उनका निजी गार्डहरू पनि रहेका छन्। दलाई लामाको सुरक्षामा कमान्डोहरू पनि खटिएको छ। 'इन्टेलिजेन्स ब्यूरोले दिएको खतरा मूल्यांकन रिपोर्टका आधारमा दलाई लामाको सुरक्षा स्तरोन्नति गरिएको हो,' स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेले लेखेको छ।
८९ वर्षीय दलाई लामा सन् १९५९ देखि भारतमा निर्वासन जीवन बिताउँदै आएका छन्। उनी १४ औं दलाई लामा हुन्। तिब्बत छाड्दा दलाई लामासँगै लाखौं शरणार्थीहरू भारत आएको बताइन्छ। जुलाईमा दलाई लामा ९० वर्ष टेक्दैछन्। आफू मर्नुअघि नै तिब्बत फर्किने उनको इच्छा छ।
प्रतिक्रिया दिनुहोस !