पाल्पाको रानीबास होमस्टे पस्कँदै अर्गानिक परिकार
तानसेन : डाँडाको टुप्पोमा समथर भूभाग। चिटिक्क परेका घरहरू। बस्तीबाट तल कालै कालीगण्डकी बगेकी छन्। बस्तीको उत्तरतर्फ लहरे हिमालका दृश्यहरू। जाडोमा बिहानै घामका किरण। घर्मीमा हिमालको चिसो हावा। होटल रेस्टुराको भन्दा फरक स्वाद। स्थानीय उत्पादन कोदो, फाफर, जौ, गहुँ, मकै, आलु, टमाटर, सागपातसहितको परिकार। झार्मे, सालेजो, कौडा, मारुनी, ठूलो नाचको सांगीतिक रमझम।
पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङ्कोट रानीबास होम स्टेमा यति धेरै कुराहरूको अनुभव एकैपटक गर्न पाइन्छ। टिपिकल मगरहरूको मात्र बस्ती रहेको रानीबास घरबास (होम स्टे) मा पुग्ने पाहुनाहरूकै लागि जनजाति संग्रहालय सञ्चालनमा ल्याइएको छ। सदरमुकाम तानसेनबाट करिब ३५ किलोमिटर दूरीमा कालीगण्डकी करिडोर र चिदीपानी, हुमिन, ताहुहुँदै फोक्सिङ्कोट रानीबास होम स्टे पुग्न सकिन्छ।
होम स्टे तथा जनजाति संग्रहालयको प्रचारप्रसार गर्न केही दिन पहिले गाउँपालिकाले होम स्टे स्थलमै कार्यक्रम गरेको छ। होम स्टेमा पुगेका पाहुनाहरूलाई फरक स्वाद दिने हो, फरक प्रकृतिको मनोरञ्जन दिने, प्राकृतिक सुन्दरतामा भुलाउने हो स्थानीय, अर्गानिक परिकारमात्र खुवाउने गरी रानीबास होम स्टे समिति जुटेको स्थानीय दुर्गाबहादुर गाहाले बताए।
‘दुई महिनादेखि हामीले रानीबासमा होम स्टे सञ्चालन गरेका छौं, दिनहुँजसो स्वदेशी तथा विदेशी पर्यटकहरू आउनु भएको छ। गाउँगाउँमा पर्यटकहरू आउँदा हामी सबैमा हौसल्ला बढेको छ, गाउँपालिकाको सहयोगकै कारण होमस्टे सञ्चालन गर्न पाएको छौं,’ घरबासकी सञ्चालिका नर्मती सारुले बताइन्।
स्थानीयवासीदेखि सिंगो होमस्टे औपचारिक रूपमै सुरु भएकोमा खुसी भएका छन्। होमस्टेकै कारण घरघरमा रहेका वृद्धावृद्धादेखि पाका पुस्ताहरू, अब परिवारसँगसँगै बस्न, रमाइलो गर्न पाइने भयो भनी खुसी देखिन्छन्। युवा वर्गहरूमा घरमै बसीबसी पाहुनाको सेवा गरेर आयआर्जन गर्न पाइने भयो भनी आशा जागेको छ। विदेश गएका, गाउँ छाडेका युवाहरूलाई गाउँ फर्काएर होम स्टे अभियानमा लगाउन रानीबास होम स्टे सञ्चालक समितिकी अध्यक्ष देउकुमारी सारुले बताइन्।
फोक्सिङ्कोटका ९३ घरपरिवारमध्ये १४ घरमा सञ्चालन भएको होम स्टेमा ४० जनासम्म पाहुना राख्ने क्षमता रहेको छ। पाहुनाको अवस्था हेरी अन्य घरहरूमा पनि होम स्टे विस्तार गर्ने योजना समितिको रहेको छ। समितिले होम स्टेमा आउने पाहुनाहरूलाई पन्चैबाजासहित फूलमालाले स्वागत गर्ने, चिया खाजा, साँझको खाना, बास तथा स्थानीय मनोरञ्जन र बिहान चिया खाजासहित प्रतिव्यक्ति एक हजार रुपैयाँ मात्र सेवा शुल्क लिने नियम बनाएको होम स्टे सञ्चालक समितिका सचिव वीरबहादुर गुरुङले बताए।
होम स्टेलाई व्यवस्थित रूपमा सञ्चालन गर्न गाउँपालिकाले जनजाति संग्रहालयसहित पाहुनालाई मनोरञ्जन प्रदान गर्न कुडुले घर निर्माण गरेको छ। ग्रामीण पर्यटनको माध्यमबाट बस्तीहरूलाई चलायमान बनाउने, आयआर्जन बढाउने, बसाइँसराइ रोक्ने, रैथानेबाली, परम्परागत संस्कृतिलाई जोगाउने अभियान नै होम स्टे रहेकाले फोक्सिङ्कोट रानीबासमा गाउँपालिकाको पहलमा होम स्टे सञ्चालन गरिएको पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।
ग्रामीण पर्यटनको माध्यमबाट गाउँको विकास बढाउन, गाउँबाट बसाइँसराइबाट रोकी चहलपहल बढाउन, गाउँमै कृषि तथा पशु उत्पादन रोजगारी बढाउन, पारिवारिक एकता कायम राख्न, वैदेशिक रोजागारीलाई न्यूनीकरण गर्न, घरमै बसीबसी आयआर्जन गर्न, रानीबास होम स्टे कार्यक्रमले सहयोग पुग्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस !