अभिभावकको साथले फेरिए विद्यालय
रोशन गाउँले क्षेत्री, हरिसुन्दर छुँका, अमृता बुढाथोकी
वालिङको हिमशिखर आधारभूत विद्यालयमा बिहानी प्रार्थनापछि जब शिक्षक र विद्यार्थी कक्षा कोठा छिर्छन्, विद्यालयमा टुप्लुक्क पुग्छन्– अभिभावक। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खाँण प्रधानाध्यापक मित्रलाल अधिकारीको पछि लागे र त्यस दिन कक्षामा अनुपस्थित रहेका शिक्षकबारे जानकारी लिए।
‘आज कोही पनि शिक्षक अनुपस्थित छैनन्, एकजना शिक्षक तालिमका लागि नगरपालिकामा जानु भएको छ,’ प्रधानाध्यापक खनालले भने।
‘अनि उहाँको सट्टामा कसले कक्षा लिनुहुन्छ त सर ?’ अभिभावक खाँणले फेरि सोधे। खनालको जवाफ थियो, ‘हामीले खाली रहेका शिक्षकलाई सट्टामा कक्षा कभर गर्नेगरी मिलाएका छौं।’
हिमशिखर आधारभूत विद्यालयको स्थापना नै रोचक ढंगले भएको हो। वि.सं. २०६२ सालमा स्थानीय हिमशिखर युवा क्लबका पदाधिकारी र स्थानीयबीच मन्दिर बनाउने कि विद्यालय भन्ने विवाद भएछ। अन्ततः विद्यालय बनाउनेहरूकै मत धेरै भएछ र यो विद्यालय खुल्यो। कार्यालय कक्षमा विद्यालय राम्रो बनाउने सूत्र, विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार, शिक्षक अभिभावक संघको कर्तव्य तथा अधिकारको विवरण, उत्कृष्ट शिक्षकका आधारहरूको विवरणलगायत टाँसिएका छन्। कक्षाकोठामा भने कक्षाकोठाका नियमहरू छन्।
आधारभूत भए पनि वालिङ नगरपालिकाकै राम्रो विद्यालयमा चिनिएको छ, हिमशिखर आधारभूत विद्यालय। त्यो साख गिर्न नदिएर शैक्षिक सुधार गर्दै गुणस्तरीय सिकाइ बढाउन आफूहरू लागिपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खाँण बताउँछन्। खाँणले अभिभावकको विश्वास यसरी जितेका छन् कि उनी चौथो कार्यकालका लागि विव्यस अध्यक्षमा चुनिएर काम गरिरहेका छन्। निरन्तर निर्विरोध भएका खाँण भन्छन्, ‘जिम्मेवारी वहन गर्न दुःखै हुन्छ। भन्दा त अध्यक्ष भन्छन्। तर धेरै ठाउँमा चुनाव पनि भएको देखिन्छ। तर यहाँ मलाई चौथो कार्यकाल निर्विरोध दिनुभएको छ।’
वालिङको हिमशिखर आधारभूत विद्यालयमा गठन गरिएको अभिभावक शिक्षक संघ अध्यक्ष हुन्, पम्फा पौडेल। उनले अभिभावकहरूलाई जुटाएर विद्यालयको राम्रो अभ्यासको बारेमा छलफल गर्ने गरेकी छिन्। बालबालिकाको पठनपाठनबारे महिनैपिच्छे छलफल गर्ने सो विद्यालयमा नियमित रूपमा सामजिक परीक्षण हुने गरेको उनी बताउँछिन्।
विद्यालयका संस्थापक अध्यक्ष मेघनाथ पौडेल यो साबिक पश्चिमाञ्चलकै अंग्रेजी माध्यममा पढाउने पहिलो विद्यालय भएको स्मरण गर्छन्। ‘शैक्षिक गुणस्तर स्थापित गर्नैका लागि खोलिएको शिक्षालाई समुदायबाटै साथ छ। समितिसँगै कुुनै महŒवपूर्ण निर्णय गर्नुपरे हामी गाउँ टोल नै बोलाउँछौं। समितिले मात्र निर्णय गर्दैन,’ उनले भने।
पालिकाले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा शिक्षकको पेसागत विकासका लागि विभिन्न तालिमहरू सञ्चालन गर्यो। तालिम मात्रै दिएन तालिम कक्षाकोठामा पुगे नपुगेकोबारे नियमित कक्षा अवलोकन, मूल्यांकन र सुझाव दिने संयन्त्र नै विकास गर्यो। शिक्षकहरूको समूह बनाएर नियमित छलफल र सिकाइ आदानप्रदान गर्ने कुराको थालनी भयो। यसले शिक्षकलाई सक्रिय र जागरुक बनाएको छ।
हिमशिखर आधारभूत विद्यालयका प्रधानाध्यापक मित्रलाल अधिकारी नगरपालिकाबाट शिक्षकले निरन्तर पेसागत विकासको अवसर पाउन थालेपछि विद्यालयको सिकाइ र सुशासनमा धेरै सुधार आएको बताउँछन्। पालिकाले शिक्षकको मात्रै होइन, प्रअ र विद्यालय व्यवस्थापन समितिको क्षमता विकासमा समेत तालिमको व्यवस्था गरेको छ। तालिमपछि नै आफूले नियमित कक्षा अवलोकन गर्दै शिक्षकलाई फिडब्याक दिन थालेको उनी बताउँछन्। त्यस्तै, विव्यस तालिमपछि विद्यालयको सुधार योजना पनि राम्रो बन्ने र कार्यान्वयन पनि प्रभावकारी हुन थालेको उनको अनुभव छ।
प्रधानाध्यापक नै जब शिक्षकसँगै कक्षाकोठा छिर्छन् !
कावासोती नगरपालिकाले प्रधानाध्यापकलाई अनिवार्य कक्षाकोठा अवलोकनमा जोड्ने गरेको छ। प्रअले हप्तामा चार वटा कक्षा अवलोकन गर्नैपर्ने व्यवस्था लागू गरिएको छ। अवलोकनका लागि अवलोकन हुँदैन। अवलोकनपश्चात् शिक्षकलाई सुझाव दिएको फारम अनिवार्य पालिकामा बुझाउनु पर्छ। आफूले हप्तामा कम्तीमा चारवटा कक्षाको अनिवार्य अवलोकन गर्ने गरेको त्रिभुवन बालमाविका प्रअ घिमिरे बताउँछन्। ‘पहिले सामान्य झ्यालबाट हेर्ने, ढोकाबाट हेर्ने गरिन्थ्यो’, अचेल ४० मिनेट नै कक्षामा बस्छु, घिमिरेले भने। ‘अहिले कक्षा मेन्टरिङको चारपाने फारम छ, सोहीअनुसार कक्षा अवलोकन गर्ने गरेको छु।’ विद्यार्थीलाई प्रयोग गर्ने भाषा, सिकाइ सामग्रीको प्रयोग, शिक्षण विधि, सक्षमता र सूचकप्रति ध्यान, शिक्षकका क्रियाकलाप आदिका आधारमा कक्षा अवलोकन गर्ने गरिएको छ। कक्षा अवलोकनले विद्यालयमा धेरै सुधार गरेको प्रअ घिमिरको भनाइ छ।
शिक्षकहरूको पर्फर्मेन्स कस्तो छ भनेर विद्यार्थीले भोटिङ पनि गर्ने गरेको प्रअ घिमिरे बताउँछन्। उत्कृष्ट शिक्षक छान्न विद्यार्थी भोटिङमा २० अंक, चरित्र, पोसाक, नियमिततामा १० अंक, सिकाइ उपलब्धिमा ५ अंक, प्रअको मूल्यांकन मा १० अंक र कम बिदा लिएर तथा अतिरिक्त समय दिएर शिक्षण गरेमा १० अंक दिएर उत्कृष्ट शिक्षक छनोट हुने गरेको छ। यसै विधिमा तहगत उत्कृष्ट शिक्षक, विद्यालयको वर्ष शिक्षक छनोट गरी पुरस्कृत गर्ने गरिएको प्रअ घिमिरेको भनाइ छ।
कावासोती नगरपालिकाले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा पालिकाभरका प्रअ र सहायक प्रअलाई विशेष तालिमको व्यवस्था गरेको थियो। सोही तालिम पाएपछि आफूले कक्षा अनुगमन, पारदर्शिता र सिकाइ सुधारबारे विशेष पहल थालेको प्रअ घिमिरेको भनाइ छ। तीन वर्षयता विद्यालयको सिकाइ उपलब्धिमा पनि बढोत्तरी भइरहेको उनी बताउँछन्।
त्रिभुवन बालमावि ढोकीले कमजोर विद्यार्थीको घरमा प्रअ कार्यक्रम पनि लागू गरेको छ। कमजोर विद्यार्थीको घरघरमा पुगेर प्रअले विद्यार्थी र अभिभावकसँग छलफल गर्ने, सुझाव दिने, विद्यार्थीको घरको सिकाइ क्रियाकलापबारे बुझ्ने गर्छन्। विद्यार्थीका लागि छुट्टै सिकाइ तालिका बनाइएको छ। सोहीअनुसार घरमा पनि विद्यार्थीले सिकाइ क्रियाकलाप गर्नुपर्छ। सो अनुसारको गतिविधि भए÷नभएको प्रअ घरमै पुगेर अवलोकन गर्ने गरेका छन्।
अभिभावक पदम मोक्तान प्रअ नै घरघरमा आएर विद्यार्थीको सिकाइप्रति चासो दिन थालेको थाहा पाएर आफूले निजी विद्यालयबाट झिकेर छोरालाई त्रिभुवन बाल माविमा भर्ना गरेको सुनाउँछन्। विद्यालयले नियमित अभिभावक भेला गर्ने, फोन गरेर विद्यार्थीको सिकाइबारे चासो राख्ने गरेको छ। विद्यालयका हरेक क्रियाकलापबारे जानकारी दिने गरिएको प्रअ मोक्तानको भनाइ छ। फेरिएका विद्यालय पाल्पाको माथागढी— १ चिदीपानीमा २०३० सालमा खुलेको हो, ज्ञानोदय आधारभूत विद्यालय। तर, विद्यार्थी घट्दै जाँदा शैक्षिक सत्र २०७७ मा आइपुग्दा विद्यालय बन्द हुने अवस्थामा पुग्यो। गाउँबाट बसाइँ सर्ने क्रम बढ्नु एउटा कारण थियो भने अर्को, विद्यालयको शैक्षिक गुणस्तर सन्तोषजनक थिएन। बर्सेनि विद्यार्थी घटेपछि स्थानीय सरकारले सो विद्यालय अर्कोमा गाभ्ने प्रक्रिया नै अघि बढाइसकेको थियो। तर, विद्यालयका शिक्षक र वडा जनप्रतिनिधिहरूले सुधारको विश्वास दिलाएपछि अहिले विद्यालयमा विद्यार्थी र विश्वास दुबै फर्किएको छ।
माथागढी सहकारी संस्थासँग समन्वय गरेर विद्यालयको लागि सहकारीकै भवन प्रयोग गरेर विद्यालय सञ्चालनमा गर्दै आएको प्रधानाध्यापक विजयदीप पन्थी बताउँछन्। ‘अभिभावकको मागलाई ख्याल गर्दै विद्यालयले २०७८ साउनदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्यो,’ उनी भन्छन्, ‘अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको रचनात्मक सहयोगका कारण विद्यालयले विस्तारै अभिभावकको विश्वास जित्यो। अहिले विद्यालयमा २ सय १६ जना विद्यार्थी पुगेका छन्।’
विद्यालयमा शिक्षक अभाव थियो। अभिभावकहरूले मुठ्ठीदान संकलन गरेर निजी स्रोतबाट दुई जना शिक्षक नियुक्त गरिएको छ। विद्यार्थीको संख्या बढ्दै गएपछि विद्यालयले गत वर्ष कक्षा ६ र यो वर्षदेखि कक्षा ७ सञ्चालनको अनुमति पाएको छ।
अभिभावक संघका अध्यक्ष ताराबहादुर विक विद्यालय सुधारका लागि नियमितजसो विद्यालयमा आउँछन्। उनले विद्यालयको सुधार योजना बनाउनेमात्र होइन, अध्ययन अनुगमनसमेत गर्ने गरेका छन्। बच्चाले कसरी पढिरहेका छन्। बालबालिकालाई शिक्षकले कस्तो व्यवहार गर्छन् ? शिक्षक नभएको समयमा कसरी बच्चालाई हेरचाह गर्ने भनेर अभिभावकहरू विद्यालय जाने गरेका छन्।
अरू विद्यालय बिहान १० बजे खुल्छन् तर ज्ञानोदयमा भने ९.३० मै पढाइ सुरु हुन्छ। लाइन लाग्ने क्रममा प्रश्न सोध्ने र उत्तर मिलाउनेलाई तत्काल पुरस्कार प्रदान गर्ने गरिएको छ। अनुशासनका कुरा घरमा गएर छोराछोरीले नै सिकाउने गरेका छन्। अभिभावक उज्याला विश्वकर्मा विद्यालयको पढाइबाट आफूहरू सन्तुष्ट भएको बताउँछन्। अहिले बालबालिका अंग्रेजीमा बोल्न र लेख्न सक्ने भएका छन्। ‘हाम्रा छोराछोरी नेपालीमा भन्दा राम्रो अंग्रेजीमा बोल्छन्,’ उनले भनिन्, ‘खेल्दै, नाच्दै पढाउन थालेपछि मेरी नानीले घरमा पनि पढ्न थालेकी छिन्।’
माथागढी गाउँपालिकाले बालमैत्री, सिकाइमैत्री र प्रविधिमैत्री विद्यालयको अवधारणअनुरूप विद्यालयलाई आवश्यक सहयोग गर्दै आएको छ। पालिकाबाट विद्यालयमा सुशासन कायम गराउन समय–समयमा अभिभावक भेलाबाहेक विभिन्न समयमा अनुगमन पनि गर्ने गरिएको छ।
पालिकाले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग करार सम्झौता गरेको छ। सम्झौताअनुसार पहिलो वर्षमा शैक्षिक नतिजा कम्तीमा ६० प्रतिशतभन्दा बढी ल्याउनुपर्ने सर्त राखिएको छ। यो उपलब्धि ल्याउन नसक्ने विद्यालयका प्रधानाध्यापकको प्रोत्साहन भत्ता पुनर्विचार गरी कारण सोध्ने भनिएको छ। प्रत्येक कक्षामा ९४ प्रतिशतभन्दा कम विद्यार्थी र वार्षिक ९३ प्रतिशतभन्दा कम दिन शिक्षक उपस्थित भएमा प्रधानाध्यापकको अन्तिम मूल्यांकनमा ५ प्रतिशत अंक घटाउने विधि बनाइएको छ।
माथागढी गाउँपालिकाका विद्यालयमा चालु शैक्षिक वर्षको सुरुमा ५ हजार ६ सय ६२ विद्यार्थी भर्ना थिए। शिक्षा शाखा प्रमुख प्रकाश पाठकका अनुसार विद्यालयमा विद्यार्थी टिकाउदर सन्तोषजनक छ। कक्षा १–५ सम्म ९२ प्रतिशत छ भने कक्षा ५ पूरा गर्ने दर ९८ दशमलव ७ प्रतिशत छ। कक्षा ८ को अन्त्यसम्म टिक्ने बालबालिकाहरू ८५.८ प्रतिशत छन्।
पालिकाले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा शिक्षकको पेसागत विकासका लागि विभिन्न प्रयास थालेपछि पालिकाको समग्र सिकाइ सुधार भएको पाठकको भनाइ छ। प्रभावकारी तालिम र निरन्तरको अनुगमन तथा मूल्यांकनले शिक्षकलाई सक्रिय र उनीहरूको निरन्तर पेसागत विकास गरिरहेको उनको अनुभव छ।
माथागढीको साक्षरता प्रतिशत करिब ७७.५ प्रतिशत रहेको छ। पालिकाभित्र ४१ सामुदायिक र ३ संस्थागत गरी ४४ वटा विद्यालय छन्। गाउँपालिकाले कुल बजेटको करिव ११ प्रतिशत बजेट शिक्षामा विनियोजन गर्ने गरेको छ। तर, अहिले पनि विद्यालय उमेरसमूहका १३ प्रतिशत बालबालिका विद्यालय बाहिर छन्।
शिक्षा पत्रकार समूहले नवलपरासीको कावासोती, स्याङ्जाको वालिङ र पाल्पाको माथगढी पुगेर दुई महिनाअघि स्थलगत अध्ययन गरी तयार पारेको रिपोर्टमा आधारित
प्रतिक्रिया दिनुहोस !