पाल्पाको गाउँगाउँमा परम्परागत फागु नाचको रौनक
तानसेन : परम्परागत मौलिक कला संस्कृतिमा आधारित रहेर पाल्पाका विभिन्न स्थानमा आज होली पर्व मनाइएको छ। सहर बजारमा एक आपसमा अबिर तथा विभिन्न किसिमका रंगहरू लगाउँदै होली खेल्ने गरिए पनि पाल्पाका गाउँघरमा परम्परागत फागु खेलेर होली मनाउने गरिन्छ।
आजकल परम्परागत कला संस्कृति हराउँदै गएको समयमा पाल्पाको रिब्दीकोट, रैनादेवीछहरा र तानसेनको बौघागुम्बा छेरलुंखमा लगायतका स्थानमा परम्परागत फागु खेलेर स्थानीयहरू रमाएका छन्। विगतका समयमा टोलटोलमा फागु खेल्ने प्रचलन भए पनि आजकल मौलिक कला संस्कृति हराउँदै जाँदा बुढापाकाले परम्परा धान्ने काम गरेको पाल्पा छेरलुंखका तारा बरालले बताए।
विगतका समयमा फागु पूर्णिमाको दिन आउनुभन्दा एक हप्ता अगाडिदेखि नै गाउँघर टोल बस्तीमा अबिर, रंग लगाउँदै फागु खेलिन्थ्यो। रामायण, कृष्ण चरित्रका टुक्का गाउँदै, ढोलक, टेम्को, मादल खैजरु, मझुरा बजाउँदै, परम्परागत फागु नाच नाच्ने प्रचलन गाउँघर रमाइलो हुने गर्थ्यो। अहिले पाका पुस्ता जम्मा भएर फागु खेल्ने गरेको तानसेन १३ का मानबहादुर थापाले बताए।
मौलिक कला संस्कृति जोगाउन, युवा पुस्तामा फागु संस्कृति हस्तान्तरण गर्न गाउँवासी नै सक्रिय भएर लागेको रिब्दीकोट-२ माल्मुंखवासी लागेका छन्। गाउँका सबै पक्ष मिलेर फागुमा चाहिने बाजाहरू किनेर घर घरमा फागु खेल्दै रमाइलो गर्दै हिँडेको स्थानीय अगुवा सुशीला गोदारले बताइन्।
भजन तथा चुट्टाको तालमा मादल ढोलक, दमाहा, ट्याङकुली टेम्को साथमा नाच्दै एक आपसमा रंग, अबिर दली रमाइलो गर्दा गाउँगाउँमा फागु पर्वको रौनक बढेको छ। फागु पर्वको मौलिक कला संस्कृतिलाई जीवन्त राख्न पाल्पाका केही स्थानमा सबै जातजाति समुदायको सहभागितामा आआफ्ना भेषभूषा पहिरनमा एक आपसमा रंग अबिर लगाउँदै फागु खेलिएको रिब्दीकोट-२ स्थानीयवासी दीपक कुँवरले बताए।
मौलिक कला संस्कृति राष्ट्रको गहना हो। अहिलेका पाका पुस्ताहरू, बाउबाजेसँग भागीभागी फागु गाउँदै रमाउँदै हिँडेको झलझली सम्झिन्छन् तर बीचको समयमा मौलिक परम्परा फागु नाच संस्कृति हराउँदै गयो। अहिले फेरि पाका पुस्ताहरू युवाहरूको सहभागीमा मौलिक कला संस्कृति जागरणको अभियानमा लागेका छन्। एक आपसमा रंग अबिर दल्दै, रामायण, कृष्ण चरित्रका भजन टुक्का गाउँदै बुढापाकादेखि युवायुवती बालबालिकाबीच रमाइलो गर्दै नयाँ पुस्तामा फागु सिकाउने अभियानमा लागेको रिब्दीकोट २ देउराली माल्मंखका डम्बरबहादुर कुँवरले बताए।
फागु जस्ता पर्वले एक आपसमा घुलमिल बनाउने, खुसी साटासाट गर्ने, समूहमा नाचगान गर्ने, मनमा भएका मनमुटाव तथा तनावहरूलाई पुनर्ताजगी बनाउने गरेको छ। पश्चिम पाल्पाको फागु नाचको फरक भाका, पूर्वी पाल्पाको फागु परक भाकामा गाउने प्रचलन रहेको पाइन्छ।
प्रतिक्रिया दिनुहोस !