जब स्रष्टा नाचे, ‘झ्याम्म. . . झ्याम्म. . . !’
कर्णालीका तीरैतीर गल्की पाक्या वेणु
आज् पाया पानीको नाउलो आजै तिर्खा मेणु।
नेपालको सबैभन्दा लामो नदी कर्णालीको तीरमा अवस्थित टीकापुर प्राकृतिक, सांस्कृतिक र जैविक विविधले भरिपूर्ण छ। यसको महŒव बुझेर होला, देशका विशिष्ट साहित्यकार, राजनीतिककर्मी र पर्यटकहरू यहाँ ओइरिन्छन्। कलाकर्मीहरू छायांकन गर्न भीड लाग्ने गर्छन्। स्व. खड्गबहादुर सिंहले टीकापुर विकासको परिकल्पना गरे। आफू स्वस्थ बन्न तत्कालीन राजा महेन्द्रले बगैंचा निर्माणमा सहयोग गरे। पूर्वराजा वीरेन्द्र र प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई निकै मन परेको स्थान हो, टीकापुर र त्यहाँ अवस्थित सुन्दर बगैंचा। २०५६ सालमा सुदूरपश्चिम साहित्य समाज कैलाली धनगढीको साहित्यिक कार्यक्रममा सम्मिलित हुँदा वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले भनेका थिए– आफू त्यो ठाउँमा पुग्न नपाएता पनि त्यहाँको साहित्यिक र प्राकृतिक सौन्दर्यको वासनाको अनुभूत गरिरहेको छु।
वियोगान्त नाटककार पहलमानसिंह स्वाँर साहित्य विशेष टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करण गत फागुन २४ देखि २६ गतेसम्म भव्यताका साथ सम्पन्न भयो। ‘छापामारको छोरो’ नामक कृतिका लागि मदन पुरस्कार विजेता साहित्यिक व्यक्तित्व महेशविक्रम शाहको संयोजकत्वमा सञ्चालित विविध शीर्षकको विवेचनाले साहित्यमार्फत सामाजिक सद्भाव बढाउनेछ। पूर्वको ताप्लेजुङ, पश्चिमको दार्चुलासम्मका स्रष्टाहरूको उपस्थिति आफैंमा अनुकरणीय छ। साहित्य महोत्सवको यो दोस्रो संस्करण हो। प्रथम पटक २०७९ सालमा शाह र उहाँका सहयोगी साथीद्वारा यस्तै किसिमको कार्यक्रम सम्पन्न भएको थियो। अपार संस्कृति र साहित्यिक मनहरूको उपस्थितिको प्रेरणास्वरूप यस पटक पनि कार्यक्रमको सुरुआत गरेका हौं भन्नुहुन्छ शाह। उहाँको पुर्ख्यौली घर अछाम हो, जहाँ पहलमानसिंह स्वाँरको पनि जन्म भएको थियो। देउडागीत, न्याउल्यागीत, होलीगीत भनेपछि पिता सुरतबहादुर शाहजस्तै हुरुक्क हुनुहुँदोरहेछ, शाह।
तल बग्न्या करनाली माथि बग्न्या रेवा
चिउणी समाई भलाभली बाउली समाई सेवा।
आफ्नो सत्रको कार्यक्रम सम्पन्न गरेर हिँड्ने तरखरमा रहनुभएका प्रा.डा. अभि सुवेदी, नाटक निर्देशक सुनील पोखरेललगायतलाई देउडागीत सुन्न र देउडाखेल (नृत्य) हेर्न तीव्र चाहना रहेछ, सँगै हतारो पनि। एक होटलको आँगनीमा सुवेदी, प्रा.डा. व्रतराज आचार्य, विप्लव प्रतीकलगायत स्रष्टालाई देउडागीत गाउँदै खेल्न (नाच्न) सिकाएँ। आचार्य २०४१ सालमा जयपृथ्वी क्याम्पस बझाङमा प्राध्यापनको सिलसिलामा एक वर्षसम्म बसेकाले गीतको लयअनुसार डेढी कदम चलाउन गाह्रो भएन। तर अरू स्रष्टालाई केही मुस्किल पर्यो। २० मिनेटको समयमा ‘झ्याम्म... झ्याम्म... र गलबन्दीमा रातो धागो’ बोलका गीतहरूलाई लयमा उतार्न र पाइतला मिलाउन उहाँहरूलाई गाह्रो भएन। पाको उमेरमा पनि प्रा.सुवेदीको संस्कृतिप्रतिको गाढा माया र देउडा गायन, नृत्यप्रतिको मोह साँच्चिकै सम्झनलायक बन्यो। डुबेर ‘झ्याम्म... झ्याम्म...’ गाउनुभयो र मिलाएर पाइताला अगाडि बढाउनुभयो।
धिपिधिप बत्ती बल्यो बझांगी बाराको
यति माया म क्या लागि सुनका हाराको।
कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि देउडा गीत, देउडा संस्कृति जीवन पद्धति हो, सामाजिक सद्भावको प्रतीक हो। डा. सुवेदी, नियात्राकार प्रतीक ढकाल, स्व. प्राडा डी.पी. भण्डारी र स्व. प्राडा जयराज पन्तका शब्दमा भन्ने हो भने देउडा गीत कालीकर्णालीका मानिसका लागि जीवन दर्शन हो। सांस्कृतिक रूपमा देउडा दर्शनलाई राष्ट्रव्यापी तुल्याउन २०३४ सालदेखि गायनका रूपमा सेवा नगर्ने हो भने वर्तमान अवस्थामा पुग्ने थिएन। इच्छाशक्ति चाहिने रहेछ, आफ्नो कुलको संस्कृति र संस्कारलाई बलियो बनाउन। अब कालीकर्णालीको देउडा संस्कृतिको मूलको सङ्लो पानी कर्णाली, सेती, महाकाली र भेरीको गंगाजलझैं चीरकालसम्म अविरल बगिरहनेछ।
यसपटक टीकापुरवासीले देउडा गायनका अग्रज पुस्ता र अनुज पुस्तालाई एकै मञ्चमा देख्न पाए। के हो देउडा गीत र संस्कृति ? अनि देउडागीत र हुडयाउली गीत, मागल, छलियामा के फरक छ ? यसबारे उपस्थित सयौं संस्कृतिकर्मी र साहित्यानुरागीले प्रत्यक्ष सुन्ने र बुझ्ने मौका पाए। देउडामा गाइने, प्रयोग गरिने शब्द, डेढी कदम चलाउने शैली, देउडाका भाक्या (भाका) देउडाको उत्पत्ति र विकासक्रम, देउडा गीतहरूले समाजमा पारेको प्रभाव आदिका बारेमा जानकारी पाए। सहजकर्ता गायक महेश आउजीले यो पंक्तिकारलगायत डिक्रा बादी, लक्ष्मी आचार्य र रेखा जोशीलाई प्रश्न गर्दै गए। हामीले उपस्थितजनलाई यसबारे जानकारी दिँदै गयौं। डिक्राले ठाडी भाका सुनाइरहँदा पहाडको झझल्को आयो। लक्ष्मी र रेखाको गीत सुन्दा नवपिँढी उत्साहित भए। महेश आउजीको छलिया गीतले महाकाली अञ्चलमात्र होइन, छिमेकी भारतको उत्तराखण्डका कुमाऊ र गढवाली संस्कृतिलाई पनि माया गर्यो। तीन दिनसम्मका कार्यक्रम आफैंमा रोचक थिए। तर देउडा गीतका बारेमा गरिएको छलफल आफैंमा ऐतिहासिक रह्यो। बीचबीचमा गायकगायिकाले आआफ्ना गीत प्रस्तुत गर्दै संस्कृतिको जानकारी दिँदा दर्शकले नौलो अनुभूति गरे।
बैतडीका पल्ला कुना गिर्खेलन्या गणो
साई होइझाऊ ऐसेलु थोपा मै उडन्या चणो।
रात परेर झमक्कै भयो। देउडा खेल्न दर्शकहरू घरघरबाट चौरमा ओइरिँदै थिए। देउडाप्रतिको कति तिर्खा रहेछ मानिसहरूको ? त्यो होलीको मौसम पनि हो। रंगहरूको पर्व होलीमा टीकापुरमा अछामबाट आएर बसेका सयौं मानिसहरू फागु पर्व फरकपनले मनाउने गर्छन्। अपराह्नतिर सेतो पहिरनमा सजिएका अबिर लगाउँदै रंगिएका संस्कृतिकर्मीको होलीखेल साँच्चिकै ऐतिहासिक बन्यो। होली खेलेपछि ती व्यक्तिहरू देउडाखेलमा झुम्मिए। एकातिर होलीखेलका ऐतिहासिक गाथाहरू पाका उमेरका पहाडी मूलका संस्कृतिकर्मी मनमोहक ढंगले गीत गाउँदै घुमाउरो पारामा नाचिरहेका छन्।
अर्कोतिर देउडाप्रेमीहरू भोकप्यास नभनी गोलाकार रूपमा कलाकारका गीतमा घुमिरहे। कस्तो आत्मीयता, कति हार्दिकता भेटिन्छ आआफ्नो संस्कृतिमा। ८४ वर्ष पूरा गरेका संंस्कृतिकर्मी पिता सुरतबहादुर शाह र छोरा महेशविक्रम शाह ‘झम्क्यो डालीमा, कर्णाली भेरीको पानी, पश्चिमकी चेली छैन है कम्की’ लगायतका गीत कलाकारले देउडामा रीत मिलाएर घुम्दै गाइरहँदा अपार हर्षको अनुभूति भयो। पुराना पुस्ता र नयाँ पुस्ताको मिलनको संगम बनिरहेको थियो, कार्यक्रम।
पूर्वपश्चिम राजमार्गमा पर्ने कर्णाली नदी वारिको लम्कीबाट १२ किलोमिटर दक्षिणको दूरीमा पर्छ टीकापुर सहर। २०४७ सालमा यातायातको सुविधा थिएन। देउडागीतका क्यासेटका बोरा कतै बयलगाडामा राखेर, कतै भरियालाई बोकाएर टीकापुरमा पुर्याएको याद आउँछ पंक्तिकारलाई। स्थानीय व्यापारी हेमराज गिरीले त्यसबेला लगाएको गुन सम्झनलायक छ। बत्तीको सुविधा थिएन, टेप रेकर्डरमा ब्याट्री राखेर क्यासेट बजाउने चलन थियो। प्रत्येक पसलमा ती क्यासेट बिक्री गर्न हेमराजजीले निकै मद्दत गर्नुभयो। त्यसबेलाको कटाक्षे बजार व्यापारी टोपबहादुर विष्टले गीति क्यासेट बिक्री गर्न लगाएको गुनलाई पनि पंक्तिकारले भुलेको छैन। पत्रकार प्रशान्त अर्यालका पिता स्व. भरत अर्यालले भाषा नबुझे पनि गायकको गीतिशैली देउडा संगीत मनपर्छ ज्वाईंसाहेब भनेर घरमा बास दिनुभएको सम्झिरहन्छु,। जुनबेला धर्मपत्नी प्रार्थना खनाललाई देउडा गीत गाउन लगाई त्यसक्षेत्रको सांगीतिक गतिविधि बुझ्न काठमाडौंबाट टीकापुर, धनगढी, महेन्द्रनगरमा आफूसँगै लगेको थिएँ। साहित्यसँगै देउडा गायनका कलाकारलाई एउटै मञ्चमा उतारेको सम्भवतः यो पहिलो पटक हो।
प्रतिक्रिया दिनुहोस !