बागमतीको स्वच्छता कहिले फर्केला ?

बागमतीको स्वच्छता कहिले फर्केला ?

पशुपतिनाथको मन्दिर, बागमती नदीकिनारमा रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। सन् १९७९ मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको पाइन्छ। काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकाले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय हो। शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, सौर, गाणपत, नाथ, शिख आदि प्रमुख सम्प्रदायका भक्तजनका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्रको रूपमा छ। यो मन्दिरको मुख्य गहनाको रूपमा बागमती नदी छ।

बागमती नदी नेपालको एक मुख्य प्राकृतिक, धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको नदी हो। यो नदी बागद्वारबाट उद्गम भएको हो। टेकु दोभानमा यो नदी विष्णुमती नदीसँग मिसिन्छ। यो नदीले काठमाडौं र ललितपुरबीच सीमा छुट्ट्याउँछ। चोभारको गल्छीबाट उपत्यका काटेपछि यो नदी तराईतिर बग्छ। भारतको बिहार राज्यमा गएर यो नदी कोशी नदीमा मिसिन्छ। यो नदिको धार्मिक विषेशता छ। यी नदीलाई हिन्दु तथा बौद्ध धर्ममा पवित्र मानिन्छ। यस नदीको किनारमा पशुपतिनाथलगायत कयौं मन्दिर छन्। यो नदीमा विभिन्न धार्मिक संस्कार गरिन्छ।

कुनै बेला पानी पिउन योग्य स्वच्छ बागमती नदी यतिबेला प्रदूषणबाट ग्रसित छ। नदीमात्र होइन, हिन्दू सभ्यताको इतिहास जोडिएको राजधानीको बीच भागबाट बग्ने बागमती सभ्यता बोकेको यो नदीमा अर्बौंको योजना र कार्यक्रम सञ्चालन भएको पाइन्छ तर समस्या घट्नुको सट्टा ज्यूँका त्यूँ छ। विश्वकै हिन्दुको आस्था एवं विश्वासको केन्द्रबिन्दु बागमती नदी÷सभ्यताको उद्गमस्थल शिवपुरी जलाधार क्षेत्रको बाग्द्वार सफा भए पनि राजधानीको बढ्दो जनसंख्या, अस्वस्थकर एवं अनियन्त्रित सहरीकरण र अव्यवस्थित ढल एवं फोहोरमैलाले नदी÷सभ्यता झन्डै तीन दशकयता प्रदूषित छ।

हालका वर्षमा नदीको बहाव घट्दै गएको छ। जलमार्ग साँघुरिँदै र गहिरिँदै गएको छ। अतिक्रमण बढेको छ। नदीको पानीका साथै जलाधार क्षेत्रको गुणस्तर घट्दै जानु र सांस्कृतिक तथा कलात्मक सौन्दर्यको मान्यतासमेत हराउँदै जानु पनि बागमती नदीको समस्या हो। एक आँकडाअनुसार नेपालभित्र दुई सय र काठमाडौं उपत्यकाभित्र ४४ किलोमिटरभन्दा बढी लम्बाइको नदीकिनारको भूमिको दुरुपयोग भएको छ। जलजन्य जैविक विविधता सखाप भएका छन्। २०६६ सालमा मन्त्रिपरिषद्को निर्णयमा स्वीकृत पाँचवर्षे ‘बागमती कार्ययोजना’ कार्यान्वयनमा आयो, बागमती बचाउ अभियान पनि चल्यो। तर, समस्या ज्यूँका त्यूँ छ।

बागमती सभ्यता बचाउन र यसको समग्र विकासका लागि सरकारले २०५१ सालमा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन ग¥यो। लगत्तै अर्को वर्ष केही परिमार्जन गरी अधिकार सम्पन्न पशुपति क्षेत्र ढल निर्माण सुधार कार्यान्वयन तथा अनुगमन समिति बनायो। यसले लक्ष्यअनुसार काम गर्न नसकेको भन्दै २०६४ सालमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बनायो। सो ले पनि सो समस्या समाधान गर्न नसकेको सरोकारवालाको दाबी छ।

बागमती नदीमा विष्णुमती, टुकुचा, धोबीखोला, मनहरा, हनुमन्ते, कोड्कु, बल्खु र नक्खु खोला मिसिएका छन्। ढल सीधै नदीमा मिसाइएका कारण कुनै बेलाको स्वच्छ बागमती भई बागमती नदी नै पिउने पानीको प्रमुख स्रोत थियो, अहिले प्रदूषित बनेको छ। बागमती सफाइ महाअभियान प्रत्येक शनिबार सञ्चालनमा छ। जसका कारण विगतको तुलनामा केही प्रदूषणमुक्त भएको छ। तर बागमती नदी सफाइ कार्य हिँड्दै छ, पाइला मेट्दै पनि छ भनेजस्तै भएको छ। मानिसमा लापरबाहीका कारण ढलहरू सीधै बागमतीमा निकास, घरटोलमा नै फोहोरको व्यवस्थापन हुन नसक्दा बागमती सफाइका क्रममा आशातीत सफलता हासिल हुन नसकोको अवस्था छ।

बागमती सफाइ महाअभियान २०७० जेठ ५ गतेदेखि सुरु भएको थियो, जुन निरन्तर रूपमा हप्ताको एकपटक शनिबार चलिरहेको छ। सो १२ वर्षमा पूरा भइसकेको छ। हाम्रो अग्रजहरूको उखान छ, बाह्र वर्षमा खोला फर्किन्छ। तर बागमतीको स्वच्छता भने अझै फर्कन सकेको छैन। सफाइ अभियानले मात्रै आशातीत स्वच्छता बागमती नदीले प्राप्त गर्न नसक्ने हुँदा नदीसँग जोडिएका पालिका (स्थानीय सरकार) हरूले बागमती स्वच्छता गर्ने प्रभावकारी व्यवस्था मिलाउन अति आवश्यक छ। यसका लागि काठमाडौं, भक्तपुर, ललितपुरवासीलगायत सरोकारवालामा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल, पत्रपत्रिकामार्फत जनचेतना अभिवृद्धि गर्नु आवश्यक छ। 

कुहिने, नकुहिने फोहोरलाई छुट्ट्याउने बानीको विकास गर्न, बागमती मन्दिर परिसरमा हुने विभिन्न धार्मिक क्रियाकलाप तथा नित्यकर्मबाट उत्पन्न हुने फोहोरको उचित व्यवस्थापन गर्ने, उपत्यकाको ढल निकास बागमतीमा नगरी सोका लागि आवश्यक प्रभावकारी योजना बनाई व्यवस्थित गर्नु अति आवश्यक छ। तबमात्र पशुपतिनाथ मन्दिरलगायत देशभरिका मन्दिर तथा नदीनाला स्वच्छ भई धार्मिक, ऐतिहासिक र प्राकृतिक अस्तित्व बचाउन सफल हुनेछ।

अधिकारी वातावरणविद् हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.