मध्यपुर थिमिलाई उत्कृष्ट नगरपालिका पुरस्कार
भक्तपुर : मध्यपुर थिमि नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेको छ। बिहीबार नेपाल नगरपालिका संघको ३२ औं वार्षिक उत्सवको अवसरमा सांस्कृतिक, वातावरण र पर्यटकीय क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको आधारमा उत्कृष्ट नगरपालिका पुरस्कारबाट मध्यपुर थिमि पुरस्कृत भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले नगरपालिकालाई पुरस्कृत गरेका थिए। नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीलाई पुरस्कार दिइएको थियो।
नगरपालिकालाई हस्तान्तरण गरिएको उक्त कदर पत्रमा नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ मा वातावरण, संस्कृति र पर्यटकीय क्षेत्रमा उल्लेखनीय कार्य गरेको उल्लेख छ।
पुरस्कार पाए पछि नगर प्रमुख सुरेन्द्र सरेस्थले नगरपालिकाले स्थानीय बासिन्दाको साथ सहयोगबाट नगरभित्र रहेका विभिन्न मूर्त अमूर्त सम्पदाहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ गरिएका विभिन्न प्रयासहरूको उच्च मूल्याङ्कन भएको जनाउँदै पुरस्कार प्राप्त गर्दा हौसला बढेको बताए।
आउँदो वर्षहरूमा सम्पदा र संस्कृतिलाई ध्यानमा राखी कार्य गर्ने रणनीति नगरपालिकाले लिएको बताए। उनका अनुसार पर्यटन बढाउनका लागि यही चैत २७ गते मध्यपुर थिमीको नगदेशमा धिमेबाजा प्रतियोगिता आयोजना हुँदैछ।
प्रतिक्रिया दिनुहोस !