पोखरा–ल्हासा नियमित उडान, भारतीय सहरमा सुरु हुने कहिले ?
पोखरा : ल्हासा–पोखरा, पोखरा–ल्हासा नियमित सेड्युअल उडान सोमबारदेखि सुरु भएको छ। पोखराका पर्यटन व्यवसायीको पहलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको दुई वर्षपछि पहिलो पटक चैत ५ गते सिचुवान एयरलाइन्सले नियमित व्यावसायिक चार्टर उडान सुरु गरे लगतै हिमालय एयरलाइन्सले पोखरा–ल्हासा नियमित सेड्युअल उडान सुरु गरेको हो।
चीनको ल्हासाबाट १ सय ७ पर्यटक लिएर हिमालय एयरलाइन्सको जहाज सोमबार दिउँसो १ः५५ मा पोखरा आइपुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जाशोदा सुवेदीले बताइन्। विमानमा ३२ चिनियाँ र ७५ नेपाली नागरिक रहेको बताइएको छ। ल्हासाबाट पोखरा आएका यात्रुलाई नेपालका लागि चिनियाँ राजदूत छन सोङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले विमानस्थल पुगेर स्वागत गरेका थिए।
१३ वटा अन्तर्राष्ट्रिय चार्टर उडानपछि पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित सेड्युअल उडान सुरु भएको हो। सोमबार पोखरा आइपुगेको हिमाल एयरलाइन्सको जहाज पोखरामा रात्रीबिसान गरेर मंगलबार बिहान ८ः३० मा पोखराबाट ल्हासाका लागि उडान भर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता सुवेदीले बताइन्। चैत ५ गतेदेखि चीनको छेन्दु–पोखरा, पोखरा–छेन्नु नियमित व्यावसायिक चार्टर उडान सुरु गरेको सिचुवानको जहाज मंगलबार पोखरा आउँदैछ। सोही जहाजमा पोखरा उद्योग वाणिज्य संघको संयोजनमा पोखराका व्यवसायी चीनको छेन्दु उडान भर्दै छन्।
सिचुवान एयरलाइन्सले व्यावसायिक नियमित चार्टर उडान गरे लगत्तै हिमालयले मंगलबारदेखि पोखराबाट चीनको ल्हासा सातामा एकपटक उडान गर्ने गरी नियमित उडान सुरु गरेको हो। ल्हासा–काठमाडौं, काठमाडौं–ल्हासा, ल्हासा–पोखरा, पोखरा–ल्हासा जोडने गरी नियमित उडान सुरु भएको हो। मागको आधारमा उडान थप्न सकिने हिमालय एयरलाइन्सका अधिकारीले बताए।
नियमित उडान सुरुसँगै चिनियाँ पर्यटक बढ्ने पर्यटन व्यवसायीको विश्वास छ। सन् २०२३ मा ६१ हजार चिनियाँ पर्यटक नेपाल आएको सरकारी तथ्यांक छ। सन् २०२४ मा बढेर १ लाख १ हजार ८ सय ७९ चिनियाँ पर्यटक नेपाल आएका थिए। चीन सरकराले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषण गरेको र चीनका विभिन्न सहरबाट सोझै पोखरामा पनि उडान सुरु भएकाले पोखरा र नेपालमै चिनियाँ पर्यटकको आगमन बढ्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन्। पोखरा महानगरपालिकाले पनि सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषण गरेको छ।
चीनतर्फका सहरका नियमित उडान सुरु भएसँगै भारतका विभिन्न सहरका पनि नियमित उडानका लागि पहल गर्न पोखराका पर्यटन व्यवसायीको माग छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकै दिन पोखराबाट–भारतको बनारस उडान भर्ने बुद्ध एयरको पहल अनुमति नपाएर हुन सकेको थिएन। हालसम्म पनि पोखराबाट अर्को महŒवपूर्ण छिमेकी भारतका सहरमा नियमित उडान हुन नसक्नु चिन्ताको विषय भएको पर्यटन व्यवसायी बताउँछन्। सरकारले पोखराबाट भारतका सहरमा उडान भर्न अनुमतिका लागि पहल गर्न व्यवसायीले अनुरोध गर्दै आएका छन्।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते आन्तरिक उडान गरेरै सुरु भएको थियो। कुल २२ अर्ब रुपैयाँ ऋणमा बनेको विमानस्थल सञ्चालनको दुई वर्षपछि बल्ल नियमित उडान सुरु भएको हो। अन्तर्राष्ट्रिय विमानस्थलबाट आम्दानी नभएपछि विमानस्थल निर्माणका लागि लिएको ऋणको ब्याज र साँवा भने पछिल्लो समयमा नतिरेको क्यानका अधिकारीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !