राजावादीको आन्दोलनमा मृत्यु भएका पत्रकार रजकको परिवारलाई भाटभटेनीले पाँच लाख दिने
महर्जनको परिवारलाई ३ लाख
काठमाडौं : भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङले राजावादीको आन्दोलनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई आर्थिक सहयोग दिने बताएका छन्। गुरूङले बुधबार एक कार्यक्रमको आयोजना गर्दै एभिन्युजका पत्रकार रजकको परिवारलाई राहतस्वरुप ५ लाख र कीर्तिपुरका महर्जनको परिवारलाई ३ लाख सहयोग गर्ने घोषणा गरेका हुन्। चैत्र १५ गते राजावादी समर्थकहरूले तिनकुनेमा एक व्यापारी भवनमा आगजनी गर्दा पत्रकार रजकको जलेर मृत्यु भएको थियो भने महर्जनको गोली लागेर मृत्यु भएको हो।
गुरुङले प्रदर्शनका क्रममा निजी घर,व्यवसायमा आगजनी गर्ने काम निन्दनीय भएको बताए । उनले समाजमा अराजक गतिविधि गर्ने दुर्गा प्रसाईँलाई राज्यले समयमा नै नियन्त्रणमा लिन नसकेका कारण अहिलेको परिस्थीति सिर्जना भएको भन्दै सरकारको ध्यानकर्षण गराए। लुटेराहरुले ल्याएको परिवर्तन आफूहरुलाई नचाहिएको उनले बताए।
सोही दिन कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुट्न आएकाहरूमाथि प्रतिकारमा उत्रिने सुरक्षागार्डलाई पनि सम्मान गरिएको छ। भाटभटेनीले सुरक्षागार्ड दल (कृष्ण) प्रसाद पराजुलीलाई ५ लाख १ हजार ११ नगदसहित पुरस्कृत गरेको हो।
पराजुलीको योगदानको कदर गर्दै भाटभटेनीले थप पाँच ग्रेड समेत बढुवा गरिदिएको छ। उनीसँगै अन्य सुरक्षागार्डहरूको ग्रेड बढुवा र नगदसहित सम्मान गरेको छ। भाटभटेनी लुट्न आएकाहरूमाथि सुरक्षागार्ड पराजुली प्रतिकारमा उत्रिएको भीडीयो सामाजिक सञ्जालमा भाइरल भएको थियो। लुटपाट र तोडफोडबाट ७०/८० लाख जति क्षति भएको भाटभटेनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !