साढे ५ वर्षमा जफत सुन झन्डै ४ सय किलो खरिद, १ सय ९० किलो बिक्री

जफत सुन राष्ट्र बैंकले किन्छ, तर बेच्न हम्मे पर्छ

जफत सुन राष्ट्र बैंकले किन्छ, तर बेच्न हम्मे पर्छ

काठमाडौं : भन्सार छली भएर तस्करीबाट भित्रिएको जफत गरिएका सुन नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले बर्सेनि खरिद गर्छ। वार्षिक औसत ५० किलो खरिद गर्दा ३१ किलो हाराहारीमा मात्र बिक्री भएको छ। परीक्षणपछि उच्च गुणस्तर ९९९.९ टच अर्थात् २४ क्यारेटको सुनलाई राष्ट्र बैंकले असर्फीको रूपमा बिक्री गर्दै आएको छ। तर, कतिपय सुनचाँदी २२–२३ क्यारेट र अझ १८ क्यारेटसम्मका पनि हुने गरेको छ।

प्रहरीले पक्राउ गरेर भन्सार कार्यालयहरू, राजस्व अनुसन्धान कार्यालय र अदालतबाट चोरीको सावित भई आएका सुनहरू राष्ट्र बैंकले परीक्षण गरी गुणस्तर अनुसारको मूल्यमा खरिद गरी सरकारलाई भुक्तानी गर्ने गरेको छ। उच्च गुणस्तरकोलाई भने असर्फी बनाएर बिक्री गर्दै आएको छ। 

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाको तथ्यांकअनुसार विगत साढे ५ वर्षको अवधिमा प्रहरीले बरामद गरेको करिब २ सय ९९ किलो ८ सय ग्राम सुन खरिद गरेको छ। साथै, सोही अवधिमा करिब १ सय ९० किलो बिक्री गरेको जानकारी दिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ फागुनसम्ममा मात्रै ३६ किलो २ सय ७९ ग्राम सुन बिक्री भएको टक्सार महाशाखाका निर्देशक लक्ष्मीप्रसाद प्रसाईंले जानकारी दिए। 

उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ९३ किलो ४०१ ग्राम सुन खरिद गर्दा २१ किलो ३५३ ग्राम बिक्री भएको थियो। यसैगरी क्रमशः आर्थिक वर्ष २०७७/७८ मा १ सय ३८ ग्राम मात्रै बरामद सुन खरिद गरिएको थियो भने १ सय २७ किलो ६ सय ९८ ग्राम बिक्री गरिएको थियो। यसअघिको आवमा जम्मा भैरहेको सुन सो आवमा बिक्री बढी हुँदा बरामद सुन खरिदको तुलनामा बिक्री बढी देखिएको उनले पुष्ट्याए। null

यसैगरी आर्थिक वर्ष २०७८/७९ मा तस्करी सुन १ सय १३ किलो ६ सय १ ग्राम खरिद गर्दा २७ किलो ३ सय ७६ ग्राम बिक्री भएको थियो। यस्तै, आर्थिक वर्ष २०७९/८० मा २५ किलो १ सय ७७ ग्राम तस्करी सुन टक्सारले खरिद गर्दा सो आवमा बिक्री भने १३ किलो ६२२ ग्राम भएको थियो। यसैगरी आव २०८०/८१ मा ३१ किलो २०९ ग्राम खरिद गर्दा ४ सय ८६ ग्राम बिक्री भएको थियो। यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा ३६ किलो २ सय ७९ ग्राम बरामद गरिएकोमा १ सय ३२ ग्राम बराबर बिक्री भएको छ। 

चोरीका, भन्सार छली भएका लगायतका अन्य गैरकानुनी प्रक्रियाबाट आएका सुनचाँदीलाई सरकारले जफत गर्दै आएको छ। यी सबै टक्सारमा आइपुग्छन्। यी सबैमा विशुद्ध सुनै आउँछ भन्ने हुँदैन। लोटस सुन पनि थुप्रै आएको देखिन्छ। सुनको गुणस्तर फरक–फरक हुन्छन्। ९९९.९ टचको सुन छ भने त्यो विशुद्ध अर्थात् २४ क्यारेटको हो। तर, यसमा अन्य धातुको अंश मिसिएको छ भने लोटस गुणस्तरमा वर्गीकरण गरिन्छ। लोटस गुणस्तरको सुनलाई असर्फी र स्मारिकामा प्रयोग गरिँदैन। 

तस्करीका चाँदी ५ वर्षमा १०७० किलो खरिद
सुन मात्रै होइन, चाँदी पनि विभिन्न तरिकाबाट तस्करी भएर नेपाल भित्रिने गरेको छ। टक्सार महाशाखामा जम्मा हुन आएको र खरिद गरेको तथ्यांकले यसको तस्करी पनि बढी नै हुने गरेको पुष्टि हुन्छ। ५ वर्षको जफत चाँदीलाई आधार मान्दा बर्सेनि औसत २ सय १४ किलो टक्सारले खरिद गर्छ भने १ सय ३४ किलोको हाराहारीमा बिक्री गर्दै आएको छ। 

चालु आर्थिक वर्ष २०८१/८२ फागुनसम्ममा मात्रै ५८ किलो ८७७ ग्राम चाँदी खरिद हुँदा ६१ किलो बिक्री भएको टक्सार महाशाखाका निर्देशक लक्ष्मीप्रसाद प्रसाईंले बताए। यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ४९ किलो ८६४ ग्राम खरिद गर्दा १ सय ९८ किलो ४ ग्राम बिक्री गरेको थियो। 

यसैगरी क्रमशः आर्थिक वर्ष २०७७/७८ मा बरामत चाँदी जम्मा नभए पनि बिक्री भने १ सय ६३ किलो ६ सय ३६ ग्राम गरिएको थियो। यसअघिको आवमा बिक्री बढी हुँदा बरामद चाँदी खरिदको तुलनामा बिक्री हिस्सा बढी देखिएको हो। यसैगरी आर्थिक वर्ष २०७८/७९ मा तस्कर चाँदी १ सय ७० किलो ४३३ ग्राम खरिद गर्दा १ सय ६१ किलो ७०५ ग्राम बिक्री भएको थियो। 

आर्थिक वर्ष २०७९/८० मा ५ सय ९१ किलो १ सय ७२ ग्राम तस्करी चाँदी टक्सारले खरिद गर्दा सो आवमा बिक्री भने १ सय ५४ किलो ७२ ग्राम भएको थियो। यसैगरी आव २०८०/८१ मा २ सय किलो ११७ ग्राम खरिद गर्दा ६६ किलो ६३३ ग्राम बिक्री भएको थियो। आर्थिक वर्ष २०८१/८२ फागुनसम्म ५८ किलो ८ सय ७७ ग्राम खरिद र बिक्री १ सय ३४ किलो २७८ ग्राम बराबर भएको टक्सारले जानकारी दिएको छ। 

टक्सार महाशाखासँग अझै बरामद गरिएका सुन खरिद गरेर राखेको परिमाण धेरै भएको बताइएको छ। एकातर्फ बजारमा दिनप्रतिदिन सुनको मूल्य चर्किएर ऐतिहासिक रेकर्ड राखिरहेको छ भने अर्कोतर्फ सुन तस्करी पनि नियन्त्रण हुन सकेको छैन। नेपाल सुन–चाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार बिहीबार मात्रै प्रति तोला सुनको मूल्य १ लाख ८० हजार ३०० मा बिक्री भएको छ। सुनको उच्च मूल्यसँगै तस्करी पनि सल्बलाउने खतरा छ। 

सुनको मूल्यले इतिहास तोड्दै, चीनबाट तस्करी बढ्ने जोखिम
सामान्यतया विवाहको लगन हुने भएकाले सुनको मूल्य बढ्ने गथ्र्यो तर गत मंसिरमा भने मूल्य हात्तै घटेको थियो। सरकारले सुन आयातमा लगाउँदै आएको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेकै दिन बजारमा सुनको मूल्य तोलामै १५ हजार ९०० रुपैयाँ घटेको थियो।

तर, यसपछिका दिनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य अधिक हुँदा नेपालमा पनि सोही अनुपातमा मूल्य अकासिएको हो। यसरी भारतबाट हुने सुन आयातमा भन्सार दर घटेकाले त्यहाँबाट तस्करी हुने सम्भावना कम हुनसक्ने अनुमान गर्छन् नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियश रत्न शाक्य। 

‘यसअघि २० प्रतिशत भन्सार हुँदा भन्सार छली भएर सुन भित्रिन सक्थ्यो। तर, अब त्यहाँबाट सुन तस्करी नहुने बरु चीनबाट हुने खतरा देखिएको छ। पहिलाको जस्तो बाहिर देखिने गरी हलचल हुने गरी सुन तस्करी भएको सुनिएको छैन,’ उनले अन्नपूर्णसँग भने। 

शाक्यका अनुसार अहिले बजारमा सुनको मूल्य अकासिएकाले दैनिक २० किलो सुन पर्याप्त भइरहेको उनको भनाइ छ। तर, सिजनमा भने यो कोटा कम पर्न जाने उनले बताए। यद्यपि अहिले तोलामा १ लाख ८० हजार रुपैयाँमाथि भएकाले नयाँ सुन किन्नेभन्दा पनि ग्राहकले आफ्नै पुराना सुन बिक्री गर्न आउने क्रम बढी भएको उनले सुनाए। 

विगतका केही वर्ष यताको प्रवृत्ति हेर्दा पटक–पटक सानो एकाइदेखि क्विन्टल–क्विन्टलसम्म भन्सार छली गरेका सुन प्रहरीले समाइरहेका समाचार बाहिरिने गरेका छन्। हाल सालै पनि २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहितको सवारी केरुङ जाँदै गरेको क्रममा पक्राउ गरिएको छ। सो रकम चीनबाट सुन तस्करी गर्ने मनसायले लगिन लागेको प्रहरीको आशंका थियो। यस्ता घटना दिनहुँ आउने गर्छ। तर, कतिपय तस्करीका सुनचाँदी पक्राउ गर्न सम्भव हुन्छ भने कतिपय लुकिछिपी बजारमा बिक्री भएको हुनसक्छ। अहिले सुन वैधानिक रूपमा बैंकहरूबाट सुन व्यवसायीले दैनिक २० किलो मात्रै लिएर देशभरका व्यवसायीलाई वितरण गरिरहेका छन्। 

तर, बजारको माग हेर्दा अधिक खपत हुने गरेको अनुमान गर्न सकिन्छ। यस्तो स्थितिमा बजारमा तस्करीका सुन बिक्री भइरहेको समेत आशंका गरिन्छ। तथापि प्रहरीलाई सुराकी आएपछि मात्रै समात्न सफल भएको सुन भन्सार कार्यालय र राजस्व अनुसन्धान विभागमार्फत नेपाल राष्ट्र बैंकको टक्सारमा परीक्षणदेखि खरिद गरिदिन अनुरोध भएको खण्डमा मात्रै जम्मा हुने गरेको छ। 

तस्करीका सुन यसरी आइपुग्छ राष्ट्र बैंकसम्म 
कानुनविपरीत कसुर गरेको अर्थात् तस्करी सुन बरामद गरिएको छ भने त्यो सरकारको स्वामित्वको हुन्छ। चोरीका, भन्सार छली लगायतका अन्य गैरकानुनी प्रक्रियाबाट आएका सुनलाई सरकारले जफत गर्छ। टक्सार ल्याउनु अघि सुनचाँदी व्यवसायीसँग कस्तो खालको धातु भनेर परीक्षण पनि गर्छन्। 

भन्सार कार्यालयहरू, राजस्व अनुसन्धान कार्यालय र अदालतबाट दसीका रूपमा आएका सुनहरू केन्द्रीय बैंकलाई खरिद गरी दिन अनुरोध गरिन्छ। यसलाई राख्ने अधिकार नेपाल राष्ट्र बैंकलाई मात्रै हुने भएकाले सरकारबाट किनेर राख्ने गर्छ। तर, त्यस्ता सामान राष्ट्र बैंकले नै किनिदिनुपर्छ भन्ने बाध्यकारी व्यवस्था भने छैन। चोरीका त्यस्ता सुनचाँदी तथा दसीका सामानहरू राष्ट्र बैंकले खरिद नगरेमा भन्सार कार्यालयले लिलामीबाट गर्न सक्ने व्यवस्था छ। 

तर, सरकारको लागि केन्द्रीय बैंकले सहजीकरण गर्ने कर्तव्य हो। राष्ट्र बैंकको खरिद तथा बिक्री विनियमावलीमा तस्कर गरिएको सामान सुनचाँदी हो भने खरिद गर्न सकिने व्यवस्था छ। राष्ट्र बैंकले परीक्षण गरेर वास्तविक नापतौल निकाल्छ। सरकारको सम्बन्धित निकायले टक्सार महाशाखालाई उक्त सुन किन्ने प्रक्रियामा अघि जानुस् भनेर पत्र पठाउँछ। त्यसपछि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा चलेको मूल्यमा ५ प्रतिशत थपेर उक्त सुन किन्ने गर्छ। थप ५ प्रतिशत सुन किन्दा राष्ट्र बैंकलाई प्रणालीबाट किन्दा भन्सार तिर्ने पैसा नलाग्ने भएकाले भार नपर्ने र केही सहुलियत मूल्यमै प्राप्त हुन्छ।

सुनचाँदी बाहेकका हीरामोती तथा अन्य कुनै जवारतहरू छन् भने त्यो खरिद नहुने बताउँछन्, टक्सार महाशाखाका सहायक निर्देशक गुलाव धावल। उनका अनुसार सुनमा हीरामोती जडान गरिएको छ भने राष्ट्र बैंकले किन्न सक्दैन। ‘सुन निकाल्न फोर्नुपर्ने हुन्छ। हीरामोतीको चेकजाँचका लागि कुनै विधि छैन। हाम्रो लागि त्यो हीराबराबरको हुने भएकाले त्यस्तो सामान भन्सार कार्यालयहरूले नै लिलामी गरेर बेच्न पाउँछन्। तर, लिलामी बिक्रीमा पनि चोरीमा संलग्न व्यक्तिले नै लिन खोज्नेदेखि अन्य जोखिम हुनसक्छ’, सहायक निर्देशक धावलले अन्नपूर्ण पोस्ट्सँग भने। टक्सारले गाल्न नमिल्ने सुन चाँदीलाई फर्काइदिएको उदाहरणसमेत भएको बताए। 

प्रहरीले समाएका तस्करी सबै टक्सारमा आइपुग्छ। यी सबैमा विशुद्ध सुनै आउँछ भन्ने हुँदैन। सबैभन्दा राम्रो सुन भनेको ९९९.९ अर्थात् २४ क्यारेटको विशुद्ध सुन र चाँदी हो। यस्तो खाले विशुद्ध सुनहरू कहिलेकाहीँ मात्रै समातिएर आएको छ। जस्तै यसअघि २०८० साउनमा पक्राउ गरिएको ६० किलो सुन भने सोही गुणस्तरको हो। तर, यो केन्द्रीय बैंकले परीक्षण मात्रै गर्‍यो, सो केशको अझै सर्वोच्च अदालतमा मुद्दा चलेकाले ६० किलो हाराहारी परिमाणको सुन भने केन्द्रीय बैंकले खरिद गरेको छैन। 

यो विशेष घटना भएकाले अहिले राष्ट्र बैंकले सुरक्षणका रूपमा राखिदिएको मात्रै छ। उक्त तस्करीको सुन ठूलो गिरोहको भएकाले राजस्व अनुसन्धान विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थत भन्सार कार्यालयबीचमा कसले जिम्मा लिने भन्ने दोहोरी चलेको छ। कुनै निकायले जुन दिनदेखि ६० किलो परिमाणको तस्करीको सुन खरिद गर्न अनुरोध गरे मात्रै उच्च गुणस्तरको सुन टक्सारमा पुग्छ। अहिलेसम्म ९०० टचमाथि र ९९९.९ टचभन्दा तलका मात्रै गरेर करिब ९० किलो सुन छ। तर, यो असर्फी बन्ने गुणस्तरको हुँदैन। 

नेपाल–भारतको औसतलाई आधार मूल्य मानिने
टक्सार महाशाखाले तस्करी सुनको मूल्य निर्धारण गर्दा एक दिन अघिको सुनचाँदी व्यवसायीले निर्धारण गरेको मूल्य र सोही दिनमा नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेको मूल्यबाट औसत निकालिन्छ। यसपछि औसत र नेपाली मूल्यमा जुन ठूलो छ त्यसलाई आधार मूल्य मानिन्छ। सोही आधार मूल्यमा सर्वसाधारणका लागि असर्फी बिक्रीमा प्रतिग्राम ३ सय रुपैयाँ थपिन्छ भने संस्थालाई बिक्री गर्दा प्रति ग्राम ५ सय रुपैयाँ थपिने गरेको छ। 

सोहीअनुसार सुनको असर्फी बिक्री हुन्छ। यो मूल्य निर्धारणसम्बन्धी व्यवस्था सुनचाँदी तथा बहुमूल्य धातु खरिद बिक्री कार्यविधि–२०७५ (तेस्रो संशोधन)मा उल्लेख छ। टक्सारले बजारमा व्यवसायीले बिक्री गरेको जस्तो सुन भने बेच्दैन। टक्सार महाशाखाले यसरी प्राप्त भएको सुन हारहार्ती सबैलाई बिक्री गर्दैन। उक्त सुनको गुणस्तरअनुसार उच्च गुणस्तरको अर्थात् ९९९.९ टचको सुन वा चाँदीको असर्फी र सिक्का मात्रै बिक्री गर्छ।

हालसम्म उच्च गुणस्तरको सुनचाँदीको मेडालीयन, स्मारीका बनाएर बिक्री गरिन्छ। सुनचाँदी तथा बहुमूल्य धातु खरिद बिक्री कार्यविधिअनुसार नाफा कमाउन नभई देशको संस्कृति जोगई राख्न मेडालियन, स्मारीका बनाएर बिक्री गर्ने गरिन्छ। उक्त सुन बेच्नै पर्छ भन्ने अनिवार्य भने छैन। 

बरामद चाँदीबाट बनेका मेडालियन र स्मारिका पर्याप्त
टक्सारले हालसम्म ९९९.९ टच (२४ क्यारेट)को चाँदीको स्मारिका सिक्का विशेष परिस्थितिमा एकपटक मात्रै छपाइन्छ। जस्तै यसअघि सत्यमोहन जोशीको सतक पुरुषको रूपमा मात्रै छापिएको थियो। मेडालियन भनेको बर्सेनि आवश्यकताबमोजिम देशको संस्कृति अनुसारको बुट्टामा छापिन्छ। 

मुलुकको साँस्कृतिक धरोहरलाई जोगाइरहन पनि गाई, लक्ष्मी, गजलक्ष्मी लगायतको मेडालियन छपाइसँगै बिक्री गरिन्छ। धनतेरसको बेला यस्तो चाँदीको सिक्कालाई पूजा गर्ने भएकाले यसकोे माग तिहारमा अधिक हुने गरेको छ। यसैगरी तस्करीका चाँदीहरू टक्सारले सर्वसाधारणको मागअनुसार देशभरकै विभिन्न मन्दिरको ढोका, गजुर, भगवानको आसनलगायत बनाउन खरिद गर्ने गरेको टक्सारले जानकारी दिएको छ। 

प्रहरीले पक्राउ गरेर भन्सार कार्यालयहरू, राजस्व अनुसन्धान कार्यालय र अदालतबाट दसीको रूपमा आएका सुनहरू राष्ट्र बैंकले परीक्षण गरी गुणस्तर अनुसारको मूल्यमा खरिद गरी सरकारलाई भुक्तानी गर्दै आएको छ। राष्ट्र बैंकले नै खरिद गर्नुपर्छ भन्ने बाध्यकारी छैन। तर सरकारलाई सघाउनु हाम्रो कर्तव्य हो।
लक्ष्मीप्रसाद प्रसाईं, निर्देशक, टक्सार महाशाखा, नेपाल राष्ट्र बैंक

गैरकानुनी प्रक्रियाबाट आएका सुनलाई सरकारले जफत गर्छ। भन्सार कार्यालयहरू, राजस्व अनुसन्धान कार्यालय र अदालतबाट दसीको रूपमा आएका सुनहरू केन्द्रीय बैंकसँग खरिद गरी दिन अनुरोध गर्छन्। यसलाई राख्ने अधिकार नेपाल राष्ट्र बैंकलाई मात्रै हुने भएकाले सरकारबाट किनेर राख्छ । तर, बाध्यकारी व्यवस्था भने छैन। 
गुलाव धावल, सहायक निर्देशक, टक्सार महाशाखा, नेपाल राष्ट्र बैंक

यसअघि २० प्रतिशत भन्सार हुँदा छली भएर सुन भित्रिन सक्थ्यो। अहिले आधा घट्दा नियन्त्रण भएको छ। अहिले बजारमा सुनको मूल्य अकासिएकाले दैनिक २० किलो सुन पर्याप्त भइरहेको छ। तर, सिजनमा भने यो कोटा कम पर्न जान्छ। अहिले तोलामा १ लाख ८० हजार रुपैयाँमाथि भएकाले नयाँ सुन बिक्रीभन्दा पनि ग्राहकले आफ्नै पुराना सुन बिक्री गर्न आउने क्रम बढी छ।
दियश रत्न शाक्य, वरिष्ठ उपाध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ

पहिला नेपाल–भारतको भन्सार दर नमिलेकाले पनि भारतबाट सुन तस्करी धेरै हुन्थ्यो। अहिले त्यो दर भारतकै बराबर बनाएकाले पनि तस्करी कम नै छ। यद्यपि सुन तस्करी नियन्त्रण हुन सकेको भने छैन। फाट्टफुट्ट समातिएका छन्। 
चण्डीप्रसाद घिमिरे, महानिर्देशक, राजस्व अनुसन्धान विभाग

आगामी वर्ष असर्फी नबन्ने सम्भावना

अदालतमा रहेको चोरीको ६० किलो सुन टुंगो लागे मात्रै आगामी वर्ष असर्फी बन्ने भएको छ। राष्ट्र बैंकको टक्सार महाशाखाले अब्बल दर्जा अर्थात् ९९९.९ टच सुनलाई असर्फीका रूपमा बिक्री गर्दै आएको छ। टक्सारले विशुद्ध सुन र चाँदीको मात्रै असर्फी निकाल्छ। यी असर्फीलाई विशेष गरेर दसैं , तिहारमा धनतेरश ताका पूजाआजामा बढी प्रयोग गर्छन्। यसबाहेकका राज्यको आवश्यकता पर्दा विशुद्धभन्दा कम गुणस्तरको लोटसका सुनचाँदीहरू प्रयोग गर्ने गरेको छ।

२४ क्यारेटको सुनको असर्फी मात्रै बिक्री गर्ने गरेको छ। असर्फीको सिक्काको पछाडि श्री यन्त्र हुन्छ र अग्र भागमा सामान्य सिक्का हुन्छ। असर्फीको अगाडिको भागमा डिजाइन समितिले निर्णय गरेअनुसारका तस्बिर प्रयोग गरिएको हुन्छ। कहिले जानकी मन्दिर, कहिले पशुपति मन्दिर, सगरमाथा लगायतका डिजाइन बनाइएको हुन्छ। 

नेपालमा भएको असर्फी बाहेकका हरेक सिक्का (१ र २ रुपैयाँका) मा श्री यन्त्र हुने भएकाले भारतमा समेत लैजाने गरेको पाइएको छ। विश्वका कुनै मुलुकले पनि श्री यन्त्रको प्रयोग सिक्कामा नगरेकाले नेपालको यस्तो सिक्काको महत्व र माग हुने गरेको सहायक निर्देशक धावलले जानकारी दिए। 

टक्सारसँग २४ क्यारेटका सुन अहिले नभएकाले आगामी तिहारमा असर्फी बिक्री गर्न नसकिने बताएको छ। यद्यपि गत साउन ३ गते राजस्व अनुसन्धान विभागले विमानस्थलको गेटबाट ट्याक्सीमा बाहिरिँदै गर्दा जफत गरेको सुन परीक्षण पछि ६० किलो ७ सय १६ ग्राम पुगेको थियो। तर, उक्त सुनको मुद्दा अदालतमै भएकाले सो खरिद गर्न भनिएको छैन। यदि यो अदालतको दसी सल्टिएर खरिद गर्न भनिएको खण्डमा मात्रै टक्सारले आगामी तिहारका लागि २४ क्यारेटको असर्फी बनाउन सम्भव हुने सहायक निर्देशक धावलले जानकारी दिए।

यता राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले उक्त ६० केजी सुनबारे टुंगो लगाउन फाइल, दसी सबै नेपाल प्रहरीलाई कारबाही गर्न पठाएकाले उनीहरूले नै टक्सारमा बिक्री गर्ने जानकारी दिए। 

‘पहिलाको तुलनामा पछिल्लो समय सुन तस्करी धेरै भेटिएको छैन। पहिला नेपाल र भारतको भन्सार दर नमिलेकाले पनि भारतबाट सुन तस्करी धेरै हुन्थ्यो। अहिले त्यो दर भारतकै बराबर बनाएकाले पनि तस्करी कम नै छ। यद्यपि सुन तस्करी नियन्त्रण नै हुन नसकेको र फाट्टफुट्ट समातिएका छन्। जसलाई हामीले अदालतमा लगेका छौं,’ महानिर्देशक घिमिरेले भने।

सुन परीक्षणका अन्तर्राष्ट्रिय मापदण्ड
सुन भनिएको वस्तु टक्सार महाशाखासम्म ल्याइसकेपछि सुरुमा केमा मिसाएर ल्याएको हो त्यसलाई छुट्ट्याइन्छ। यतिबेला महाशाखाले ब्रेकसु र कागजको बाक्सा (कार्टुन) छुट्ट्याइन्छ। सुनबाहेकका वस्तु राजस्व अनुसन्धान विभागलाई नै फिर्ता दिइन्छ।

बाँकी रहेको सुन भनिएको धातुलाई गलाउने प्रक्रियामा लगिन्छ। यसको प्राविधिक परीक्षण जस्तालाई आर्से परीक्षण भनिन्छ। यो परीक्षण गरेपछि वास्तविक रूपमा सुन हो वा होइन, कुन गुणस्तरको सुन कति परिमाणको छ भनेर अन्तिम निचोड निक्लिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.