परम्परागत खानपानमा बेग्लै स्वाद, २४ थरीका परिकार
तानसेन : आजकल सबैका घर, पाटी प्यालेस तथा होटल रेस्टुराँमा जुत्ता चप्पल लगाएर कुर्सी टेबलमा बसेर चम्चाले खाने बानी परेको छ। यसरी आधुनिक तरिकाबाट खानपान गर्ने बानी परेका व्यक्तिहरूले पाल्पाको तानसेनमा सालको पातको टपरीमा २४ प्रकारका भोजनको स्वाद लिएका छन्।
तानसेन पाल्पाको एउटा सार्वजनिक कार्यक्रममा सबै जना परालले बुनेको गुन्द्रीमा, जुत्ता फुकालेर लस्करै चकलमाडे (खुट्टा खुम्चाएर पलेँटी कसेर) बसे। गुन्द्रीमा बसेका सबै व्यक्तिको अगाडि सालको पातले बनाएको ठूलो टपरी राखियो। टपरीमा फिनी रोटी, चिउरा, केराउसहित छेउमै करुवामा पानी राखियो। भोजन खान बसेका सबै जनाले भोजन राखेको टपरी वरिपरि पानीको घेरा लगाए।
सालको पातको टपरीमा राखिएको भोजनको थोरै थोरै भाग भगवानलाई सम्झिएर चढाए। अनि बल्ल पाहुनाले टपरीमा भएको भोजन खान थाले। यस्तो परम्परागत भोजन खान पाउँदा पाहुनाहरू आश्चर्यचकित भए। भोजनमा सहभागी सयौ व्यक्तिहरूलाई अनौठो प्रचलनले रमाइलो बनायो। परम्परागत नेवारी भोजनको व्यवस्थापन गरेको थियो बरजु गुठी तानसेन पाल्पाले।
बरजु गुठी तानसेन पाल्पाले आफ्नो परम्परागत नेवारी कला संस्कृति जोगाउने, संरक्षण गर्ने प्रवर्द्धन गर्ने, नेवार बाहेकका अन्य जात जाति भेषभुषाका व्यक्तिहरूलाई पनि जानकारी गराउने, नेवारी समुदायमा कला संस्कृति सहन सहनको पुस्तान्तरण गर्ने भोजनमा सहभागी गराउने र नेवारी भोजको प्रचार प्रसार गर्ने अभियानका साथ सयौं स्वयंसेवक परिचालन गरेर २४ प्रकारको खानाको परिकारसहित नेवारी भोज सञ्चालन गरेको अध्यक्ष प्रविन बज्राचार्यले बताए।
बरजु गुठी तानसेनले परम्परागत नेवारी भोजनमा सक/वास, पात/ल्हापा, चिउरा, फिनी रोटी, छोइला, केराउ राखिन्छ। खान बसेका पाहुनाहरूलाई परम्परागत नेवारी पोशाकमा सजिएका महिलाहरूले करुवामा राखेको वास माटोको भाडाँमा राखिदिने प्रचलन रहेको छ।
सालको टपरीमा पाँच प्रकारको खानापछि पुनः चिउरा, पंचकोल, आलु तामा, आलु गोभी, खसीको मासु, मटर पनिर, चुकाउनी, अचार, भ्यात्तल, मुला, गाजर, मेथीको रस, वास दिइन्छ।
यो खान खाएपछि खसिको भुटुवा, वास, चिउरा, चिनी, दही, फलफूल, केरा, स्याउ खान दिइन्छ। सबै परिकार खाएपछि दाँतमा अड्किएको खानेकुरा निकाल्न बासको सिन्का दिएपछि नेवारी भोजन परिकार पुरा हुन्छ। पाहुनालाई २४ प्रकारका भोजन खाएर सन्तुष्ट पार्ने सबै जातजाति भाषा भाषी तथा धर्मालम्वीहरूलाई सामूहिक रूपमा परम्परागत नेवारी भोजमा सहभागी गराएर अन्य जातजातिहरूलाई पनि सिकाउने बरजु गुठीको उद्देश्य रहेको उपाध्यक्ष दिनेश बज्राचार्यले बताए।
‘हाम्रा बाउ बाजेले यसै गरी खान्थे। पाहुनाहरूलाई खुवाउथे। सबै किसिमका परिकारहरू मिलाएर खान्थे। जसको कारण सन्तुलित भोजन हुन्थ्यो। शरीर निरोगी हुन्थ्यो। बाउ बाजेले गरेको अभ्यास केही रूपमा बाबा पुस्ताले छोडे। केही रूपमा नाति पुस्ताले छोडे र आज लोपोन्मुख अवस्थामा पुगेको परम्परागत रहन सहन खानपानलाई जोगाउन यस्तो अभियानहरू निरन्तर रुपमा चलाउनु पर्ने भएको छ,’ भोजमा सहभागी तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले भने।
परम्परागत भोजनमा सहभागी भएका पाहुनाहरू नेवारी भोज बाट सन्तुष्ट भएका छन्। खाना बसेपछि नसकुन्जेलसम्मको विधि र व्यवस्थामा सहभागीहरू रमाएका छन् नेवारी भोज जस्तै विभिन्न जातजातिका परम्परागत तथा मौलिक भोजनले आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउन सहयोग पुग्ने, नगर उप प्रमुख प्रतीक्षा सिंजाली गाँहाले बताइन्।
बढ्दो पश्चिमा संस्कृति, आधुनिक तथा व्यस्त जीवनशैली, बढ्दो होटल रेस्टुराँको कारण लोपोन्मुख अवस्थामा पुगेको परम्परागत नेवारी भोजलाई जोगाउन, छोरा छोरीलाई आफ्नो पहिचान सिकाउन, समय समयमा यस्ता कार्यक्रमहरू गर्दै आएको गुठीका महासचिव धिरज बहादुर बज्राचार्यले बताए। परम्परागत नेवारी भोजका लागि तानसेन नगरपालिका भित्र रहेका नेवार समुदायका शाक्य र बज्राचार्यहरू एक महिना देखि सक्रिय भएर लागेका थिए।
बरजु गुठीमा तानसेनका शाक्य र बज्राचार्यका २ सय ५० घरपरिवारका ६ सय जना पारिवारिक सदस्यहरू जोडिएका छन्। २०७१ सालमा स्थापना भएको बरजु गुठीले नेवारी कला संस्कृति रहन सहन भेषभुषाको संरक्षण तथा जर्गेनाको काम गर्दै आएको छ। भोजन सुरु गर्नु अघि बौद्ध पुजारी चिनियाँमान बज्राचार्य नेवारी परम्परा अनुसार पूजाआजा गरेका थिए।
प्रतिक्रिया दिनुहोस !