रेमिट्यान्स १० खर्ब नाघ्यो, वैदेशिक लगानी ८ अर्ब भित्रियो

रेमिट्यान्स १० खर्ब नाघ्यो, वैदेशिक लगानी ८ अर्ब भित्रियो

काठमाडौं : आयातित वस्तुमा निर्भर नेपाललाई बढ्दो रेमिट्यान्स (विप्रेषण) को आकारले ठूलो राहत मिलेको छ । कुल आयातको हिस्सा ठूलो भएकाले यसमा खर्च गर्ने ठूलो स्रोत रेमिट्यान्स हो । चालु आर्थिक वर्षको ८ महिना (फागुनसम्म) रेमिट्यान्स ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । 

वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र पुनः   श्रमस्वीकृति लिनेको संख्या अत्याधिक बढ्दा पनि रेमिट्यान्स वृद्धि भएको हो । तथ्यांकअनुसार अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ जना रहेको छ भने पुनः श्रमस्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४ सय ३ जना रहेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३ सय ५२ र १ लाख ८२ हजार ७ सय ८३ रहेको थियो ।

यसो हुँदा मुलुकको कुल विदेशी विनिमय सञ्चिति पनि २४ खर्ब ९ अर्ब २५ करोड  रुपैयाँ हाराहारीमा पुगेको छ । जबकी गत असारमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर थियो । पछिल्लो ८ महिनाको अन्तरमा १८.० प्रतिशतले वृद्धि २४ खर्बमाथि पुगेको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १३.१ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २१ खर्ब ३० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ७८ अर्ब ९५ करोड रुपैयाँ छ । हालसमम कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत छ । यसअनुरूप आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा यस्तो सञ्चिति ४२.२ प्रतिशत छ । 

शोधनान्तर ३ खर्बभन्दा बढी बचतमा
देशबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने मुद्रा अधिक हुँदा शोधनान्तर स्थिति पनि लामो समयदेखि बचतमा छ । फागुनसम्ममा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोडले बचतमा छ । अझ अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा थियो । अमेरिकी डलरमा २ अर्ब २९ करोडले बचतमा छ ।

यस्तै, चालु खाता पनि १ खर्ब ८० अर्ब ८ करोडले बचतमा छ । अघिल्लो वर्ष १ खर्ब ६७ अर्ब ४५ करोडले बचतमा थियो । अमेरिकी डलरमा १ अर्ब ३३ करोडले बचतमा देखिन्छ । 

प्रत्यक्ष वैदेशिक लगानी साढे ८ अर्ब भित्रियो
चालु आवको ८ महिनामा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब ४१ करोड छ । यसैगरी, समीक्षा अवधिमा ८ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो एफडीआई ५ अर्ब ६३ करोड भित्रिएको थियो । 

वैदेशिक अध्ययन, उपचार र भ्रमण खर्च बढ्यो
नेपालबाट विदेश अध्ययन, उपचार र भ्रमण गर्नेबाट भएको खर्च बढ्दा सेवा आय घाटामा छ । यसअवधिमा खुद सेवा आय ७५ अर्ब १३ करोड रुपैयाँले घाटामा छ ।यसमध्ये शिक्षातर्पmको व्यय अधिक छ । अर्थात वैदेशिक अध्ययन गर्न जानेले मात्रै ८८ अर्ब ९८ करोड  खर्चेका छन् ।  गत वर्ष विदेशी अध्ययनमा ८० अर्ब १४ करोड रुपैयाँ थियो ।

आयात साढे ११ खर्ब, निर्यात १ खर्ब ५८ अर्ब मात्रै
मुलुकमा आयातभन्दा निर्यात कम हुँदा व्यापार घाटा चुलिँदै गएको छ । आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा आयात साढे ११ खर्ब हुँदा निर्यात १ खर्ब ५८ अर्ब मात्रै भयो । यसबाट वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भएको छ । अर्थात्, आयातभन्दा निर्यात ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँले कम छ ।  

चालु आवको आठ महिनामा कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ८२.५ प्रतिशत, ८.८ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैंचीलगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, अदुवा, तयारी पोसाक, जुसलगायतका वस्तुको निर्यात घटेको छ । यता कुल वस्तु आयात ११.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.९ प्रतिशत, १२.५ प्रतिशत र २०.६ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाईजहाजको पार्टपुर्जा, लेख्ने तथा छाप्ने कागज, रासायनिक मल लगायतका वस्तुको आयात घटेको छ ।

महँगीमा झिनो सुधार
बजारमा उपभोक्ताले महँगी बढेको अनुभूति गरे पनि नेपाल राष्ट्र बैंकको तथ्यांकले  वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशतमा सीमित रहेको उल्लेख गरेको छ । जबकि अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत थियो । यसबीच खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको छ ।

सबैभन्दा बढी महँगी खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १३.७४ प्रतिशत देखिन्छ । यसैगरी क्रमशः दाल तथा गेडागुडीको ७.८० प्रतिशत, फलफूलको ६.८२ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले बढेको छ  । 

निजी क्षेत्रमा कर्जा ६ प्रतिशतले वृद्धि
चालु आवको ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ४ अर्ब ८२ करोडले बढेको छ । यो गत वर्षको तुलनामा ६ प्रतिशत बढी भएको केन्द्रीय बैंकले बताएको छ । जबकी गत आवको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९९ अर्ब ५० करोड (४.२ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ ।

निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.