ऊर्जाको भरपर्दो माध्यम बन्दै घामपावर

स्टार्टअपसँग अन्नपूर्ण

ऊर्जाको भरपर्दो माध्यम बन्दै घामपावर

काठमाडौं : सन् २०१० तिर मुलुकमा चरम लोडसेडिङ थियो । करिब १४ घण्टासम्मको लोडसेडिङले सर्वसाधारण आक्रान्त थिए । त्यतिबेला सन्दीप गिरी बाहिरबाट अध्ययन गरेर नेपाल फर्किएका थिए । मुलुकमा भइरहेको विद्युतीय ऊर्जाको हाहाकारलाई सम्बोधन गर्नुपर्छ भन्ने सोच गिरीमा पलायो । सोही अनुरूप सन् २०१० मा नै घाम पावरको स्थापना गरियो, जुन सौर्य ऊर्जामा आधारित थियो । 

लोडसेडिङको विकल्पको रूपमा सौर्य ऊर्जालाई किन नल्याउने भनेर संस्थापक गिरीले घामपावर ऊर्जा कम्पनी खोलेको कम्पनीका बजार प्रबन्धक बन्दना शाक्य बताउँछिन् । २०१० मा स्थापित, घाम पावर सहरी विद्युतीकरणमा अग्रणी कम्पनीको रूपमा देखा पर्‍यो । कम्पनीले काठमाडौं उपत्यकाका घरहरूलाई लक्षित गरेर सौर्य ऊर्जालाई बजारमा ल्यायो, जतिबेला सोलार भनेको गाउँघरमा मोबाइल चार्ज गर्न र एउटा बत्ती बाल्नका लागि मात्र हो भन्ने जनधारणा थियो ।

सन् २०१० मा खुलेको यो कम्पनीले सन् २०१५ सम्ममा तीन हजार घरमा सोलार राख्न सफल भयो । स्थापनाको करिब पाँच वर्षको अवधिमा रेसिडेन्सियलमा ३ मेगावाट क्षमताको सोलार प्रणाली राखिएको शाक्य बताउँछिन् । घरायसी प्रयोजनका लागि सानोसानो प्रणाली जडानबाट नै ऊर्जा निकालिएको थियो । ‘सुरुका केही वर्षहरूमा, हामीले सहरहरूमा आवासीय परियोजनाहरूमा नै केन्द्रित भयौ भने यो परियोजना स्थापित पनि बन्यो,’ उनले भनिन् ।

तर, एउटै मात्र परियोजनालाई अघि बढाएर टिकी राख्न नसक्ने भएपछि कम्पनीले अर्को नयाँ परियोजना अघि बढायो । हाम्रा दुर्गम क्षेत्र भौगोलिक रूपमा कठिन भूभागका कारण, राष्ट्रिय ग्रिड सजिलै पहुँचयोग्य छैन । ग्रामीण घरधुरीमा मुस्किलले एउटा बल्ब बल्छ, तर त्यो पनि आवश्यक परेको बेलामा बाल्नलाई बिजुली पाइँदैन । बिजुलीको यो अभावले नियमित गतिविधिहरूमा बाधा पुर्‍याइरहेको थियो भने रेडियो र चार्जरजस्ता आधारभूत इलेक्ट्रोनिक आवश्यकताहरूको प्रयोग पनि हुन सकेको थिएन । यसैलाई मध्यनजर गर्दै घामपावरले सौर्य मिनीग्रिड परियोजना अघि बढाएको बजार प्रबन्धक शाक्यले बताइन् । ‘२०१४ मा, हामीले खोटाङमा अवस्थित नेपालको पहिलो सोलार मिनीग्रिड, ३६ किलोवाटको बलियो पावरहाउस स्थापना गर्‍र्यौं । त्यसबेलादेखि, हामी देशभरका धेरै अफ–ग्रिड क्षेत्रहरूलाई उज्यालो बनाउँदै आएका छौं, जसले धेरै परिवारहरूको जीवनमा सकारात्मक प्रभाव पारेको छ,’ उनले भनिन् । 

यो परियोजनाले विद्युत्सँग विच्छेद भएका समुदायहरूलाई आफ्नो भौगोलिक बनावटले लगाएको सीमिततालाई पार गर्दै भरपर्दो र दिगो बिजुलीमा पहुँच पुर्‍याउन सहयोग गर्‍यो । सौर्य मिनीग्रिडले समुदायहरूलाई सशक्त बनाएर, शिक्षा र स्वास्थ्य सेवाहरूमा सुधार गरेर र साना व्यवसायहरूलाई फस्टाउन सक्षम बनाउन मदत गर्यो । घामपावरको मिनीग्रिडले दुर्गम गाउँहरूमा उज्यालो र मुस्कान ल्याउने काम गर्‍यो । कृषि प्रधान हाम्रो देशमा सबैतिर व्यवस्थित सिँचाइ प्रणाली छैन । सिँचाइका लागि पनि विद्युत् आवश्यक हुन्छ ।

व्यवस्थित सिँचाइ प्रणाली र विद्युत्को अभावमा सुक्खा, चर्किएको माटोकोबीच कि वर्षा कुर्नपर्‍यो कि डिजेलको प्रयोग गरी पम्पबाट पानी तानेर सिँचाइ गर्नुपर्‍र्यो । किसानलाई सस्तो र किफायती सिँचाइ पुर्‍याउनका लागि घामपावरले सोलार पम्प आयोजना अघि ल्यायो । महँगो र अविश्वसनीय सिँचाइलाई सौर्य–सञ्चालित पानी पम्पहरूले प्रतिस्थापन गर्दै किसानहरूलाई कम लागतमा निरन्तर पानीको पहुँच पुर्‍याउन घामपावर सफल भयो । यसले उत्पादकता बढाएर उनीहरूलाई सशक्त बनायो भने कृषिको दिगोपनलाई पनि प्रबद्र्धन गर्‍यो । सोलार पम्पबाट अहिलेसम्म ५५ सयभन्दा बढी किसानका ४२० हेक्टर बढी जमिनमा सिँचाइ पुर्‍याउन सफल भएको छ । 

सहरी बिजुलीकरणबाट सुरु भएको घामपावरको यात्रामा नयाँनयाँ आयोजनाहरू थपिँदै गए । २०१९ मा नेपाल लोडसेडिङमुक्त भएसँगै विद्युत्को कथित हाहाकार कम हुँदै गयो । तर, सो समयमा घरायसी प्रयोजनका लागि बिजुली पुगे पनि उद्योग, ठूला होटल, विद्यालय, अस्पतालजस्ता क्षेत्रमा नियमित बिजुली पुग्न सकिरहेको थिएन । यस्तो अवस्थामा व्यावसायिक क्षेत्र र उद्योगहरूको लागि बिजुलीमा मात्र भरपर्नु सधैं भरपर्दो वा किफायती विकल्प नहुन सक्छ ।

व्यवसाय सञ्चालनका लागि विश्वसनीय र नियमित विद्युत् आपूर्ति चाहिन्छ । बिजुली कटौती उत्पादकता र नाफामा प्रमुख बाधक बन्छ । यी चुनौतीहरूलाई कम गर्न, धेरै व्यवसायहरूले ब्याकअप पावर स्रोतहरूको रूपमा डिजेल जेनेरेटरहरूको सहारा लिएका छन्, जुन अत्यधिक प्रदूषणकारी हुन्छन् । डिजेल जेनेरेटरहरू सामान्यतया भरपर्दो भए तापनि, तिनीहरूले वातावरणलाई निरन्तर हानि पुर्‍याउँछन् र तिनीहरूको सञ्चालन खर्च अत्यधिक उच्च हुन सक्छ । यही परिदृश्यलाई नियालेको घामपावरले व्यावसायिक क्षेत्र र उद्योगहरूलाई लक्षित गरी वाणिज्य र औद्योगिक सौर्य परियोजना ल्यायो । 

घाम ऊर्जा सेवा २०२२ मा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने उद्देश्यले स्थापना भएको थियो । आज यो कम्पनीले नेपालभरि ४ हजारभन्दा बढी सौर्य ऊर्जाबाट चल्ने परियोजनाहरू अघि बढाइसकेको बजार प्रबन्धक बन्दना शाक्यले जानकारी दिइन् । घाम ऊर्जाले धेरै विद्युत् खपत गर्ने सरकारी भवन, होटलहरू विद्यालयहरू, उद्योगलगायतलाई लक्षित गरेर यो सोलार सिस्टम ल्याइएको हो । यसमा यदि कुनै उद्योग वा संस्थाले सोलार प्रणाली राख्न चाह्यो भने उनीहरूको ऊर्जाको माग कति हो, मासिक कति बिजुलीको बिल तिरिन्छ लगायतका विषयमा अध्ययन गरेपछि मात्र कति ठूलो सोलार प्रणाली हाल्ने भन्ने तय हुने उनले बताइन् । जलवायु परिवर्तनसँग निरन्तर लड्नु र नेपालमा बिजुलीको विश्वसनीयता सुधार गर्ने लक्ष्यका साथ १५ वर्षअघि स्थापना भएको कम्पनी अहिले सौर्य ऊर्जामा अग्रेणी रूपमा अघि बढिरहेको छ । 

व्यावसायिक र औद्योगिक सौर्य ऊर्जाको साथ, व्यवसाय र उद्योगहरूले बिजुली कटौतीको समयमा ब्याकअपको रूपमा सौर्य ऊर्जामा भर पर्न सक्छन् जसले निरन्तर सञ्चालन सुनिश्चित गर्दछ र उत्पादकता नोक्सानबाट बचाउँछ । ‘तिनीहरूले दिउँसो सस्तो सौर्य ऊर्जा प्रयोग गरेर आफ्नो बिजुलीको बिलमा ठूलो बचत गर्न सक्छन् जब सञ्चालन चरम सीमामा हुन्छ र अतिरिक्त ऊर्जा राष्ट्रिय ग्रिडमा फिर्ता बेच्न सक्छन् । डिजेल जेनेरेटरहरूबाट टाढा गएर, व्यवसायहरूले आफ्नो कार्बन फुटप्रिन्ट र वातावरणीय प्रभावलाई उल्लेखनीय रूपमा कम गर्न सक्छन्,’ शाक्यले बताइन् । 

घाम ऊर्जा सेवाले आफ्नो ग्राहकलाई बिजुली उत्पादन र बिक्रीको लागि सौर्य प्रणालीको डिजाइन, आपूर्ति र स्थापना गर्ने सेवाहरू प्रदान गर्दै आएको छ । यसले ग्राहकहरूसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेर नै सौर्य ऊर्जा बेच्दै आएको छ । घाम ऊर्जा नेपालले विभिन्न ग्राहकहरूका लागि ९ मेगावाटभन्दा बढी क्षमताका सौर्य प्रणाली परियोजनाहरू स्थापना र व्यवस्थापन गरेको छ ।null

गोल्ड स्टार सुज, रेड बुल कम्पनी, त्रिवेणी राइस मिल, विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, सोल्टी होटललगायतमा घाम ऊर्जा सेवाले प्रणाली जडान गरेको छ ।  आफ्नो स्थापनाको १५ वर्षमा कम्पनीले करिब साढे १३ मेगावाट सोलार ऊर्जा उत्पादन गरिसकेको छ । वातावरणमैत्री सोलार ऊर्जाको उत्पादनबाट २८ हजार ४ सय ८५ किलोलिटर डिजेल प्रतिस्थापन गर्न र ७६ हजार ३ सय ३९ टन कार्बन उत्सर्जन घटाउन मद्दत गरेको कम्पनीले जनाएको छ । 

लोडसेडिङबाट आक्रान्त बनेका सहरवासीलाई घामबाट बिजुली निकाल्दै सेवा दिन सुरु भएको यो कम्पनीले आजको दिनमा व्यावसायिक र औद्योगिक सौर्य ऊर्जा भएका सहरी व्यवसायहरू, सौर्य पानी पम्प भएका ग्रामीण किसानहरू, सौर्य मिनी ग्रिड भएका ग्रामीण समुदायहरूलाई घामको उज्यालो दिन सफल भएको छ । सौर्य ऊर्जामा मात्र सीमित नभएर कम्पनीले कृषिलाई व्यावसायिक रूपमा अघि बढाउनका लागि आफ्नो अनुसन्धान टिमको मद्दतले घाम पावर कृषि मिटर पनि सञ्चालनमा ल्याएको बजार प्रबन्धक शाक्यले बताइन् । उनका अनुसार यो मिटर एक स्मार्ट आईओटी उपकरण भएको र यसले सौर्य पानी पम्पहरूको वास्तविक–समय कृषि र सञ्चालन डेटा संकलन गर्दछ । यस्तै अफ ग्रिड बजार नामक परियोजना व्यवस्थापन र निगरानी प्लेटफर्म पनि ल्याएको छ ।

यसले आईओटी उपकरणद्वारा संकलन गरिएको वास्तविक समय कृषि डेटा देखाउँछ र सौर्य पानी पम्पको सञ्चालन व्यवस्थापन गर्न मद्दत गर्दछ । अर्को भनेको सुपर कृषक प्लाटफर्म हो, एउटा कृषि एप जहाँ किसानहरू भर्चुअल तालिम, कृषि–क्विज र कृषि–अभ्यासहरू र कृषि–समाचारहरूमा लेखहरूमा संलग्न हुन्छन् । कम्पनीले आफूलाई डिजिटल्ली पनि अघि बढाएर नयाँ–नयाँ इनोभेसन गर्दै आएको शाक्य बताउँछिन् । दिगो भविष्य निर्माण गर्दै नेपालमा विश्वसनीय ऊर्जा उत्पादनमा कम्पनी सधंै कटिबद्ध रहेको उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.