हिन्दू राष्ट्र नेपालको पहिचान
नेपाल विश्वको एक प्राचीन सभ्यताको धरोहर हो, जहाँ सनातन हिन्दू धर्मको जरा गहिरो रूपमा गाडिएको छ। यो भूमि ऋषिमुनिहरूको तपोभूमि, राजा जनक र सीताको पवित्र स्थल, साथै पशुपतिनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड र स्वयम्भूनाथजस्ता विश्वप्रसिद्ध तीर्थस्थलहरूको केन्द्र हो।
नेपालको पहिचान, संस्कृति, परम्परा र जनजीवन हिन्दू सभ्यताको आधारमा निर्मित छन्। यहाँका चाडपर्वहरू दशैं, तिहार, तीज, शिवरात्रि र संस्कारहरू जन्मदेखि मृत्युसम्मका वैदिक विधिहरू सबै सनातन हिन्दू धर्मको अभिन्न अंग हुन्। नेपालको माटोमा हिन्दूत्वको सुगन्ध छ, यहाँको हावामा वैदिक मन्त्रहरूको गुञ्जन छ र यहाँको जीवनशैलीमा सनातन दर्शनको प्रभाव स्पष्ट देखिन्छ।
यही कारणले नेपालले लामो समयसम्म आफूलाई हिन्दू राष्ट्रको रूपमा परिचित गरायो। हिन्दू राष्ट्रका रूपमा नेपाल विश्व समुदायमा परिचित भइरहँदा धार्मिक सहिष्णुता, सांस्कृतिक एकता र वैदिक परम्पराको संयोजनले विश्वसामु उदाहरण प्रस्तुत गरेको थियो।
नेपालको इतिहास हेर्दा हिन्दू धर्म यहाँको सांस्कृतिक र आध्यात्मिक मेरुदण्ड हो भन्ने प्रष्ट हुन्छ। नेपाली परम्परा, विश्वास र जीवनशैलीमा सनातन घाम जस्तै छर्लंग देखिन्छ। प्राचीनकालमा किरात, लिच्छवी र मल्ल राजवंशहरूले हिन्दू धर्मलाई राज्यको आधार बनाएको तथ्य इतिहासका विवरणमा उल्लेख छ। लिच्छवीकालमा पशुपतिनाथ मन्दिरको स्थापना र संरक्षणले हिन्दू धर्मको महत्त्वलाई उजागर गर्छ। मल्लकालमा काठमाडौं उपत्यकामा निर्मित मठ-मन्दिरहरू, जस्तै चाँगुनारायण, बौद्धनाथ (हिन्दू-बौद्ध संयोजनको प्रतीक) र पशुपतिनाथ क्षेत्र, हिन्दू सभ्यताको वैभवका साक्षी हुन्।
नेपाल एकीकरण गर्दा पृथ्वीनारायण शाहले 'असली हिन्दूस्थान' को संज्ञा दिएर यहाँको धार्मिक र सांस्कृतिक पहिचानलाई बलियो बनाएका थिए। उनको यो भनाइ केवल भावनात्मक अभिव्यक्ति थिएन, बरु नेपालको मूल आत्मालाई प्रतिबिम्बित गर्ने ऐतिहासिक सत्य थियो। शाहवंशीय शासनकालमा नेपालले हिन्दू राष्ट्रको रूपमा आफूलाई विश्वसामु चिनायो, जहाँ बौद्ध, किरात, जैन, शिख, इस्लामलगायतका धर्मावलम्बीहरूले पनि शान्तिपूर्वक सहअस्तित्व कायम गरेका थिए। यो सहिष्णुता हिन्दू राष्ट्रको विशेषता थियो, जसले 'वसुधैव कुटुम्बकम्' (विश्व एक परिवार हो) को सनातन सन्देशलाई व्यवहारमा उतारेको थियो।
वि.स २०६२/६३ को जनआन्दोलनपछि नेपालमा ठूलो राजनीतिक परिवर्तन आयो। यो राजनीतिक परिवर्तनले राजतन्त्रको अन्त्यसँगै अन्तरिम संविधान मार्फत नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो। अन्तरिम संविधानबाट ‘धर्म निरपेक्षता’ शब्द २०७२ मा जारी भएको संविधानमा पनि सारियो। धर्म निरपेक्षतालाई धेरैले प्रगतिशील कदम माने, तर यसको प्रक्रिया र औचित्यमाथि प्रश्नहरू उठ्न थाले। धर्मनिरपेक्षता जनमतसंग्रह वा व्यापक राष्ट्रिय छलफलको परिणाम थिएन, बरु यो केही राजनीतिक नेताहरूको निर्णय र बाह्य प्रभावको उपज थियो भन्ने मत बलियो बन्दै गयो।
नेपालजस्तो देश, जहाँ ८१.३% जनसंख्या हिन्दू धर्मावलम्बी छन् र जहाँको सांस्कृतिक संरचना नै हिन्दू दर्शनमा आधारित छ, त्यहाँ धर्मनिरपेक्षताको अवधारणा कति सान्दर्भिक छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। र, यो प्रश्नको जवाफ संविधानमा धर्म निरपेक्षता लेख्नेहरूसँग पनि छैन।
धर्मनिरपेक्षताले धार्मिक स्वतन्त्रता र समानताको प्रत्याभूति दिने उद्देश्य राखे पनि, यसले नेपालको मौलिक पहिचानमाथि नै प्रश्नचिह्न खडा गरेको महसुस धेरैले गरेका छन्। हिन्दू राष्ट्रको परिचय गुमाउँदा नेपालको सांस्कृतिक गौरव र ऐतिहासिक धरोहर कमजोर भएको छ। साथै, धर्मनिरपेक्षताको नाममा पश्चिमी प्रभाव र धर्मान्तरणका गतिविधिहरू बढेको भन्दै जनस्तरमा असन्तोष चुलिएको छ। यो असन्तोष केवल धार्मिक भावनाको कुरा होइन, बरु नेपालको आत्मपहिचान र स्वाभिमानसँग जोडिएको विषय हो।
आजको मितिमा हिन्दू राष्ट्रको बहस फेरि सतहमा आएको छ, र यो केवल भावनात्मक नारा होइन, बरु तथ्य र तर्कमा आधारित छ। नेपाली कांग्रेसजस्तो मूलधारको पार्टीभित्र संविधान संशोधन सुझाव समितिले सातवटै प्रदेशमा जनमत संकलन गर्दा अधिकांश जनताले हिन्दू राष्ट्रको पक्षमा राय व्यक्त गरेको तथ्य उल्लेखनीय छ। डिला संग्रौलाको नेतृत्वमा गठित यो समितिले संविधानको प्रस्तावनामै हिन्दू राष्ट्र उल्लेख गर्नुपर्ने सुझाव दिएको छ। यो प्रतिवेदनले धर्मनिरपेक्षताको औचित्यमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले लामो समयदेखि हिन्दू राष्ट्रको मुद्दालाई आफ्नो प्रमुख एजेण्डा बनाउँदै आएको छ र सडकदेखि संसदसम्म यो आवाज उठाइरहेको छ। तसर्थ हिन्दू राष्ट्रको मुद्दा आज एउटा सानो समूहको नारा होइन। यो आम जनताको मुद्दा हो र यसलाई सबै राजनीतिक दलहरूले बोक्नुपर्छ।
हिन्दू राष्ट्रको माग केवल हिन्दूहरूको भावनासँग मात्र सम्बन्धित छैन। नेपालमा बस्ने अल्पसंख्यक समुदायहरू, मुस्लिम, बौद्ध, किरात, इसाईमध्येकै कतिपय बुद्धिजीवीहरूले हिन्दू राष्ट्रको अवधिमा आफूहरूले सम्मान, स्वतन्त्रता र सुरक्षाको अनुभव गरेको बताएका छन्। उदाहरणका लागि, नेपालको इतिहासमा हिन्दू राष्ट्र भएको कालखण्डमा सबैभन्दा धेरै बौद्ध विहारहरूको संरक्षण भएको थियो। इस्लामिक समुदायले पनि मस्जिदहरू निर्माण र धार्मिक स्वतन्त्रताको अधिकार प्राप्त गरेका थिए। यो सहिष्णुता हिन्दू राष्ट्रको मूल चरित्र थियो, जसले कट्टरता होइन, समावेशीतालाई प्रोत्साहन गरेको थियो।
नेपाल संसारको एकमात्र हिन्दू राष्ट्र थियो, र यो परिचय केवल धार्मिक सीमामा बाँधिएको थिएन। यो सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक गौरवको प्रतीक थियो। पशुपतिनाथको मन्दिर, जनकपुरको राम–सीता सम्बन्ध, गोरखाको गोरखनाथ मन्दिर, साथै गीता, उपनिषद्, योग र आयुर्वेदजस्ता सनातन ज्ञानका आधारहरूले नेपाललाई विश्वसामु एक अद्वितीय राष्ट्रको रूपमा स्थापित गरेका थिए। हिन्दू राष्ट्रको अवधारणा पुनःस्थापना गर्नु भनेको यी परम्परा र सांस्कृतिक धरोहरको संरक्षण र विस्तार गर्नु हो। यो कुनै पनि धर्मको संकुचन नभएर, नेपालको आत्म पहिचानको पुनर्जागरण हो।
हिन्दू राष्ट्रको पुनःस्थापना भन्नाले पुरानै संरचनामा फर्कनु मात्र होइन। अझ कतिपयले त हिन्दू राष्ट्रलाई ‘राजा’संग जोड्ने गरेका छन्। हिन्दू राष्ट्रको अर्थ राजा फर्काउनु होइन।
आजको सन्दर्भको हिन्दू राष्ट्रले आधुनिक मूल्यहरू, मानव अधिकार, धार्मिक स्वतन्त्रता, समानता र समावेशीतालाई आत्मसात् गर्छ। यो सहिष्णु हिन्दूत्व, वैदिक समावेशिता, योग र अहिंसाको सन्देश बोकेको राष्ट्र हुन्छ। नेपालको मूल आत्मा, पहिचान र संस्कृति हिन्दू सभ्यतासँग गाँसिएको छ। धर्मनिरपेक्षताको प्रयोगले नेपालले आफ्नो पहिचान गुमाएको छ। धर्मनिरपेक्ष राष्ट्रका पक्षमा जति तर्क गरे पनि ती तर्कमा धर्म परिवर्तनलाई प्रश्रय दिने गरिन्छ। पहिचान मेटाएर परनिर्भर बनाउने भयानक खेल हो ‘धर्म निरपेक्षता’ यो खेलबाट हामी जतिसक्दो छिटो बाहिरिनुपर्छ।
विश्वका ठूला र विकसित राष्ट्रहरूले समेत आफ्नो पहिचानका मुख्य आधारका रूपमा धर्मर्लाइय स्विकार गरेका छन्। तर, हामी भने आफ्नो भएको पहिचान मेटाउँदै छौं। यो पहिचान मेटाएर हामीले भाबी पुस्तालाई के दिने? उनीहरूको पहिचानको आधार के हुने? हिन्दू राष्ट्रको पुनःस्थापना गर्नु भनेको सांस्कृतिक निरन्तरता र ऐतिहासिक गर्वको रक्षा गर्नु हो। यो कुनै पनि धर्म वा समुदायविरुद्धको आन्दोलन होइन, बरु 'सर्वधर्म समभाव'को भावनालाई आत्मसात् गर्दै सबैका लागि सम्मान र स्वतन्त्रता सुनिश्चित गर्ने अवधारणा हो।
नेपालले आफ्नो मौलिकता, धार्मिक सहिष्णुता र सांस्कृतिक स्वाभिमानलाई पुनर्जनम दिन हिन्दू राष्ट्रको बहसलाई गम्भीरतापूर्वक अगाडि बढाउनु आजको आवश्यकता हो। यो केवल सम्भावना मात्र होइन, समयको माग पनि बनिसकेको छ। नेपालले आफ्नो सांस्कृतिक गर्व, ऐतिहासिक गौरव र आध्यात्मिक जग पुनःस्थापना गर्ने समय आइसकेको छ। राज्यको धार्मिक पहिचान यदि नागरिक जीवनशैलीसँग मेल नखाने हो भने त्यो कृत्रिम र अस्थायी मात्र हुनेछ। हिन्दू राष्ट्र घोषणा गर्नु सांस्कृतिक निरन्तरता जोगाउने व्यवहारिक कदम हो। नेपालको आत्मा, पहिचान र संस्कृति बचाइराख्नका लागि हिन्दू राष्ट्रको पुनर्विचार केवल सम्भावना होइन, आवश्यकता बन्न लागेको छ। यो बहस न कुनै धर्मविरुद्ध हो, न नै प्रगतिको विपक्षमा। यो त नेपालको मौलिकता बचाउने एउटा गम्भीर र दूरदर्शी कदम हो।
लेखक नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य हुन्।
प्रतिक्रिया दिनुहोस !