जथाभावी क्रिम लगाउँदा कुरूप भइएला नि !
आफ्नो अनुहारको छाला पातलो भएको महसुस गर्नु भएको छ ? अनुहारमा रौंहरू पलाउन थालेको छन् ? यदि यस्तो नयाँ समस्या देखिएको छ भने सजग भइहाल्नुहोस्। यदि तपाईंले छाला रोग विशेषज्ञको सल्लाह बिना लगाइरहेको कडा मल्हमका कारण पनि यस खालको समस्या देखिएको हुन सक्छ।
कतिपयले छालामा समस्या देखियो भने साथीभाइले लगाएकै मल्हम वा क्रिम प्रयोग गरेको पाइन्छ। अज्ञानताका कारण सबै मल्हम एउटै त हो नि ! भन्ने पनि लाग्न सक्छ। बुझ्नुपर्ने पक्ष के हो सबै व्यक्तिको छालाको प्रकार एउटै किसिमको हुँदैन। कुनै व्यक्तिलाई राम्रो गरेको मल्हम अर्को व्यक्तिलाई हानिकारक पनि हुन सक्छ। त्यसैले सम्बन्धित छाला रोग विशेषज्ञलाई जँचाएर मात्र मल्हम (क्रिम) लगाउनु पर्छ । कतिपयले विशेषज्ञको परामर्श बिना मल्हम (क्रिम, ओइन्टमेन्ट्, जेल, लोसन)को प्रयोग गरेको पाइएको छ। छालामा हानि गरेपछि मात्र पछुताउँदै विशेषज्ञसमक्ष गुनासो गर्नेहरू धेरै भेटिन्छन्।
गाउँघर मात्र होइन सहरी क्षेत्रमा पनि छालामा कुनै समस्या आउँदा नजिकैको फार्मेसी (औषधि) पसलहरूमा जाने गरेको पाइन्छ। विशेषज्ञहरूको परामर्श (प्रेसक्रिप्सन) बिना औषधि पसलबाट किनेर ल्याउँछन्। छालासम्बन्धी कुन समस्या उत्पन्न भएको हो र कस्तो किसिमको मल्हम आवश्यक पर्छ ? भन्ने ज्ञान औषधि पसलमा बस्नेहरूलाई थाहा हुँदैन।
बिरामीले भन्नेबित्तिकै औषधि पसलमा बसेका बिक्रेताहरूले विभिन्न कडा खालको मल्हम दिएको पाइन्छ। छाला रोग विशेषज्ञको सल्लाह बिना जथाभावीरूपमा अनुमानका भरमा बिरामीलाई जे पायो त्यहीँ मल्हम बिक्री गर्नु हुँदैन। तर, नेपालमा अनुगमनको कमीका कारण बिरामीले भन्ने बित्तिकै अनुमानका भरमा बिक्रेताहरूले मल्हम दिएको भेटिन्छ। जसका कारण झन् गम्भीर असर परेपछि मात्र बिरामीहरू छाला रोग विशेषज्ञसमक्ष उपचार गर्न आएको पाइएको छ। विशेषगरी अनुहारमा लगाउन विक्रेताले दिएका कडा खालको मल्हमका कारण छालाको मात्र समस्या नल्याई शरीरका भित्री अंगमा समेत असर पु¥याउँछ। लामो समयसम्म स्टेरोइड (कडा खालको मल्हम)को प्रयोगले उच्च रक्तचाप, मधुमेह, हाड, आँखा र हर्मोनजन्य समस्याहरू निम्त्याउन सक्छ। फार्मेसीबाट किनेको मल्हम लगाउँदा दीर्घकालीन क्षति पुगेपछि बल्ल विशेषज्ञहरू समक्ष आउनेहरू बढ्दै गएका छन्। स्टेरोइड मल्हम लगाइरहँदा त्यसले गर्ने क्षति दीर्घकालीन हुन्छ।
मल्हम लगाउनु अघि छालाको अवस्था, रोगको प्रकार, मल्हमको मात्रा, लगाउने तरिकालगायतका विभिन्न पक्षहरूमा छाला रोग विशेषज्ञहरूसँग परामर्श गर्नुपर्छ। विशेषज्ञसँग जँचाएर मल्हमको प्रयोग गर्दा साइड इफेक्ट हुने सम्भावना रहँदैन। मल्हम कति लगाउने र कसरी लगाउने भन्ने सम्बन्धमा पनि ध्यान दिनुपर्छ। यसका लागि सम्बन्धित छाला रोग विशेषज्ञसँग परामर्श गरेर मात्र क्रिम वा मल्हमको प्रयोग गर्नुपर्छ।
डा. मोहन भुसाल वरिष्ठ छाला तथा सौन्दर्य रोग विशेषज्ञ हुन्।
प्रस्तुति: दिनेश गौतम
प्रतिक्रिया दिनुहोस !