दसौं राष्ट्रिय खेलकुद जेठमा नहुने
काठमाडौं : कर्णाली प्रदेशमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुद जेठमा नहुने भएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप)को शुक्रबार बसेको बोर्ड बैठकले सुर्खेतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नगर्ने निर्णय गरेको हो।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जेठमा राष्ट्रिय खेलकुद हुन नसक्ने बताएका हुन्। राखेप बैठकमा बोल्दै मन्त्री चौधरीले निर्धारित मितिमा दसौं राष्ट्रिय खेलकुद नहुने निर्णय सुनाएको एक बोर्ड सदस्यले बताए।
राखेप उपाध्यक्ष ध्रुव आचार्यसहितको टोलीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। सोही भेटमा आचार्यसहित पाँच जनाको टोलीले दसौं राष्ट्रिय खेलकुदका विषयमा ब्रिफिङ गरेको स्रोतको भनाइ छ। उक्त टोलीले प्रधानमन्त्रीलाई गरेको ब्रिफिङलगत्तै बसेको राखेप बोर्ड बैठकमा मन्त्री चौधरीले उक्त निर्णय सुनाएका थिए।
प्रधानमन्त्री ओलीकै निर्देशनमा मन्त्री चौधरीले दसौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नहुने निर्णय सुनाइएको स्रोतको दाबी छ। दसौं राष्ट्रिय खेलकुद पटक-पटक सर्दै आएको छ। मंसिरमा हुने तय भएको उक्त प्रतियोगिता तीन पटकसम्म सारिएको थियो।
प्रतिक्रिया दिनुहोस !