वीरगञ्जबासीलाई निशुल्करूपमा स्वच्छ पानी आपूर्ति हुन्छ : मन्त्री यादव
वीरगञ्ज : खानेपानीमन्त्री प्रदीप यादवले राष्ट्र निर्माणका मेरुदण्ड, परिवर्तनका अग्रदूत तथा उज्यालो भविष्यका शिल्पीका रूपमा विद्यार्थीलाई चित्रण गरिएको बताएका छन्। वीरगञ्जमा आयोजित एक कार्यक्रममा उनले विद्यार्थीहरू भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संबाहक भएका बताए।
'विद्यार्थीको साथ बिना राष्ट्र निर्माण सम्भव हुँदैन। विद्यार्थी भनेका केवल पुस्तकको सीमामा बाँधिने पात्रमात्र होइनन्, उनीहरू भविष्यका कर्णधार, राष्ट्रका निर्माता र परिवर्तनका संबाहक हुन्,' उनले भने। उनले वार्षिक परीक्षामा उत्कृष्ट अंक प्राप्त गरी पर्सा जिल्लासहित देशभरि आफ्नो नाम रोशन गर्न विद्यार्थीहरूलाई शुभकामना दिए ।
'म विश्वासका साथ भन्छु, भोलिका इञ्जिनियर, वैज्ञानिक, चिकित्सक, नेता यिनै विद्यालयहरूबाट जन्मिनेछन्। सबै विद्यार्थीले विगतका कमजोरीहरूलाई बिर्सेर, नयाँ उत्साह र मेहनतका साथ पढाइमा ध्यान दिई पर्सामात्र होइन, समग्र देशको पनि नाम रोशन गर्नुहोला,' उनले भने।
मन्त्री यादवले अब वीरगंजबासीका घरघरमा पाइपमार्फत नि:शुल्करूपमा स्वच्छ, शुद्ध अनि सुरक्षित पानी आपूर्ति गरिने बताए। जलवायु परिवर्तनका कारण चापाकलहरू सुक्न थालेको गम्भीर समस्यालाई समाधान गर्न एसियन विकास बैंकको सहकार्यमा तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको उनको भनाइ छ।
उनले भने, 'जलवायु परिवर्तनका कारण चापाकलहरू सुक्न थालेको गम्भीर समस्यालाई समाधान गर्न एडीबीको सहकार्यमा तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको छ। चाडै यहाँका नागरिकका घरघरमा पाइपमार्फत स्वच्छ, शुद्ध र सुरक्षित पानी आपूर्ति हुन्छ।'
प्रतिक्रिया दिनुहोस !