हङकङविरुद्धको खेल रद्द, फाइनलमा नेपाल र कुवेत भिड्ने
काठमाडौं : नेपाल हङकङमा जारी चार देशीय टी-२० शृंखलाको फाइनलमा पुगेको छ। घरेलु टोली हङकङसँगको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो।
समूह चरणको अन्तिम खेलमा टस हारेर ब्याटिङ गरेको हङकङले ९ ओभर खेलेपछि वर्षा सुरु भएको थियो। ९ ओभरको समाप्तिमा हङकङले ३ विकेटको क्षतिमा ६८ रन बनाएर खेलिरहेको थियो। हङकङका लागि जीशन अलीले ३० रन, अन्सी राथले १७ रन र निजाकत खानले १३ रन बनाएर आउट भएका थिए।
नेपालका स्पिनर ललित राजबंशीले एकै ओभरमा दुई विकेट लिए भने नन्दन यादवले १ विकेट लिए। नेपालले यसअघि कतार र कुवेतलाई पराजित गरेको थियो।
यसैबीच कतारलाई हराउँदै कुवेत फाइनलमा पुगेको छ। हङकङलाई स्तब्ध बनाएको कुवेतले कतारमाथि ६ विकेटको विजय निकाल्दै फाइनलमा स्थान बनाएको हो। आइतबार नेपाल र कुवेतबीच फाइनल खेल हुनेछ। समूह चरणमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस !