मध्यपुरमा मंगलबार ३२ खट जात्रा मनाइँदै
भक्तपुर : हरेक वर्ष मध्यपुर थिमिमा मनाइने ३२ खट जात्रा मंगलबार मनाइँदैछ। सोमबार पनि मध्यपुर थिमिका प्रमुख तथा भित्री र बाहिरी बस्तीहरूमा खट जात्रा गरिएको छ। प्रत्येक वर्ष चैत मसान्तदेखि वैशाख २ गतेसम्म तीन दिन खट जात्रा हुने गरेको छ। तर, अन्तिम दिन अर्थात् वैशाख २ गतेको जात्रालाई विशेष रूपमा लिने गरिन्छ।
स्थानीय भाषामा यस जात्रालाई खः जात्रा भनिन्छ। मध्यपुर थिमिका अष्टमात्रीका गणका चार प्रमुख देवीहरू कौमारीका रूपमा पुजिने बाल कुमारी, वैष्णवीका रूपमा पुजिने विष्णुविर, चामुण्डाका रूपमा लिइने सिद्धिकाली, गणेशका रूपमा पूजा गरिने सिद्धि गणेश, बाराहीका रूपमा पूजा गरिने दक्षिण बाराही र निल बाराही र महालक्ष्मीका रूपमा मानिने महालक्ष्मी देवीको नेतृत्वमा नगदेश, बोदे, थिमि र टिगनीमा खट जात्रा मनाइन्छ।
जात्राको पहिलो दिन आइतबार श्री तीन विष्णुविरको द्यः ब्वेकेगु जात्रा मनाइएको थियो। साँझ सम्बन्धित गुठीयारको घरबाट श्री विष्णुविरको मूर्तिलाई मन्दिरमा ल्याएर प्रतिस्थापन गरी द्यः ब्वेकेगु जात्रा मनाइएसँगै खट जात्रा सुरु भएको थियो।
भोलि नगदेशमा सिद्धि गणेशको खटलाई भित्र र बाहिरि इलाकामा परिक्रमा गराइ बाजा गाजासहित भव्य जात्रा गरिनेछ। बोदेमा पाचो गणेश मन्दिर प्रांगणमा जिब्रो छेडाइसकेपछि महालक्ष्मीको नेतृत्वमा खट जात्रा हुनेछ। थिमिमा सिद्धिकाली गणका सम्पूर्ण जात्रा थिमिको बालकुमारी टोलमा लगेर विधिपूर्वक सगुन दिने लगायत अन्य विधि पूरा गरी जात्रा मनाइन्छ।
टिगनीमा पनि निल बाराहीलाई खटमा विराजमान गराई भित्र र बाहिरी क्षेत्रमा जात्रा गरिनेछ। चैत मसान्तका दिन खट जात्रा गरिने देवी देवताहरूलाई सम्बन्धित देवघरबाट मन्दिरमा ल्याएर प्रतिस्थापन गरिन्छ।
त्यसको भोलिपल्ट वैशाख १ गते नगदेशमा सिद्धि गणेश, टिगनीमा निल बाराही, बोदेमा महालक्ष्मीको नेतृत्वमा ७, थिमिमा बाल कुमारीको नेतृत्वमा २, एक मन विनायक र नारायण, सिद्धिकालीको नेतृत्वमा ८, दक्षिण बारहीको नेतृत्वमा ३ र विष्णुविरको नेतृत्वमा ६ अन्य देवी देवतको खट जात्रा सुरु हुन्छ।

यसरी थिमिमा नगदेश, बोदे र टिगनीमा वैशाख २ गतेसम्म कूल ३२ देवी देवताको खट जात्रा गर्ने परम्परा रहि आएको छ। तर हाल थिमिमा तीन देवताको खट जात्रा सञ्चालन हुँदैन भने दुईवटा खटको पहिचान हुन सकेको छैन।
पछिल्लो समय सिन्दूर जात्राका रूपमा प्रख्यात ३२ खटको जात्राको इतिहास ६०० वर्ष पुरानो छ। मल्लकालमा बिस्का जात्रा मनाउने क्रममा खट जात्राको सुरुवात गरिएको स्थानीय सांस्कृतिक अध्येता राजेन्द्र श्रेष्ठले बताए।
‘बिस्का जात्राको मौलिक स्वरूप भनेको नै यसि द्यः को जात्रा हो। सुरुवाती दिनमा बिस्का जात्रामा ध्वजा फरफराउने र यसि उठाउने थियो। पछि विभिन्न शासनकालमा उल्लासपूर्वक बिस्का जात्रा गरिएको देखिन्छ,’ स्थानीय सांस्कृतिक अध्येता श्रेष्ठले भने।
अध्येता श्रेष्ठका अनुसार मध्यपुर थिमिको सिन्दूर जात्रा करिब ७०० वर्ष पुरानो हो। जात्राबारे यकिन तथ्य नभेटिए पनि मल्लकालमा नै जात्रा मनाइने गरेको ऐतिहासिक सामग्रीहरू फेला परेका उनले बताए।
उनका अनुसार बालकुमारी देवीको नेतृत्वमा हुने एक देवताको मूर्तिमा ज्योति मल्लको नामसहित नेपाल सम्वत ५४४ साल उल्लेख गरिएको छ। थिमिको बालकुमारी टोलस्थित बालकुमारी मन्दिरभित्रै पनि नेपाल सम्वत ४७४ मा ख (खट): पूजा चलाएको लिखित अभिलेख फेला परेको छ। जसलाई हालको नेपाल संवत ११४६ सँग तुलना गर्ने हो भने ६०० र ७०० वर्षको अन्तराल पाइन्छ।
थिमिमा जात्रामा समावेश भएका २३ वटामध्ये एउटा देवताको खटमा नेपाल सम्वत ५४४ मा ज्योति मल्लको शासन कालमा बनाइएको उल्लेख छ। बालकुमारी मन्दिरमा पनि नेपाल सम्वत ४७४ मा बिस्का जात्रा सम्बन्धित पूजा चलाएको अभिलेख फेला परेको छ।
नगदेश, बोदे, टिगनी र थिमिलाई मध्यपुर थिमि नगरपालिकाका चारवटा मूल बस्तीको रूपमा लिइन्छ। नगदेशमा एक, थिमि क्षेत्रमा १९, बोदेमा ७ र टिगनीमा एक गरी कूल ३२ वटा खट जात्रा गरिन्छ।
प्रतिक्रिया दिनुहोस !