सहन सकिन्न सामाजिक विभेद
महिलामा हुने महिनावारी प्रकृतिको नियमसँगै मानव जन्मको पवित्र प्रक्रिया हो । नेपाली समाजमा महिनावारी (रजस्वला) अझै पनि एउटा सामाजिक कलंकका रूपमा हेर्ने प्रवृत्ति कायमै छ । महिलाहरूको शारीरिक प्राकृतिक प्रक्रिया भएको महिनावारीलाई अपवित्र, अशुभ र हेपिने विषय बनाएर समाजमा यति धेरै विभेद र हिंसा गरिन्छ कि त्यसको असर महिलाहरूको आत्मसम्मान, शिक्षा, रोजगारी र सम्पूर्ण जीवनमा देखिन्छ । हालै अछाम जिल्लामा एक शिक्षिकाले महिनावारीको समयमा पुल पार गर्न नपाएका कारण जागिर छोड्नु परेको खबरले सबैलाई झस्काएको छ । यस्तो अपाच्य व्यवहारले हाम्रो समाजमा रहेको लैंगिक असमानता, अशिक्षित सोचलाई प्रस्ट देखाउँछ । शिक्षिका जस्तो शिक्षित महिलासमेत यस्ता अमानवीय परम्पराका शिकार हुनुपर्छ भने ग्रामीण भेगका अन्य महिलाको अवस्थाको सहजै अनुमान गर्न सकिन्छ ।
सुत्केरीले समेत पुल तर्नु हुँदैन भन्ने डरलाग्दो भ्रम समाजमा छ । यस्ता अन्धविश्वासी परम्पराको निरन्तरताले कैयौं महिलाले अकालमै ज्यान गुमाउनु परेको तथ्य सबैसामु छ । महिनावारीका समयमा महिलालाई घरबाट टाढा छाउगोठमा राख्ने, मन्दिर जान नदिने, स्कुल वा अफिस जानबाट रोक लगाउने, सडक वा पुल पार गर्न नदिने जस्ता कार्य केवल हिंसात्मक व्यवहार मात्र होइनन्, ती संविधानमा लेखिएका समानताको अधिकारको घोर उलंघन पनि हो । यसले महिलाको गरिमा मात्र होइन, देशको नैतिक धरातललाई पनि कमजोर बनाउँछ । सरकारले महिनावारीका समयमा हुने विभेद र छाउपडीजस्ता अमानवीय अभ्यास अन्त्य गर्न अनेक योजना ल्याएको छ । तर नीति बनाउनु मात्रै पर्याप्त हुँदैन । ती नीतिहरू कार्यान्वयनमा आउनुपर्छ । कानुनलाई बलियो बनाएर दोषीलाई सजाय दिने, विद्यालयमा लैंगिक शिक्षा अनिवार्य बनाउने, गाउँगाउँमा सचेतना अभियान चलाउने र महिलाको सहभागिता सुनिश्चित गर्ने कार्यहरू तुरुन्त सुरु गर्नुपर्छ ।
सामाजिक चेतनाको विकास सहरमा मात्रै सीमित रहेर हुँदैन । सुदूर गाउँमा, जहाँ यस्तो विभेद सबैभन्दा धेरै देखिन्छ । त्यहाँ स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, शिक्षक, सामाजिक कार्यकर्ता र धार्मिक अगुवाहरूले मिलेर जनचेतना फैलाउनु अत्यावश्यक छ । तीन तहकै सरकारले यसमा सामूहिकता देखाई काम गर्नुपर्छ । समाज अशिक्षित हुनु भनेको देश सञ्चालकहरूको कमजोरी छ भन्ने नतिजा देखिनु हो । यस्ता घटनाबाट नेतृत्व लजाउनुपर्छ । सामाजिक सुधारमा सशक्त हुने कार्ययोजना तीन तहका सरकारले बनाएर जानुपर्छ । महिनावारी कुनै अपवित्रता होइन, यो जीवन चक्रको अभिन्न अंग हो भन्ने बुझाउनु पर्छ । अब समाजले महिलाको सम्मान, शिक्षा र स्वाभिमानप्रति उत्तरदायी बन्नुपर्छ । अब यस्ता घटना देशले सुन्नु नपरोस्, महिलाले शिक्षाको अवसर गुमाउनु नपरोस् अनि हाम्रो समाज साँच्चिकै सभ्य र समान बनोस् । यसतर्फ सबै तहबाट बेलैमा सोच्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस !