वीरगन्जमा दुई समुदायबीच झडप प्रकरण
पाँचजनाविरुद्ध राज्यविरुद्धको कसूर र आपराधिक उपद्रव मुद्दा दर्ता
वीरगन्ज : वीरगन्जमा गत शनिबार आयोजित हनुमान जन्मोत्सवको शोभायात्राका क्रममा हिंसात्मक गतिविधिमा संलग्न पाँचजनाविरुद्ध राज्यविरुद्धको कसूर र आपराधिक उपद्रव मुद्दा दर्ता भएको छ। शोभायात्राको क्रममा हिंसात्मक गतिविधिमा संलग्न पाँचजनाविरुद्ध राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
उनका अनुसार शेख खुर्सेद, सलाउद्दिन मियाँ ठकुराई,शकिल मियाँ,रवि सर्राफ र बलजित सिंहविरुद्ध राज्यविरुद्धको कसूर र आपराधिक उपद्रवको मुद्दा दर्ता भएको हो। मंगलबार चारजना र बुधबार एकजनालाई पक्राउ गरिएको हो।
शोभायात्रा वीरगन्ज–२ छपकैयामा पुगेपछि दुई फरक धार्मिक समुदायकाबीच झडप हुनुका साथै त्यहाँको पसल,सवारी,साधनलगायतमा तोडफोड र आगजनी भएको थियो । उक्त घटनाको अनुसन्धानमा जुटेको प्रहरीले बुधबारसम्म पाँचजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।
प्रहरीका अनुसार तीनजनाविरुद्ध ‘राज्यविरुद्धको कसुर’ र बाँकी दुईजनाविरुद्ध ‘आपराधिक उपद्रव’सम्बन्धी मुद्दा दर्ता गरिएको हो। पाँचैजनामाथि बुधबार पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको लम्सालले बताए ।
प्रहरीले शनिबार भएको घटनास्थलको सीसीटीभी फुटेज,ड्रोन भीडीयो तथा सामाजिक सञ्जालमा पोस्ट गरिएका भीडीयो सामग्री र प्रमाणका आधारमा अहिलेसम्म पाँचजनालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । उनले भने,‘उक्त घटनासँग जोडिएका प्राप्त प्रमाणका आधारमै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ । उक्त घटनामा थप व्यक्तिहरूको संलग्नता पुष्टि भए उनीहरूलाई पनि पक्राउ गरिनेछ।'
प्रतिक्रिया दिनुहोस !