त्यसैले यो कांग्रेस हो

त्यसैले यो कांग्रेस हो

अब ऊ छैन। कांग्रेसभित्र बदलिएको ‘कायाकैरन’ हेर्ने नियति सायद उसको छँदै थिएन। अथवा भनौं ‘यो बदलिदैन तँ कुरेर नबस...’ भन्ने नियतिको आदेश थियो उसलाई। त्यसैले गयो ऊ। न अब उसले ‘रूपान्तरित’ भएको कांग्रेस हेर्न पाउने छ न त यस्तै बिग्रँदै गएको कांग्रेस भोग्नु पर्नेछ। ऊ कांग्रेसको यौटा जोदाहा र ऊर्जाशील युवा थियो। तर अब कांग्रेस भएर खाइने गालीहरूबाट ऊ मुक्त भएको छ। र, भोलिको तालीको भरोसा त थिएन नै कहिल्यै हुने पनि छैन अब। प्रसंगहरू अलि पुराना छन्। तर प्रश्नहरू ताजा जस्तै लाग्छन्।  बत्तीसपुतलीको एउटा क्याफेमा हामी जुटेका छौं। चिया–कफी त बहानामात्रै थियो। त्योभन्दा धेरै नेपाली कांग्रेसको बदलिएको रूप हेर्ने चाहना हामीमा थियो। त्यस्तै मन मिल्ने र मन माझिएका साथीहरू थियौं। पुराना कांग्रेसीहरूको सानोतिनो एउटा ग्याङ नै थियो त्यो। 

साथीहरू एकआपसमा गफिँदै थियौं। बहस कहिले चर्किन्थे। कहिले कोही शान्त हुन्थे। कहिले कोही फेरि कांग्रेसी भावनाले ओतप्रोत हुन्थे र क्षणमै पार्टीको भविष्यलाई लिएर फेरि चिन्तित हुन्थे। चिन्ता, चिन्तन र मनन्ले हलको भावावशेष अदलबदल भइरहन्थ्यो। त्यत्तिकैमा एकजना साथी बाहिरबाट छिरेर एउटा ‘चिर्कटो’ टेबुलमा पछार्दै भन्यो ‘ल दाइ अब भन्नुस्, यो पाराले कांग्रेस रूपान्तर हुन्छ...?’ सायद त्यसको जवाफ हामी कसैसँग पनि थिएन। केहीबेरको कोलाहल एकछिनको मौनतामा बदलियो। माहोल अलि फरक भयो। त्यो बेला नेपाली कांग्रेसका धेरै घागडान नेताहरूलाई अनियमितताका आरोपहरू लागिरहेका थिए। एकपछि अर्को गर्दै नेताहरूका नाम मुछेर दिनहुँजसो वा भनौं आजभोलिका अनलाइनहरूमा क्षणक्षणमा जस्तो समाचारहरू आइरहन्थे। सामाजिक सञ्जालहरू कांग्रेस र कांग्रेसीहरूलाई गाली गरेरै भरिएका हुन्थे। नियत वा नियति नेपाली कांग्रेसका नेताहरूलाई यस्ता आरोपहरूले सधैंभरि घेरिरहेका हुन्छन्। कोही कोही कारबाहीमा परिसकेका छन्। कोही त्यसका घेरासम्मै छन्। 

देश, समाज अनि विश्व जहाँ जे भए पनि गाली खाने त पहिला कांग्रेस नै हुन्छ। अनि हाम्रा नेपाली कांग्रेसका नेताहरू हुन्छन्। अनि सँगसँगै हामी कांग्रेसी हुन्छौं। किनकि नेपाली कांग्रेस देशको जति पुरानो राजनीतिक पार्टी हो त्यत्तिकै जिम्मेवार पनि हो। राम्रा कुराको होस् या नराम्रा। नेपाली कांग्रेस जति ऐतिहासिक राजनीतिक दल हो त्यत्तिकै अभिभारा बोकेको पार्टी पनि हो। संसदीय अंकगणितमा नेपाली कांग्रेस जति ठूलो पार्टी हो उत्तिकै उत्तरदायी पार्टी हो। नेपाली कांग्रेसले जति गाली खान्छ त्यत्तिकै ताली पनि खाएकै हो। जति आलोचना आजका दिनमा हुने गरेका छन्। त्यत्तिकै प्रशंसाहरू पनि पाएकै हो। त्यसैले नेपाली कांग्रेससँग जति पनि जिम्मेवारीहरू छन्, जति पनि दायित्वहरू छन् ती सब हामीले इतिहासबाटै बोकी ल्याएका हौं। यो राष्ट्रको राष्ट्रियता, यो राष्ट्रको सार्वभौमिकता अनि यो राष्ट्रका नागरिकका नागरिक अधिकार र लोकतन्त्र हाम्रो मूलमन्त्र हो। आज हामीमाथि बर्षिने यी गालीहरू त्यही दायित्वबोध गराउने नागरिक खबरदारी पनि हुन्। तर हाम्रा नेता अनि हाम्रो नेतृत्वले बुझे पो !

आज समय धेरै अघि बढिसकेको छ। इतिहासको एउटा बेगले हामीलाई धेरै परपरसम्म पुर्‍याइसकेको छ। परिवर्तनका धेरै आयामहरूबाट हामी धेरै लामो यात्रामा निस्किसकेका छौं। अब हामी पछाडि फर्किनु भनेको त्यो छोडिआएको त्यो विन्दुलाई हामीले भेटाउनेछौं न अघिको गन्तव्यमा पुग्न सक्नेछौं। यो युग, युगान्तर अनि समाजको गतिशीलता र बदलिएको राजनीतिलाई आत्मसात् गर्दै यथार्थमा नेपाली कांग्रेस पनि संवैधानिक राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भइसकेको छ। तथापि अब जरुरी यो छ कि साँच्चिकै रूपान्तरण त कांग्रेसभित्र होइन, खासमा हुनुपर्ने कांग्रेसीमा हो। बजारमा सुनिन्छ कि कांग्रेसीको शासकीय शैली वा क्षमता र नेताको नियतमामा प्रश्न छ र सुधार त्यही गर्नुपर्छ, मुद्दा यो हो। राज्य वा पार्टी सञ्चालनको जिम्मेवारी पाएका कांग्रेसीहरूले सधैं राजकीय सत्ता र पार्टी कब्जा गर्ने नियत मात्र राखे। देश र जनताको हित वा पार्टीको भलो गर्नै चाहेनन्। सकेनन्, जानेनन् जे भनौं, कुरो उही हो। त्यसैले कांग्रेसप्रति जनताको मात्र हैन यसका कार्यकर्ता, समर्थक अनि आम नागरिकको भरोसा टुट्दै गएको हो। यसका नेताले नैतिकता गुमाइरहेका छन्। पार्टीभित्र भ्रष्ट र ठगहरूको बिगबिगी भएको छ। पार्टी नेतृत्वमा एउटा हुन्छ नीति वा निर्णयहरूमा अर्को कुनै तŒव हाबी हुन्छ। जनताका समस्या ओझेलमा परिरहेका छन्। पार्टी नेतृत्व बिचौलियाका नीति र निर्णयहरूका पछि लागिरहेका हुन्छन्। यसले सिद्धान्त र आदर्श बिस्र्यो सायद। जुन समाजवाद अनि लोकतन्त्रको आदर्श र गर्भसिद्धान्त कांग्रेसले धारण गरेको थियो त्यो सायद अब मर्दै गएको छ। नेतृत्वले मारिरहेको छ, नागरिकका आशा र भरोसाहरूसँगसँगै।  

सुन्नमा आउने यी कुरामा सत्यता छैन भन्न सकिन्न। हरेक सत्य आफंैमा कठोर अनि निर्मम हुन्छ। तर सफल अनि सच्चा राजनेता त्यही हुन्छ जसले त्यो कठोरता अनि निर्मतालाई आत्मसात् गर्दै सच्चिने बाटो रोज्छ न कि आफैं सकिने। अहिले हाम्रो नेतृत्वमा देखिएको यथार्थता यही हो। के हामी सक्किने बाटो रोजिरहेका छौं वा सच्चिन हामीलाई कठिन भइरहेको छ ? यही कठिन बाटो र चुनौतीका पहाडहरू नाघेरै राजनेता भइन्छ। नत्र एउटा मेटिएको इतिहासमा मात्रै हामी कलुषितबाहेक अर्थोक केही रहन अनि भइरहन सक्दैनौं।  यो उति बेलाकै कुरा हो, कांग्रेसको कार्यसमितिको बैठकको केही दिन अघि त्यस्तै भेलाहरूको सारपत्र अर्थात् रूपान्तरण ढाँचा सभापतिलाई बुझाइयो। त्यो लिखत कांग्रेस कार्यालयको कतै कुनामा थन्किएको छ सायद। ढुसी लाग्यो कि ! सायद धमिरा पस्यो कि !

पार्टी नेतृत्वलाई राम्ररी थाहा छ कि, पार्टीभित्र सबैभन्दा चुलिएको संकट नेपाली कांग्रेसको रूपान्तरण हो। अर्थात् रूपान्तरित नेपाली कांग्रेस हो। यो र यस्तै समस्या हामी कांग्रेसभित्र बग्रेल्ती छन्। अब समाधान पनि हामी आफैंले खोज्नुपर्छ। त्यो भनेको क्षमतावान् नेतृत्वको असली गुण हो। हर समस्याको समाधान घृणा, द्वेष र दण्डमा हैन, स्वीकार्यता र संकल्पमा पनि हुन्छ। मानौं या नमानौं, धमिरा त प्रकृतिकै यौटा अंशमात्रै हो। यसको वंश मासिएको छैन। भविष्यमा पनि मासिन्न। आहार उसको अधिकार हो। बस् हामी नगलौं। धमिराकै गोलाबाट रामायण लेख्न बाल्मीकिहरूको पुनरोदय हुन्छ। हामीभित्रको रत्नाकरलाई निष्ठाको तपले मार्छ।  

कांग्रेसको पार्टीमित्र जिम्मेवार पदमा पुगेकाहरूले आफ्नो आफ्नो जिम्मेवारी र दायित्व इमान्दारिताका साथ पूरा गर्नुपर्छ। ठूलो काम यहाँ केही गर्नै छैन। मात्रै त्यत्ति गरे त्यो सबैभन्दा ठूलो काम हुन्छ। पार्टी विधान, त्यसका अंशहरूमा दसौं लाख कांग्रेसी खुन बगेको छ। पसिना बगेको छ। आस्था अनि भरोसाका अक्षरहरू हुन् ती न कि कार्यकर्तालाई ‘रैती’ बनाउने तमसुक होइनन् ती। भाषणले पार्टी बन्दैन। पार्टी कार्यालय जागिरे मुख्यसचिव चलाउँछन् कि महामन्त्रीले ? प्रश्न सभापति देउवालाई मात्रै होइन, पार्टीको सिंगो भविष्य बोकिराखेका महामन्त्रीका जोडी काँधहरूलाई पनि हो। नागरिकका असन्तुष्टि अनि असन्तोषहरू सडक ढाकिरहेका छन्। सरकारप्रति कसैको भरोसा छैन। नेताप्रति कसैको केही आस बाँकी रहेन। नेतृत्वमाथि कसैको भरोसा नै छैन। त्यसैमाथि नेपाली कांग्रेस पनि नेतृत्व आफैंले सिर्जना गरेको आफ्नै भारले थिचिइरहेको छ। अर्थात् विधानतः सरासर लेखिएका काम गर्नुपर्ने र तोकिएका जिम्मेवारीमा रहनुपर्नेहरूले नै त्यो भार र भारी बनाइरहेका छन्। अब हुँदाहुँदा महाधिवेशन नै सार्ने चलखेलहरूले पार्टीभित्र अर्को तरंग पैदा गरिरहेको छ। कांग्रेसको महाधिवेशन विधानतः २०८२ मंसिरभित्र हुनैपर्छ। अब दिनगन्ती सुरु भइसकेका छन्। 

एकाध दिन वा एकाध महिनापछि देशको राजनीतिक स्थिति कस्तो रहन्छ ? त्यो अनुमान गर्नै कठिन छ। तर समग्र देशको अवस्था भने अहिले कांग्रेसका आन्तरिक कर्मका लागि बाधक छैन। अहिले नै ८२ भित्रै महाधिवेशन गर्न सकिन्न कि भन्ने भाष्यहरू निर्माण गर्न थालिएका छन्। यो कसले अनि किन गरिरहेको छ ? महाधिवेशनका लागि सारा तयारी सक्नुपर्ने महामन्त्रीहरूले नै ८३–८४का कुराहरू ल्याइरहेका छन्। यी साधारण अनि असाधारण अवस्थाका बारेमा हाम्रा आस्थाका लाखौं धरोहरहरूलाई किन केही कुरा भनिएको छैन ? किन यथार्थताहरूबाट टाढा लगिँदैछ ? यसको जवाफ त आगामी अधिवेशनमा पक्कै यी लाखौं कार्यकर्ताको मतले निर्णायक बनाउने नै छ। जिम्मेवारी पाएका अनि जिम्मेवारी लिएकाहरूले त्यसलाई इमान्दारिताका साथ पूरा गरौं। यहाँ कसैले पहाडै बोकेर ल्याऊ भनिरहेको छैन। कसैले आकाशको तारै झारिदिनू भनेको छैन। कार्यकर्ताले ठूला कुरा केही मागेकै छैनन्, जनताका कुनै ठूला गुनासा वा समस्याका पहाडहरू छैनन्। मात्रै हामीले हाम्रो कार्यशैली, हाम्रो दायित्वलाई आत्मबोध गरेमात्रै पुग्छ। त्यहीअनुसार काम गरेमात्रै पुग्छ। कार्यकर्ताले दिएको जिम्मेवारी पार्टीभित्रै रहेर पूरा गरौं, मतदाताले आफ्नो मतमार्फत दिएको आशा र भरोसाहरूलाई त्यहीअनुसार पूरा गरौं। त्यसका लागि केही चाहिन्न, मात्रै इच्छाशक्ति भएपुग्छ। दसौं लाख कार्यकर्ताले चाहेको, बदलिएको अनि रूपान्तरित नेपाली कांग्रेसको रूप भनेको त्यही नै हो। त्यसका लागि रंग लेपनको केही जरुरत छैन। यतिमात्रै हामीभित्रको रत्नाकर त्यसै मर्छ। साँचो कांग्रेस बाँचिरहन्छ। अनि कांग्रेसका ‘रामायण’ पनि त्यहीँबाटै लेखिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.