कारागार नबनुन्, विद्यालयहरू
स्कुल सिक्ने ठाउँ अनि कारागार सजाय कटाउने स्थान। सामान्य बुझाइ यही हो। हुन त आजकाल कारागारलाई पनि सुधारगृहका रूपमा हेरिनुपर्छ भन्ने मत विश्वव्यापी छ। सजायका सकारात्मक आयामहरूका बारेमा छुट्टै सिद्घान्तहरू प्रतिपादित छन्। अझ कारागार अथवा हिरासतमा रहनुपर्ने व्यक्तिहरूले अस्पताल प्रयोग गर्ने फेसन त राम्रै चलेको छ। जेलमा पनि उच्च सुविधा माग गरिएका समाचारहरू आइरहन्छन्। सार्वजनिक ठाउँमा भिख माग्ने व्यक्तिहरूको समेत संगठन रहेको अनि भिख बापत लिने रकमको पनि निश्चित दर तय गरेको समाचार पनि सुन्नमा आउँछन्। यस्ता गतिविधिले कतिपय अवस्थामा फरक ठाउँमा हुनुपर्ने विविधता बीचको दूरी घटाइरहेको छ।
दार्शनिकहरू यसलाई ‘ब्लरिङ द बाइनरी’को संज्ञा दिन्छन्। तर विरोधाभासको परिधिलाई जतिसुकै घटाए पनि चियामा सुकुटी चोपेर खाइहाल्ने अवस्था भने आउँदैन होला। त्यसैले कारगार र विद्यालयबीचमा विरोधाभास नै बढिरहन्छ। सरकारी तथा सामुदायिक विद्यालयका आमशिक्षकहरू अहिले आन्दोलनमा रहनुभएको छ। अर्कोतिर विद्यार्थीहरू भने अबको केही दिनमै नयाँ शैक्षिक सत्र सुरु गर्दै नयाँ कक्षामा उक्लँदै छन्। पछिल्लो तथ्यांकअनुसार अहिले लगभग ७५ लाख विद्यार्थी विद्यालय तहमा अध्ययनरत देखिन्छ। झन्डै ६० प्रतिशत सरकारी विद्यालयमा छन् भने बाँकी विभिन्न निजी विद्यालयहरूमा पढ्छन्। तर, सहरी क्षेत्रमा ८० प्रतिशत निजी विद्यालयमा अध्ययन गर्छन्। ती अभिभावकका लागि नयाँ कक्षा पढाउन विद्यालय छनोट पनि एउटा महत्वपूर्ण निर्णय हो।
अधिकांश अभिभावक बसाइसराइ अथवा आफ्ना अन्य सहजता र छोराछोरीको रूची अनुसार विद्यालय परिवर्तन गरिरहेका हुन्छन्। विद्यार्थी तथा अभिभावकलाई आकर्षण गर्न अधिकांश विद्यालयले आकर्षक ब्यानर, भड्किला विज्ञापन, अधिक सूचनाको बहाव नै निर्माण गर्छन्। ठूलो भवन, उच्च शुल्क र धेरै विद्यार्थी भएका अनि नाम चलेका विद्यालय नै राम्रा हुन्छन् भन्ने भ्रम स्थापित हँुदैछ। कक्षामा जति सानो समूह भयो, त्यति नै बालबालिकाले पाउने समय र एटेन्सन अधिक हुन्छ। उनीहरूको सिकाइ सहजीकरण अझ प्रभावकारी हुनसक्छ। विद्यालय शिक्षा आधार र सूक्ष्म पद्घति हो, विश्वविद्यालय शिक्षाचाहिँ विशिष्टीकृत र सामूहिक हो। शिशु कक्षादेखि नै अनावश्यक अंग्रेजी मोहको बोझ बोकाएर बालबालिकाको सिकाइको प्रारम्भिक आधार र स्वाभाविक क्षमता विध्वंश गर्ने विद्यालयहरू बढ्दैछन्।
कुनै एक स्तरमा पुगेपछि भाषा सिक्नु सही हो। तर हाम्रो समाज, परिवेश र संस्कृतिलाई आफ्नै भाषामा राम्ररी बुझ्न सकिन्छ। केही व्यक्ति एउटा भाषामा पोख्त भएमा अलिकति अतिरिक्त मेहनत गर्दा सहजै अन्य भाषामा पनि समान क्षमता विकास हुन्छ। भाषा केवल माध्यम हो तर सोच, भावना र निष्कर्षचाहिँ क्षमता हो। अंग्रेजी सिकाउने नाममा बालबालिकाको सोच्ने शक्ति, विश्लेषणात्मक क्षमता नै बन्धक हुने गरी शब्दमोहलाई प्राथमिकता दिने विद्यालयले विद्यार्थीलाई गलत बाटोमा लगाइरहेछन्। अंग्रेजी बोल्ने मेसिन उत्पादन गर्ने विद्यालय बढिरहेका छन्। अपनत्व, आत्मीयता, नेपालीपन, सामाजिकता तथा स्वतःस्फूर्त विचार उत्पादनलाई तिलाञ्जलि दिने विद्यालय विद्यार्थीमैत्री हँुदैनन्।
पहिले सहज हुने भाषामा सिक्न लगाउने अनि अरू भाषामा पनि व्यक्त गर्न सहजीकरण गर्नुचाहिँ शिक्षाको आधुनिक सिद्घान्त हो। भाषाको सवालमा समानान्तर सिकाइलाई जोड नदिने विद्यालय विद्यार्थीका लागि कारागार बनिरहेका हुन्छन्। अधिकांश विद्यालयले विद्यार्थीलाई अनावश्यक किताब र अव्यावहारिक व्यस्तताको बोझ बोकाएका छन्। विद्यार्थी र झोलाको तौल लगभग बराबरी नै होला जस्तो देखिन्छ। बाल सुलभ मनोविज्ञान, मानिसको सिक्न सक्ने क्षमताको प्राकृतिक नियममाथि उपहास भइरहेको छ। विद्यार्थीलाई गृहकार्यको नाममा स्वाभाविक रूपमा मानवीय स्वास्थ्यले माग गरे जति पनि सुत्न नदिनेगरी बोझ दिने विद्यालयले उनीहरूमा सिकाइ र पढाइप्रति नकारात्मक धारणा जन्माउँदैछ। उनीहरू स्कुललाई सिक्ने ठाउँ नभएर सजाय दिने ठाउँको रूपमा बुझ्छन्।
अधिकांशको भनाइ हुन्छ, भोलि होमवर्क गरेन भने त हिर्काउँछन्। गृहकार्य विद्यार्थीले जानीबुझी गर्न सक्नेमात्र नभएर अभिभावक समेतलाई व्यस्त राख्नेगरिको छ। सात÷आठ कक्षामा अध्ययन गर्ने केही विद्यार्थीका अभिभावकको सर्वेक्षणमा त नानीबाबुलाई खाना आफूले खुवाइदिएको र खाना खाँदै उनीहरूचाहिँ गहृकार्य सक्न नै लागिरहेको समेत भनिएको छ। अधिकांश विद्यालयको सिकाइ गतिविधि यस्तो छ कि न त त्यो बोझ विद्यार्थीको उमेर र शारीरिक क्षमताले धान्न सक्छ, न त उसले त्यसको महत्व अनि भविष्यमा त्यसबाट पाउने उपलब्धि आभास गर्न सक्छ। घरमा अभिभावकसँग बसेर छलफल गर्ने, सिकेका कुरा सेयर गर्ने, रिफ्रेस हुने, घरायसी काममा अभिभावकलाई सघाउने, विश्लेषणात्मक तर्क गर्ने कुरामा अभिप्रेरित गर्ने विद्यालयले मात्र विद्यार्थीको खास विकासमा योगदान गर्छन्। खेल्न, उफ्रिन, सहपाठी तथा साथीसंगीसँग भलाकुसारी गर्न र समाजमा घुलमिल हुन पाउने सयमले उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक र दीर्घकालीन परिपक्वता प्रदान गर्छ। यसलाई ध्यान दिएका विद्यालयहरू अभिभावकको रोजाइमा पर्नुपर्छ।
समाजका सम्भ्रान्त र उच्च वर्गका लागि पैसाको खोलो बगाउने र उच्च शुल्क लिने विद्यालयमा बालबालिका भर्ना गर्नुमा हैसियतको मापन पनि होला। त्यसको उछितो काढ्नु आवश्यक छैन, उनीहरूलाई पनि आफूसँग भएको अधिक पैसा खर्च गर्ने बहाना मिलोस्। तर विलासीभन्दा व्यावहारिक विद्यालयका शिक्षा बढी प्रभावकारी हुने तथ्यांक विभिन्न अनुसन्धानबाट स्थापित भएका छन्। प्राप्तांकभन्दा आचरणगत परिपक्वता अभिभावकको रोजाइ हुनुपर्छ। मल्टिटास्किङको नाममा बोझ बोकाउने विद्यालयप्रति अभिभावकको आकर्षण हट्नुपर्छ। एउटा बालबालिकाले दैनिक विद्यालयमा सरदर ८ घण्टा बिताएपछि फेरि उसलाई संगीत, नृत्य, कराते, पौडी, घोडचढी, धनुषवाण लगायत अनेकन खालका सीप विकासमा पनि एकैचोटी संलग्न गराइएको देखिन्छ।
बालबालिकाको क्षमता, रुचि र आवश्यकता पहिचान नै नभै केवल देखासिखीका लागि उनीहरूलाई हरेक क्षेत्रमा सहभागी गराउनु अभिभावकको असावधानी हो। विद्यार्थीले विद्यालय जान÷आउन बसमा नै घन्टौं यात्रा गर्नुपरेको हुन्छ। त्यसबाट थकित भएपछि सिकाइमा अरुची हुनेमात्र हैन, स्वाभाविक अन्य तालिका समेत बिग्रन्छ।
पहिलेका विद्यार्थीहरू आधार कक्षाहरूमा कमजोर अथवा सामान्य भए पनि बिस्तारै अनुभव र स्वःसिकाइले खारिँदै जान्थे। जुन बेलाको शिक्षाले उनीहरूको पेशागत जीवन निर्धारण गथ्र्यो, त्यहाँ पुग्दा अब्बल बन्थे। त्यसमा मेहनत गर्दाको सुखद् परिणामको आकलन गर्न सक्थे। त्यो शिक्षाप्रति रुचि जाग्थ्यो, मेहनत गर्थे र सफल हुन्थे। अहिलेका अधिंकाश बालबालिकालाई विद्यालय स्तरमा नै यति बोझ बोकाइएको छ कि विश्वविद्यालय स्तरमा पुग्दा उसलाई पढ्ने लेख्ने कुरामा वितृष्णा र विरक्तको भाव उत्पन्न भइसकेको हुन्छ। जुन तहको शिक्षाले उसको पेसागत जीवन निर्धारण गर्ने हो, त्यहाँ पुग्दा उसलाई अध्ययनमा खासै रुचि नै रहँदैन।
खासमा, जुन तहको शिक्षाले पेशागत जीवन निर्धारण नगरी सामान्य सिकाइलाई सहजीकरण गर्नुपथ्र्यो, त्यहाँ भोगेको व्यस्तता र आभास भएको अति बोझले उनीहरूमा अब बाँकी अध्ययनमा खासै आकर्षण रहँदैन। त्यही भएर अहिलेका अधिकांश विद्यार्थी विद्यालय स्तरमा एकदमै राम्रा देखिए पनि उच्च शिक्षामा गएर कमजोर बन्दै जाने र पेसागत चरणमा सामान्यतर्पm झर्ने तथ्यांक बढ्दो छ। विश्वभर सर्वोत्कृष्ट विद्यालय शिक्षा मानिएका देशमा विद्यालय शिक्षा सजिलो र स्वाभाविक सिकाइको बाहुल्य भएको छ।
कठिन परिश्रमचाहिँ विद्यालय शिक्षा पार गरेपछि गर्नुपर्छ। विद्यालयमा चाहिँ स्वाभाविक तथा सिकाइको प्राकृतिक नियम अनुसार सिक्न दिनुपर्छ। ढुंगामाटोकोे घर हेर्दा चिटिक्क नदेखिएला तर दिगो हुन्छ र स्वस्थ्य पनि। अनि सिसाको महल हेर्दा भव्य लाग्छ तर त्यो क्षणभंगुर मात्र हुन्छ। आधुनिक तथा गुणस्तरीय शिक्षाको नाममा देखावटी हाइफाइले हामीलाई यही दुःखान्त बाटोतिर डोहो¥याइरहेको छ।
आदरणीय अभिभावकज्यूहरू,
सोच्नुहोस् त तपाईं-हाम्रा नानीबाबुहरू विद्यालय गइरहेका छन् कि शैक्षिक कारागारतिर ?
प्रतिक्रिया दिनुहोस !