ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरले गरे अरुण तेस्रो आयोजनाको अवलोकन

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरले गरे अरुण तेस्रो आयोजनाको अवलोकन
सुन्नुहोस्

काठमाडौं : ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणमा नेपाल आएका भारतका विद्युत,आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन्।

दुबै मन्त्रीले आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत निरीक्षण गर्दै निर्माणको प्रगतिबारे ठेकेदार कम्पनीसँग जानकारी लिएका थिए। सो अवसरमा आयोजना अन्तर्गतको युनिट–२को संयुक्त रुपमा उद्घाटन गर्नुका साथै पावर हाउस नजिक वृक्षरोपण पनि गरेका थिए ।

उर्जामन्त्री खड्काले नेपालका लागि अरुण तेस्रो आयोजना विशेष प्राथमिकतामा रहेको भन्दै निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए। उनले भने, 'सरकारले आयोजनामा कुनै किसिमको कमी हुन दिने छैन,समयमै सम्पन्न गर्न लाग्नुहोस्।'

भारतीय मन्त्री खट्टरले नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको भन्दै दुबै देशले यस क्षेत्रबाट प्रत्यक्ष लाभ लिन सक्ने बताए। 'अरुण तेस्रो समयमै सम्पन्न गर्न सके, यसले द्विपक्षीय ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउनेछ,'उनले भने।

अरुण नदीमा निर्माणाधीन ९०० मेगावाट क्षमताको यो आयोजना मकालु र चिचिला गाउँपालिकाको सीमामा पर्दछ। आयोजनाको शिलान्यास वि.सं. २०७५ वैशाखमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गरेका थिए। एक खर्ब चार अर्ब लागतको आयोजना भारतीय सरकारी कम्पनी सतलज हाईड्रोपावरले निर्माण गरिरहेको हो। निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

मन्त्री खट्टर भ्रमणका क्रममा आज साँझ काठमाडौँमा लम्की–बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौता कार्यक्रममा समेत सहभागी हुनेछन्। नेपाल–भारत संयुक्त लगानीमा निर्माण हुने यी प्रसारण संरचनाले दुवै देशको ऊर्जा व्यापारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

भोली बुधबार भारतीय मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथ मन्दिर र पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री तथा अन्य उच्च अधिकारीहरूसँग शिष्टाचार भेटघाट गर्नेछन्। भ्रमणपछि उनी बुधबार साँझ स्वदेश फर्किने कार्यक्रम छ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत ऊर्जा सचिव सुरेश आचार्यले गरेका थिए। त्यसलगत्तै ऊर्जामन्त्री खड्काले त्रिभुवन विमानस्थलस्थित नेपाली सेनाको विशिष्ट कक्षमा स्वागत गर्दै संखुवासभा प्रस्थान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.