गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको सीईओको जिम्मेवारी
काठमाडौं: नव नियु्क्त एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले कार्यभार सम्हालेका छन्। उनले बुधबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।
तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध छन्।
बैंकको विभिन्न विभाग तथा शाखाहरू समेतको नेतृत्व गरेको अनुभव लिएका घिमिरे यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत हुन्। उनले बैंकको सेवा विस्तार र सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
उनको योगदानहरू बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा विशेष रूपले महत्वपूर्ण रहँदै आएका छन् ।
उनले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाउँदै आएका छन् । उनको बैंकिङ अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ ।
घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैंक संचालक समिति तथा व्यवस्थापन समक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि देहाय बमोजिमको धारणा व्यक्त गरेका थिए।
उनले भने,'मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ,जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं ।'
बैंकका हालका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाले छन् । स्वदेशी तथा विदेशी बैंकहरूको अनु्भव हाँसिल गरेका उपाध्याय अन्तर्राष्ट्रिय व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्धका साथै बैंकिङ्ग व्यवसायमा गहिरो ज्ञान भएका बैंकर मानिन्छ ।
प्रतिक्रिया दिनुहोस !