देउता चढेको भन्दै बुढीगंगामा हाम फालेकी युवती बचाउन गएका युवाको डुबेर मृत्यु
बाजुरा : देउता चढेको भन्दै बुढीगंगा नदीमा हाम फालेर एकजनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका-५ डोगडीका २६ वर्षीय गणेश नेपालीको बुढीगंगामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले जानकारी दिएका छन् ।
त्रिवेणी नगरपालिका-८ मा रहेको धार्मिक स्थल त्रिवेणीधाममा उनीहरू पितृ कार्य गरिरहेकै समयमा देउता आएको भन्दै ३२ वर्षीया अञ्जली नेपालीले नदीमा हाम फाले पछि उनलाई बचाउन गएका नेपालीको नदीमा डुबेर मृत्यु भएको हो ।
पितृ कार्यपछि नदीबाट पुतली ल्याउनुपर्ने जनविश्वास रहँदै आएको छ । देवता आएपछि अञ्जलीले नदीमा हाम फालेको बुझिएको छ । अञ्जलीसहित दुई महिला गम्भीर छन् । उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।
मृतक गणेशलाई अछामको बयालपाटा अस्पतालले मृत घोषणा गरेको हो । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जनाएको छ । बाजुरामा देवी देवता र पितृका नामको अन्धविश्वासका कारण यसअघि दुईजना देवताका धामी कर्णाली नदीमा बेपत्ता भएका थिए ।
प्रतिक्रिया दिनुहोस !