बारपाक पुगेर प्रचण्डले सम्झिए ०७२ साल, भने- भूकम्पको बलले संविधान जारी भयो

बारपाक पुगेर प्रचण्डले सम्झिए ०७२ साल, भने- भूकम्पको बलले संविधान जारी भयो
तस्बिर : प्रतिक्षा आले
सुन्नुहोस्

गोरखा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०७२ सालको विनाशकारी भूकम्पको शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको बताएका छन्। गोरखा भूकम्पको १० वर्ष पूरा भएको दिन पारेर शुक्रबार केन्द्रविन्दु बारपाकमा आयोजित समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। 

‘दोस्रो पटक संविधान सभाको चुनाव भएर पनि दुई वर्ष बितिसकेको थियो तर, संविधान बन्ने छाँटकाँट थिएन। चार दल चारतिर फर्किँदा संविधान घोषणा गर्ने निष्कर्षमा पुग्न सकेका थिएनौं’, उनले भने, ‘त्यही बेला बारपाक केन्द्रविन्दु भएर विनाशकारी भूकम्प गयो। देशको सम्पूर्ण चिन्तन, चिन्ता, मनोभावना, मनोविज्ञान अर्को ठाउँमा पुग्यो। राजनीतिक दलका नेताले पनि नयाँ परिस्थितिको बारेमा सोच्नुपर्ने अवस्था सिर्जना भयो।’

आफूलाई प्रतिपक्षी दलका नेताको हैसियतले सरकारका विरुद्ध आलोचनामात्र गर्ने सुविधा हुँदाहुँदै जिम्मेवार नेताका हैसियतले राष्ट्रिय संकटका घडीमा एकजुट भएर अघि बढ्ने वातावरण बनाएको उनले स्मरण गरे। ‘त्यतिबेला म प्रतिपक्षी दलको नेता थिए। सरकारले गरेको राहत, उद्धार, पुनर्निर्माण, पुनःस्थापनाका बारेमा आलोचनामात्र गरे पनि हुने सुविधा मसँग राजनीतिक रुपले थियो तर, मैले त्यसो गरिन’, उनले भने, ‘अब हामी प्रतिपक्षी दलको नेताको भूमिकाले मात्र हामीलाई हुँदैन। राष्ट्रिय संकटको घडीमा सरकारसंग हात मिलाउनुपर्छ र यो विनाशकारी भूकम्पबाट क्षत विक्षत भएका गाउँ र गाउँलेहरूको पीडामा मल्हम पट्टी लगाउनुपर्छ भन्ने निष्कर्ष निकाल्यौं।’

संकटका बेला पक्ष र प्रतिपक्ष नहुने भन्दै आफूले नै संसदमा बोल्दै राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने प्रस्ताव राखेको उनले स्मरण गरे। ‘म नै सायद त्यस्तो प्रतिपक्षी दलको पहिलो नेता हुँला जसले संसदमा उभिएर यो बेला सत्तापक्ष र प्रतिपक्ष भनेर अल्मलिँदा जनताप्रति योभन्दा ठूलो अपमान र योभन्दा ठूलो दुर्भाग्य अरु केही हुनेछैन। जनताको घाउमा मल्हम पट्टी लगाउने काममा हामी संगसंगै हिँड्नुपर्छ भनेर प्रस्ताव गरेँ।’ प्रतिपक्षी दलका नेता र प्रधानमन्त्री सँगसँगै भूकम्पबाट भएको क्षति, राहत र उद्धारको काम अवलोकन गर्न धेरै ठाउँमा हिंडेको उनले स्मरण गरे।

भूकम्पबाट भएको क्षतिले उब्जाएको शोकले राजनीतिक दललाई नयाँ अवस्थातिर डोर्‍याएको उनले बताए। ‘अब हामी धेरै झगडा गरेर बस्नु हुँदैन। भूकम्पले सिर्जना गरेको शोकलाई शक्तिमा बदलेर संविधान घोषणा गरेरै छाड्नुपर्छ भन्ने दिशातिर हामीलाई डोर्‍यायो। सहमति र सहकार्यको आधारमा नेपाली जनताको आवश्यकता र चाहना अनुसारको संविधान बनाएरै छाड्नुपर्छ भन्नेमा हामी केन्द्रित भयौं’, उनले भने, ‘त्यसपछि चार दलबीच १६ बुँदे सहमति गर्ने प्रस्तावमा पनि म थिएँ। भूकम्प एक नकारात्मक शक्ति हो, तर त्यही शक्तिले देशलाई संघीय गणतान्त्रिक नेपालको संविधान जन्माउन सफल भयो।’ दशौं भूकम्प स्मृति दिवसको अवसरमा बारपाकमा आएर यति खुलासा गर्नु सान्दर्भिक भएको उनले बताए। 

अहिले प्रतिक्रियावादी शक्तिहरू सल्बलाइरहेकाले त्यसबाट सचेत रहन उनले आह्वान गरे। अहिलेको शासन व्यवस्थाले केही गर्न सकेन भनेर संघीय लोकतान्त्रिक शासन व्यवस्थाप्रति वितृष्णा जगाउने काम भइरहेकाले यसको प्रतिवाद गर्न उनले आग्रह गरे। ‘तानाशाही शासनबाट लुट मच्चाउन पल्केकाहरूले गणतन्त्रले केही पनि गरेन भनेर संघीयतामाथि, समावेशितामाथि दूस्प्रचार गरिरहेका छन्’, उनले भने, ‘यस विषयमा गम्भीर ढंगले समीक्षा गरी इतिहासलाई पछाडि फर्काउन चाहने तानाशाही प्रवृत्तिमाथि, परास्त गर्नुपर्ने आवश्यकता छ। यो मञ्चबाट म यो अपील गर्न चाहन्छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.